अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले एक सूचना निकाल्दै राति ९ बजेसम्म मात्रै देउसी-भैलो खेल्न दिने भएको छ ।
रातको समयमा झैँ झगडा र हुलदङ्गा हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले देउसी-भैलोका लागि निश्चित समय निर्धारण गरेको हो ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले दीपावलीको अवसरमा मैनबत्तीलगायतका दीप प्रज्वलनका कार्य गर्दा सावधानी अपनाउन पनि अनुरोध गरेको छ। भुइचम्पा, पटाका, अतिशबाजी जस्ता प्रज्वलनशील तथा विस्फोटक पदार्थको ओसारपसार बिक्री वितरण र प्रयोग नगर्न तथा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने अस्वभाविक मूल्यवृद्धि जस्ता कार्य नगर्न भनी सूचना निकालेको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना विपरीत कुनै कार्य गतिविधि गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत जनाएको छ ।






