काठमाडौं । यस वर्षको भाइटीकाको शुभ साइत यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमबार उक्त जानकारी गराएको हो । भाइटीकाका दिन दिनभर दिदी बहिनीका हातबाट टीका लगाउन शुभ रहे पनि साइत खोज्नेका लागि ११ः३७ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभयो । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसैदिन गर्नुपर्ने समितिले जनाएको छ ।
यस वर्षको यमपञ्चक अर्थात् तिहार आज (मंगलबार) देखि सुरु हुँदै छ । आज धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ । यमदीपदान भने कात्तिक १४ गतेदेखि बुधबार परेको छ । कागतिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ । आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती पनि बुधबार नै मनाइन्छ ।
कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीबार मनाउनुपर्छ । कात्तिक १६ गते शुक्रबार औँशी परेको छ । त्यस दिन भने तिहारको कुनै पर्व नपरेको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवद्र्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ । यसैगरी, कात्तिक २२ गते बिहीबार छठ पर्व परेको पनि समितिले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts