
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि त्यसको विरोधमा उक्त पार्टीले आन्दोलन गरिरहेको छ । संसदीय छानबिन समिति बनाएर उक्त समितिको सिफारिश बमोजिम उहाँलाई कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको भनिएको छ तर उक्त प्रतिवेदनको व्यहोराका सम्बन्धमा पनि मतमतान्तर रहेको पाइएको छ । एक थरीले रवि दोषी नभएको भनिरहेका छन् भने अर्काथरीले रवि दोषी भएको हुँदा कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्छ भनिरहेका छन् । यही मतमतान्तर चलिरहेकै बेला उहाँ पक्राउ पर्नुभएको हो । शुक्रबारदेखि रास्वपाले राजधानी काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको छ ।
यसपूर्व उक्त पार्टीले पोखरामा आन्दोलन गरिहेको थियो । घटना भएको अथवा अभियोग लागेको मानिसको बसोवास भएको स्थानबाट मुद्दा चलाइने नियम भए बमोजिम रवि सूर्योदय सहकारी संस्था भएको स्थान कास्कीको पोखराबाट रवि लामिछानेलाई मुद्दा चलाउनुपर्ने भएकाले उहाँलाई काठमाडौंमा पक्राउ गरी पोखरा लगिएको थियो । त्यसैले रास्वपाका सबै जिल्लाका नेता कार्यकर्ता पोखरामा केन्द्रित भएर यस कार्यको विरोध गरेका थिए । लगातार त्यहीँ रहेर विरोध प्रदर्शन गरिरहेका उक्त पार्टीका नेता कार्यकर्ता अब राजधानी केन्द्रित भएर विरोधमा उत्रिने नीति अनुसार शुक्रबारदेखि काठमाडौंमा प्रदर्शनमा उत्रिएका हुन् । कानुनी प्रक्रियालाई अवरोध गर्ने उद्देश्यले राजनीतिक रंग दिने प्रयासमा रास्वपा लागेको छ । उक्त पार्टीका वरिष्ठ पदाधिकारी तथा सांसद नै यस्ता विरोध कार्यक्रमको नेतृत्व गर्दै हिँडिरहेका छन् ।
यसले गर्दा कानुनी प्रक्रिया अबरुद्ध बन्नसक्ने अवस्थाको सिर्जना हुनसक्छ । रास्वपाले त यसै गर्न चाहेको हो तर अन्य पार्टीहरूले उक्त पार्टीको यस्तो नियत बुझ्नु जरुरी छ । यसले कानुनी अभ्यासको मार्ग अबरुद्ध बन्न नजाओस् । एकातिर रास्वपा आफ्नो पार्टीका सभापतिलाई सहकारी ठगीको अभियोगमा पक्राउ गरेकोमा सडक आन्दोलनमा छ भने अर्कातिर सहकारी पीडितहरू पनि सहकारी ठगहरूका विरुद्धमा न्यायको माग गर्दै सडममै छन् । सहकारीमा हिनामिना भएको रकम धेरै ठूलो परिमाणमा छ । त्यसरी अपचलन भएको रकम असुलउपर गर्ने हो भने पीडितहरूले आफ्नो रकम फिर्ता पाउन सक्नेथिए र व्यक्तिले निजी बनाएको रकम राष्ट्रको ढुकुटीमा समेत आउने थियो ।
रास्वपाले जानेर वा नबुझेरै गरेको भए पनि होहोरेमा लागेर गरिएको विरोधले भोलिका दिनमा सरकारलाई नै अप्ठ्यारो अवस्था सिर्जना हुन पनि नसक्ला भन्ने छैन । त्यसकारण सत्तामा सहभागी दलहरूले हिजै बैठक गरेर एकै स्वरमा सडकबाट सरकारको विकल्प खोज्नु विधिविपरीत भएको निष्कर्ष निकालेका छन् । सरकारले आपूmले छोटो समयमा गरेका कामप्रति गर्व गरेको छ । सबैभन्दा ठूलो कुरा आर्थिक अवस्थाको सुधारमा गौरव गरेको छ भने सरकार फेरिने कुरा हल्लामात्र हो भन्ने धारणाको सार्वजनिक अभिव्यक्ति दिएको छ । सरकार बनेको भरखरमात्रै हो तर बाहिर अब छिट्टै यो सरकार पनि परिवर्तन हुँदैछ भन्ने खालका हल्ला आइरहेका छन् ।
सरकारले जनमानसमा आइरहेको यस्तो भ्रम मेटाउनकै लागि उक्त धारणा जनतासमक्ष संप्रेषण गरेको हुनसक्छ । सरकार फेरिने हल्ला निराधार हो भनेर गृहमन्त्रीले बताउनुभएको छ । पालोफेरोमा प्रधानमन्त्री चलाउने भनेर कांग्रेस एमालेले जुन सहमति गरेका छन् सो सहमति अनुसार कांग्रेस पार्टीले प्रधानमन्त्री पाउन अझै दुई वर्ष कुर्नुपर्छ । यता माओवादीले हालैदेखि कांग्रेसलाई प्रधानमन्त्री दिने सर्तमा सरकारको समीकरण परिवर्तन गर्न प्रलोभन दिएको भन्ने हल्ला भइरहेको छ । त्यसमा वास्तविकता छैन भनेर सत्तारुढ पार्टीहरूबाट यस्तो वक्तव्य आएको हो । अहिलेका लागि जनताले यसमा विश्वास गर्न सक्छन् तर सरकार परिवर्तन हुने बेलामा एकाएक र रातारात निर्णय गरिन्छ ।
पहिलेका यस्ता दृष्टान्तका आधारमा यसो भनिएको हो । रास्वपाले अहिले गरिरहेको विरोध प्रदर्शनलाई निस्तेज पार्न सत्तारुढ दलहरू एक जुट भएका पनि हुनसक्छन् । दल परिवर्तनसम्बन्धी विधेयकका विषयलाई लिएर कांग्रेस र एमालीबीच खट्पट सुरु भएको छ भन्ने देखिएको छ । तर, हाल कांग्रेस सभापतिबाट एमालेको प्रशंसा भएको सन्दर्भलाई हेर्ने हो भने यी दुई दलबीच त्यस्तो मतमतान्तर छैन भन्ने देखिन्छ । जे भए पनि न्याय सडकबाट खोजिँदैन न्यायालयबाट खोजिन्छ । सडक आन्दोलन भनेको व्यवस्था परिवर्तन वा अन्य यस्तै केही ठूला अभियानहरूमा मात्र गर्ने गरिन्छ । अहिले रास्वपाले गरेको प्रदर्शन आफ्नो पार्टीका ठगीको अभियोग लागेका नेतालाई दबाबबाट सफाइ दिलाउनका लागि भइरहेको छ ।
त्यसकारण आफू प्रतिपक्षमा भए पनि माओवादीले यसमा ऐक्यबद्धता जनाएको छैन । माओवादीले आफ्नै पार्टीका नेताहरू यस्तै अभियोगमा पक्राउ पर्दा पनि सडकमा आएर विरोध प्रदर्शन गरेको थिएन । यसलाई माओवादीको राजनीतिक संस्कार भनिनहाले पनि राजनीति बुझेका कारण यसो गर्न उक्त पार्टीले उचित ठानेन भन्न सकिन्छ । रास्वपाले भने राजनीतिको लामो अभ्यास र अनुभव नभएकाले ठगीको आरोप लागेका सभापतिका पक्षमा सडक आन्दोलन गरेर न्यायको माग गरिरहेको छ । यसबाट पुराना पार्टीहरूप्रति मोहभंगको अवस्थामा रहेका जनताले भविष्यका लागि आशा र अपेक्षाका दृष्टिकोणबाट हेरिरहेको पार्टी ‘मिसन ८४’ को नारा लाएर आइरहेको भए पनि उल्टै ८४ मा सिद्धिने एउटामात्र निहुँ यही बन्न सक्छ । सत्तारुढ पार्टीहरूको ऐक्यबद्धता र रास्वपाको खस्किँदो अवस्थाको आन्दोलनबाट यही कुराको पुष्टि हुन जान्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच