काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज (बुधबार) नेपाल र बंगलादेश भिड्दै छन् । दुई देशबीचको फाइनल खेल साँझ काठमाडौंस्थित दशरथ रंगशालामा हुनेछ । यसअघि २०२२ मा काठमाडौंमै भएको साफमा पनि यी दुई टोली भिडेका थिए । जहाँ नेपाललाई हराएर बंगलादेश पहिलोपटक च्याम्पियन बनेको थियो । यसपालि नेपाललाई घरेलु मैदानमा दुई वर्षअघिको बदला लिएर च्याम्पियन बन्ने अवसर छ ।
सातौँ संस्करणको च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा साबिक विजेता बंगलादेशले भुटानलाई ७-१ ले हराएर फाइनलमा स्थान बनाएको हो । घरेलु टोली नेपालले भने तनावग्रस्त सेमिफाइनलमा पाँचपटकको विजेता भारतलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै फाइनल पुगेको हो । दक्षिण एसियाली महिला फुटबलमा भारतको दबदबा छ । ६ संस्करणमा ऊ पाँचपटकको विजेता हो । तर, यसपालि भने फाइनल पुग्न सकेन ।
सन् २०१० बाट सुरु भएको साफ च्याम्पियनसिपको एक दशकमा भारतले जतिपटक उपाधि उचालेको छ, त्यति नै पटक फाइनलमा पुगेर नेपाल पराजित भएको छ । नेपालले पाँचपटक फाइनल खेलिसक्यो तर कहिल्यै उपाधि जित्न सकेको छैन । नेपाल समग्रमा छैटौँ पटक र बंगलादेश तेस्रो पटक फाइनल पुगेको हो । लगातार तेस्रो पटक घरेलु मैदानमा साफ वुमन्स च्याम्पियनसिप खेलिरहेको नेपाली टोली यसपटक च्याम्पियन बन्ने लक्ष्यमा छ ।
महिला साफ च्याम्पियनसिपको आयोजकका रूपमा भने नेपालले यसपालि हृयाट्रिक गरेको छ । दक्षिण एसियाका महिला फुटबल प्रतियोगिताको यो सातौँ संस्करण हो । पाँचौँ र छैटौँ साफको पनि आयोजक राष्ट्र नेपाल नै थियो ।
नतिजा आफ्नो पक्षमा पार्ने दाबी
साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज (बुधबार) नेपाल र बंगलादेशबीच हुने प्रतिस्पर्धाका लागि दुवै टोली तयार रहेको नेपाल र बंगलादेशका कप्तान तथा प्रशिक्षकले बताएका छन् । खेलअघि मंगलबार रंगशालामा आयोजित प्री-म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बलियो टिम बंगलादेशलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्यका साथ नेपाली टोली मैदान उत्रने बताउनुभयो ।
यसअघि भएका खेलमा देखिएका गल्तीलाई सुधार गरेर फाइनल खेल्ने उहाँको भनाइ थियो । उहाँले महिला फुटबलमा दर्शकको समर्थनले थप हौसला मिलेको धारणा राख्नुभयो ।
त्यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापोले उपाधि जित्नेमा विश्वस्त रहेको बताउनुभयो । नेपालले मौलिक खेल देखाउने र खेल आफ्नो पक्षमा पार्ने उहाँको भनाइ थियो । उहाँले साफमा उपाधि जित्ने अवसर भएकाले मौका खेर नफाल्ने पनि बताउनुभयो । त्यस्तै बंगलादेशका कप्तान तथा प्रशिक्षकले पनि उत्कृष्ट खेल प्रदर्शन गर्ने र नजिता आफ्नो पक्षमा पार्ने बताए ।
एन्फा आफैँले टिकट बिक्री गर्ने, अनलाइन बुकिङ रद्द
नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) आफैंले बिक्री गर्ने भएको छ । साफ महिला च्याम्पियनसिपको आज (बुधबार) हुने फाइनलका लागि तीन स्थानमा काउन्टर राखेर टिकट बिक्री गर्ने भएको हो । एन्फाले मंगलबार पत्रकार सम्मेलन गरेर टिकट बुधबार बिहान ८ बजेबाट जावलाखेलको फुटबल मैदान, एन्फा कम्पुले र भद्रकाली आर्मी गेटबाट बिक्री हुने जनाएको हो । अधिकतम १० हजार टिकट बिक्री हुने गरिने छ । एक व्यक्तिले भिआइपी दुई र साधारण पाँच टिकट मात्र किन्न पाउने एन्फाले जनाएको छ ।
नेपाल र भारतबीच आइतबार भएको सेमिफाइनल खेलमा करिब १५ हजार दर्शक क्षमता रहेको रंगशालामा १८ हजार बढीलाई टिकट बिक्री भएको थियो । त्यसपछि फाइनलका लागि भइरहेको टिकट बिक्री रोकिएको थियो ।
अनलाइन टिकट नबेच्ने र यसअघि अनलाइन खरिद गरेकाको पैसा फिर्ता हुने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले टेन्डर प्रक्रियामार्फत ८० लाख रुपैयाँमा टिकेटिङ अधिकार लिएको थियो ।
‘रंगशालाभित्र पानीका बोतल नल्याउनु’
अखिल नेपाल फुटबल संघ (एन्फा)ले यही आज हुने साफ महिला च्याम्पिसयनसिपको फाइनल खेल हेर्न आउने दर्शकका लागि दशरथ रंगशालाभित्र प्रवेश गर्दा कतिपय वस्तु ल्याउन निषेध गरेको छ । मंगलबार सूचना प्रकाशित गरी एन्फाले खेल मैदानमा उपस्थित व्यक्तिहरूको सुरक्षा र व्यवस्थित वातावरणलाई मध्यनजर गर्दै, केही सामग्रीहरूमाथि रंगशाला भित्र लैजान निषेध गरिएको जनाएको छ ।
एन्फाका अनुसार प्रतिबन्धित सामग्रीहरूमा हातहतियारः बन्दुक, छुरा, र अन्य कुनै पनि प्रकारका धारिला, हातहतियार, धुम्रपान र आगो बाल्ने सामग्रीः चुरोट, लाइटर, सलाइ आदि, मादक पदार्थः मदिरा र अन्य नशालु पदार्थहरू, झोला र ठूला ब्यागहरूः साना ब्यागहरू जाँचपछि मात्र अनुमति दिइनेछ, तर ठूला ब्यागहरू निषेध गरिएका छन्, हेल्मेट र सुरक्षात्मक उपकरणहरूः हेल्मेट र यस्तै सुरक्षा सामग्रीहरू, प्रचार सामग्रीः अनुमति बिना ब्यानर, झण्डा, पोस्टर आदिमा निषेध गरिएको छ ।
यस्तै, प्रक्षेपण गर्न मिल्ने वस्तुहरूः पानीको बोतल, क्यान, पत्थर, र अन्य फ्याँक्न मिल्ने, धातुका मुद्रा क्याइन, सामग्रीहरू, लेजर लाइटः खेलाडी तथा रेफ्रीलाई लक्षित गर्ने लेजर लाइट, ड्रग्स र अन्य अवैध पदार्थः कुनै पनि प्रकारका लागू औषधहरू, छाता, लिबिस्टिक, नेल कटर, कैँची, काइयो निषेध गरिएको छ ।
‘एन्फाको तर्फबाट सबै दर्शकहरूलाई सुरक्षित र शान्तिपूर्ण वातावरणमा खेलको आनन्द उठाउन अनुरोध छ’ सूचनामा भनिएको छ, ‘सबैले नियमहरूको पालना गरी खेलकुदप्रति सम्मान जनाउनु हुनेछ भन्ने अपेक्षा राखिएको छ ।’
भारतले साफमा उजुरी गर्ने
अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ)ले साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले एक घण्टाभन्दा बढी समय खेल रोकेको भन्दै दक्षिण एसियाली फुटबल महासंघ (साफ) उजुरी गर्ने भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार यही कात्तिक ११ (अक्टोबर २७) मा भारत-नेपालबीचको सेमिफाइनलमा भएको विवादप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै यसविरुद्ध साफमा पत्र पठाउने निर्णय गरेको हो ।
एआईएफएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एआईएफएफले यो घटनाबारे साफलाई पत्र लेख्नेछ र उपयुक्त मञ्चमा यो मुद्दा उठाउनेछ । भारतको अन्डर-१९ महिला टोलीले पनि भर्खरको साफ प्रतियोगितामा झन्डै यस्तै अवस्थाको सामना गर्नुपरेको थियो र एआईएफएफले यस क्षेत्रको फुटबलको विकासका लागि यस्ता कुरा राम्रो नहुने ठानेको छ ।’
गत आइतबार साँझ काठमाडौंस्थित दशरथ रंगशालामा भएको सेमिफाइनल खेलको ७१औँ मिनेटमा संगीता बासफोरले गरेको गोलमा भारतले सुरुवाती अग्रता लिएको थियो । तर, लगत्तै नेपालकी प्रिती राईले गोल फर्काउनुभएको थियो । तर, रेफ्रीले गोलको मान्यता नदिएपछि केही बेर तनाव भएको थियो । भुटानी रेफ्री ओम चुकीको निर्णयविरुद्ध नेपाली पक्षले विरोध गर्दा खेल एक घण्टाभन्दा बढी समय रोकिएको थियो ।
सहमतिपछि पुनः सुरु भएको खेलमा १० खेलाडीमा सीमित भएको नेपाली टोलीले गोल फर्काएपछि खेल टाइब्रेकरमा गएको थियो । जसमा भारतलाई चार-दुई गोलअन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा