झापा । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणको ऐतिहासिक जिम्मेवारी पार्टीले पूरा गरेरै छाड्ने बताउनु भएको छ ।
झापाको दमकमा सञ्चालित पुष्प - धीरेन्द्र स्मृति प्रतिष्ठानको बिहीबार अवलोकन पछि उहाँले भन्नुभयो," संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा सहिद, बेपत्ता र घाइते योद्धाले पुर्याएको योगदानको अबमूल्यन हुन पार्टीले दिँदैन, यो ऐतिहासिक दायित्वबाट पार्टी विमुख बन्दैन र बन्न पनि मिल्दैन ।"
शहीद, बेपत्ता र घाइते योद्धाको सपना पूरा गर्ने ऐतिहासिक दायित्वबाट पार्टी पछि नहट्ने दृढता व्यक्त गर्दै उहाँले भन्नुभयो, " पुष्प र धीरेन्द्र जस्ता हजारौंको बलिदानीले सुम्पेको ऐतिहासिक कार्यभार पूरा गरेर मुलुक र जनतालाई नयाँ जीवन दिन माओवादी पार्टी प्रतिबद्ध छ ।" उहाँले शान्ति प्रक्रियाका बाँकी काम पूरा हुनेमा विश्वस्त रहन सबैमा आग्रहसमेत गर्नुभयो । संक्रमणकालीन न्यायका विषयमा दलीय सहमति जुटेसँगै आयोग र ऐन बनाउने आधार तयार भएको उहाँले बताउनुभयो ।
पूर्वउपप्रधानमन्त्री समेत रहनु भएको श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आयोगले छिट्टै पूर्णता पाउने र छानबिनको काम अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो," संकमणकालीन न्याय दिने काम छिटो पूरा गर्नुपर्छ, द्वन्द्वकालीन घटनाको छानबिनबाट नै सत्यतथ्य पत्ता लाग्छ ।" उहाँले बेपत्ता र छानबिन आयोगको ऐन संशोधनमा विलम्ब गर्न नहुनेमा जोड समेत दिनुभयो ।
" जातीय, लैंगिक, भाषिक र वर्गीय मुक्तिको आन्दोलनमा पुष्प - धीरेन्द्र लगायत हजारौं मानिसको योगदान छ " वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो," युगान्तकारी परिवर्तन, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछि प्राप्त उपलब्धिको र सुदृढीकरण पार्टीको युगीन कार्यभार हो ।" अन्य राजनीतिक कुरा नगर्नु भएको उहाँले पार्टीले समाजवादको दर्बिलो आधार तयार गर्न सक्नु पर्ने औँल्याउनुभयो ।
कार्यक्रममा दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई, प्रतिष्ठानका अध्यक्ष तीर्थ बस्नेत लगायतले बोलेका थिए । प्रतिष्ठानले सहिद, बेपत्ता र घाइतेका सन्तानलाई नि:शुल्क प्राविधिक ज्ञान दिँदै आएको छ । पुष्प - धीरेन्द्र प्रतिष्ठानद्वारा सञ्चालित शिक्षालयमा कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ र जियोमेट्रीक इन्जिनियरिङको दुई वर्षे कोर्स पढाई हुन्छ । त्यहाँ पढ्ने व्यक्तिले दुई वर्ष पढेपछि ५८ हजार आर्थिक सहयोग पाउँछन् ।
तत्कालीन शाही सेना २० ५८ साल मंसिर १९ र २८ गते बेपत्ता पारेका पुष्प र धीरेन्द्र बस्नेतको नाममा सो प्रतिष्ठान खोलिएको हो । २०७५ सालमा प्रक्रिया सुरु गरेको प्रतिष्ठानले २०७७ सालमा ती विषय पढाउने अनुमति पाएको हो । सुरुमा सरकारले ती विषय पढाउन खर्च बेहोर्ने गरेको थियो। त्यहाँ अहिले स्वीस सरकारको आर्थिक सहयोग छ । अध्यक्ष बस्नेतले वर्तमान सरकारले अव्यवहारिक विषय निकालेर आफूहरूलाई नियतवश दु:ख दिन सुरु गरेको नेता श्रेष्ठ समक्ष गुनासो गर्नुभयो ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कोशी प्रदेश तथा झापा जिल्लाका पार्टी नेताहरूसँग भेटघाट र संक्षिप्त छलफल गरेका थिए । उनीहरूले पार्टीको आन्तरिक र सांगठनिक अवस्था साथै कोशी प्रदेशको विवादित नामका बारेमा जानकारी गराएको सहभागी एक नेताले बताउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता