काठमाडौं । नेपालले घरेलु मैदानमा जारी साफ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा पाँच पटकको विजेता भारतसँग खेल्ने भएको छ । दशरथ रंगशालामा बिहीबार भएको समूहगत चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० गोलले हराएर समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।
तीन खेलपछि भुटान र नेपाल दुवैले समान सात अंक जोडे । गोलअन्तरमा नेपाल विजेता र भुटान उपविजेता बनेका छन् । बिहीबार भएको खेलमा भुटानले मालदिभ्सलाई १३-० गोलले हराएपछि नेपाललाई समूह विजेता बन्न सजिलो थिएन । नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा मालदिभ्सलाई ११-० गोलले हराएको थियो ।
भुटानले दोस्रो खेलमा श्रीलंकालाई चार-एक गोलले हराएको थियो । नेपालले पहिलो चरणमा १७ गोल गर्यो भने एक गोल पनि व्यहोरेन । भुटानले १७ गोल गर्यो भने एक गोल व्यहोर्यो । भुटानले सेमिफाइनलमा साविक विजेता बंगलादेशसँग खेल्ने छ ।
श्रीलंकाविरुद्ध नेपालले दोस्रो हाफको इञ्जुरी समयमा गोल गर्दै समूह विजेता बन्ने पक्का गरेको थियो । पहिलो हाफमै चार–शुन्य गोलले अगाडि रहेको नेपाललाई थप दुई गोल गर्न अन्तिम समयसम्म कुर्नुपर्यो ।
नेपालका लागि रेखा पौडेलले दुई तथा सविता रानामगर, सावित्रा भण्डारी, अमिका कार्की र रश्मी कुमारी घिसिङले समान एक गोल गर्नुभयो ।
बंगलादेश र भुटान पहिलो सेमिफाइनलमा खेल्नेछन् । पहिलो सेमिफाइनल खेल आइतबार दिउँसो साढे १ बजे हुनेछ । दोस्रो सेमिफाइनलमा नेपाल र भारत खेल्ने भएका हुन् । सो खेल साँझ साढे ६ बजे हुनेछ । दुवै सेमिफाइनल खेल एकैदिन हुनेछ । अघिल्लो संस्करण पनि यी चार टोली नै सेमिफाइनलमा भिडेका थिए ।
बिहीबार खेलको आठौँ मिनेटमा साम्बाको पासमा सविता रानामगरको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो । १२ औं मिनेटमा सावित्रा भण्डारीले डिबक्स बाहिरबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।
लगत्तै १३ औं मिनेटमा अमिसा कार्कीको पासमा रेखा पौडेलको गोलमा नेपालले तीन-शुन्यको अग्रता बनाएको थियो । १९ औं मिनेटमा अमिसा कार्कीको प्रहार आकाशिएको थियो ।
३६ औं मिनेटमा साम्बाको प्रहारलाई रेखा पौडेलले फ्लिक गरेपछि गोलमा परिणत भयो । टोलीलाई चार-शुन्यको अग्रता दिलाउने क्रममा रेखाले व्यक्तिगत दोस्रो गोल गर्नुभयो । ४२ औं मिनेटमा साम्बाको प्रहार क्रसबारको माथिबाट बाहिरिएको थियो ।
४७ औं मिनेटमा सविता कार्कीको क्रसमा अमिसा कार्कीको हेडर गोल गर्दै नेपाललाई पाँच-शुन्यको अवस्थामा ल्याउनुभयो ।
५४ औं मिनेटमा रश्मी कुमारी घिसिङको प्रहर क्रसबार माथिबाट बाहिरिएको थियो । ५७ औं मिनेटमा साम्बाको प्रहार सिधै गोलरक्षकको हातमा पुग्यो ।
८३ औं मिनेटमा अनिता बस्नेतको कर्नरमा साम्बाको हेडर गोलरक्षकले पन्च गर्दै जोगाउनुभयो । त्यसकै रिवाउण्डमा रेखाको गोल गरेपनि रेफ्रिले अफसाइड दिए ।
इन्ज्युरी समयमा अनिता बस्नेतको कर्नरमा रश्मी कुमारी घिसिङको गोलमा नेपालले ६-० को अग्रता बनायो ।
माल्दिभ्सको पोस्टमा भुटानको १३ गोल
साफ महिला च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’ को खेलमा भुटानले माल्दिभ्समाथि फराकिलो जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबारको पहिलो खेलमा भुटानले माल्दिभ्सलाई १३-० को फराकिलो अन्तरले पाखा लगाएको हो । जितसँगै भुटान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
भुटानका लागि डेकी लाजोमले डबल हृयाट्रिक गर्नुभयो । खेलको ४७औँ मिनेटमा डेकी लाजोमले गोल गर्दै हृयाट्रिक पूरा गर्नुभयो । लगत्तै डेकी यङदोनले गोल गर्दै भुटानलाई आठ-शून्यको अवस्थामा ल्याउनुभयो ।
खेलको ५२औँ मिनेटमा डेकी लाजोमले व्यक्तिगत चार गोल गर्नुभयो । वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेलगत्तै छिरिङ याङदेनले खेलको ६५औँ मिनेटमा गोल गर्दै भुटानलाई १०-० को अग्रता दिलाउनुभयो । ६८औँ मिनेटमा छिरिङ लादेनको गोलमा भुटान ११-० को अवस्थामा आयो भने ७०औँ मिनेटमा डेकी लाजोमले डबल हृयाट्रिक पूरा गर्नुभयो । खेलको ८०औँ मिनेटमा छिरिङ याङ्देनले गोल गर्दै भुटानलाई १२-० को फराकिलो अग्रता बनाउनुभयो ।
त्यसअघि तेस्रो मिनेटमा सोनाम छोदेनको पेनाल्टी प्रहार माल्दिभ्सकी गोलरक्षक अमिनाथ लिजाले जोगाउनुभयो । पाँचौँ मिनेटमा सोनामले गोल गर्दै भुटानलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । खेलको आठौँ मिनेटमा पेमा छोडेन छिरिङले तीन डिफेन्डरलाई बिट गर्दै बललाई पोस्टको जाली चुमाउनुभएको थियो ।
खेलको १५औँ मिनेटमा माल्दिभ्सका डिफेन्डरबीच तालमेल नमिल्दा डेकी लाजोमले गोल गर्दै भुटानलाई तीन-शून्यको अवस्थामा ल्याउनुभयो । १८औँ मिनेटमा कप्तान पेमा छोडेनले गोल गर्दै भुटानलाई चार-शून्यको अग्रता दिलाउनुभएको थियो । १९औँ मिनेटमा डेकी लाजोमले गोल गर्नुभयो । ४१औँ मिनेटमा नाम्गेल डेमाले गोल गर्दै भुटानलाई ६-० को अवस्थामा ल्याउनुभएको थियो ।
लगातार तेस्रो हार खेपेको माल्दिभ्स यसअघि नै प्रतियोगिताबाट बाहिरिएको थियो । यसअघि नेपालले पनि माल्दिभ्सलाई ११-० गोलले हराएको थियो । नेपाल आफ्नो पहिलो खेलमा भुटानसँग एक-एक गोलको बराबरीमा रोकिएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा