गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले अशक्त तथाबअपाङ्ग व्यक्तिहरुलाई घरमै पुगी नागरिकता वितरण गर्दैआएको छ । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर-४ का ‘क’ वर्गका अपाङ्ग समेत रहनुभएका नारायण सेन ओलीलाई उहाँको निवासमै पुगेर नेपाली नागरिकता प्रदान गरिएको हो ।
आज (सोमबार) मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्का र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तारानाथ फुल्लेलले संयुक्त रुपमा घरमा नै पुगेर ओलीलाई नागरिकता हस्तान्तरण गर्नुभयो । २०६१ असार २१ गते जन्मनुभएका उहाँ सात वर्ष अघि बिरामी पर्नुभयो । उहाँको चितवनमा उपचारको क्रममा टाउकोमा शल्यक्रिया गरिएको थियो । त्यसपछि प्यारालाइसिस भएर शरीर चल्न छोड्यो ।
घरका परिवारले पनि कुनै वास्ता नगरेपछि उहाँ आमासँगै मावली घर मदाने गाउँपालिका वडा नम्बर - ७ भनभनेमा बस्दै आउनुभएको छ । उहाँको अहिले आमा र मामाले स्याहार–सुसार गर्नुभएको छ । नारायणलाई सवारी साधनमा सदरमुकाम तम्घाससम्म पनि लैजाने स्थिति नभएपछि परिवारले घरमै नागरिकता दिलाउनका लागि वडामा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा वडा कार्यालयले गरेको समन्वयका आधारमा प्रशासनले घरमै पुगेर नागरिकता दिएको हो ।
अपाङ्ग नागरिकलाई घरमै पुगेर सेवा दिने कार्यालयको अभियान अन्तर्गत आफुहरुले ओलीलाई नागरिकता दिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत फुल्लेलले बताउनुभयो । ओलीकी आमा पवित्रा ओली क्षेत्रीले घरमै आएर नागरिकता वितरण गरेको प्रति टोलीलाई धन्यवाद दिनुभयो ।






