जुम्ला । जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र डक्टर फर नेपाल (डिएफएन)ले चारजनालाई छात्रवृत्तिमा विशेषज्ञ चिकित्सक पढाउने भएको छ । विशेषज्ञ चिकित्सक उत्तीर्ण भएपछि प्रतिष्ठानले खटाएको स्थानमा कम्तीमा तीन वर्ष काम गर्ने सर्तमा चिकित्सकहरूलाई निःशुल्क विशेषज्ञ चिकित्सक पढाउने भएको हो ।
प्रतिष्ठान र डक्टर फर नेपालले विभिन्न निजी मेडिकल कलेजमा अध्ययन गरिरहेका चारजना चिकित्सकहरूसँग आइतबार त्रिपक्षीय सम्झौता भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी दिनुभयो ।
सो सम्झौतामा प्रतिष्ठानका तर्फबाट प्रशासकीय अधिकृत भण्डारी, डक्टर फर नेपालबाट नाइजेल लयर्स र अध्ययन गर्ने चिकित्सकहरूले हस्ताक्षर गरेकाछन् । छात्रवृत्ति पाउने चिकित्सकहरूमा साविको कर्णालीबाट जुम्ला डा.सिर्जना रावल र डा.नविता रावल, मुगुबाट डा.मीना काफ्ले र कालिकोटकीबाट ज्वाला बराल रहेको प्रतिष्ठानका प्रशासकीय अधिकृत भण्डारीको भनाइ छ ।
सिर्जना काठमाडौं विश्वविद्यालय अन्तर्गत धुलिखेलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ र डा.नविता लुम्बिनी मेडिकल कलेजमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ अध्ययन गर्दैछन् । मुगुकी डा.काफ्ले चौलागाईं नेसनल मेडिकल कलेज वीरगन्जमा एमडिजिपी अध्ययनरतछन् । कालिकोटकी डा.ज्वाला बराल चितवन मेडिकल कलेजमा मानसिक रोग विशेषज्ञ अध्ययन गर्दै छन् । चारैजनाको विशेषज्ञ चिकित्सक अध्ययन गर्न लाग्ने खर्च (होस्टलसहित) प्रतिष्ठान र डिएफएनले आधा-आधा व्यहोर्नेछन्।
अध्ययन गर्ने चिकित्सकको खर्च दुवै संस्थाले सीधै अध्ययन गरिरहेको संस्थालाई उपलब्ध गराउनेछन् ।
लामो समयदेखि नेपालको कर्णालीमा स्नातक तहका चिकित्सा तथा नर्सिङ छात्रवृत्ति दिँदै आएको डिएफएनले यस वर्षदेखि विशेषज्ञ चिकित्सकलाई पनि छात्रवृत्ति सुरु गरेको हो । डिएफएनले अहिलेसम्म झन्डै ४० जनालाई चिकित्सक तथा नर्स बनाइसकेको र अन्य अध्ययन गरिरहेको संस्थाकी अध्यक्ष डा.कटी यरोले जानकारी दिनुभयो । विशेषज्ञ छात्रवृत्ति अध्ययन र त्यसपछिको तीनवर्षे करार सम्झौताले कर्णालीका १३ जिल्लामा हुने चिकित्सक अभावलाई कम गर्ने उनको भनाइ छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता