सर्लाही । हरिपुर नगरपालिका-१, जानकीनगर नाखा टोलबाट आज वन कार्यालयको टोलीले भरुवा बन्दुक र हरिणको मासु बरामद गरेको छ ।
सुराकीका आधारमा डिभिजन वन कार्यालय लालबन्दीबाट खटिए गएका कर्मचारीले आज बिहान ९ बजेतिर जानकी सामुदायिक वन जानकीनगरका अध्यक्ष दिनेश विक र छिमेकी हरिनारायण महराको घरबाट हरिणको मासु बरामद गरेको हो ।
वनका अध्यक्ष विकको घरबाट दुई केजी र हरिनारायणको घरबाट १३ केजी हरिणको मासु बरामद भएको सर्लाहीका डिभिजन वन अधिकृत (डिएफओ) सन्तोषकुमार झाले जानकारी दिनुभयो ।
घरबाट हरिणको मासु बरामद भएपनि वनका अध्यक्ष विक र उहाँका छिमेकी महरा भने फरार भएका छन् ।
उनीहरुको खोजी भइरहेको डिभिजन वन कार्यालय सर्लाहीले जनायो ।
खानतलासीको क्रममा हरिनारायण महराको बारीमा लुकाइराखिएको एक थान भरुवा बन्दुक, भरुवा बन्दुकमा प्रयोग हुने एक थान नाल र एक थान खुकुरी बरामद भएको छ । भरुवा बन्दुकमा ‘टर्च लाइट’ फिट गरिएको छ । शिकार गर्न लाइट राखिएको हुनसक्ने वनका कर्मचारीको भनाई छ ।
बरामद हतियार लालबन्दीस्थित डिभिजन वन कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको डिभिजन वन अधिकृत झाले बताउनु भयो ।
बरामद भएको हरिणको मासु आजै दिउँसो जनप्रतिनिधि, सुरक्षाकर्मी, संचारकर्मी, वन कर्मचारीलगायतको रोहबरमा डिभिजन वन कार्यालय परिसरमा खाल्डो खनेर गाडिएको छ ।







Breaking news with related posts