काठमाडौं । सरकारले सय दिनमा लक्ष्यको ७० प्रतिशत काम सम्पन्न गरेको दाबी गरेको छ । सरकार गठन भएको सय दिन पुगेको अवसरमा बुधबार प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले लक्ष्यको ७० प्रतिशत काम सम्पन्न गरेको दाबी गर्नुभएको हो । पहिलो सय दिनभित्र सबै मन्त्रालयको गर्ने भनेको २७४ वटा काममध्ये १८५ वटा सम्पन्न भएको उहाँले बताउनुभयो । बाँकी ३० प्रतिशत बाढी- पहिरोलगायत विपत्तिले गर्न नसकिएको उहाँको दाबी छ । ‘प्रधानमन्त्री र मन्त्रीहरूबीच भएको कार्यसम्पादन सम्झौतमा सबै मन्त्रालयले पहिलो एक सय, दोस्रो सय र बाँकी अन्य दिनभित्र गर्ने कामहरूको सूची बनाए । पहिलो सय दिनभित्र सबै मन्त्रालयको गर्ने भनेको कामको संख्या २७४ वटा पुग्यो । तीमध्ये १८५ वटा कामहरू सम्पन्न भएका छन्,’ उहाँले सार्वजनिक गरेको विवरणमा भनिएको छ, ‘अर्थात्, यो सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ । प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि पूरा हुन्थ्यो ।’ प्राकृतिक विपत्तिले सरकारको कामलाई केही समय धीमा बनाए पनि सम्हालिँदै अघि बढेको उहाँले बताउनुभयो ।
जनअपेक्षा उच्च भएकाले सरकारले कामको गति अझै बढाउनुपर्ने उहाँले स्वीकार गर्नुभएको छ । सरकारको काम र जनअपेक्षाबीच सन्तुलन चाहिएको भन्दै हाम्रो संकल्प असीमित भए पनि स्रोतसाधन सीमित रहेको स्मरण गर्नुभयो । ‘हामीलाई थाहा छ यो सरकारप्रति अपेक्षा उच्च छ । अपेक्षालाई पूरा गर्नु सरकारको दायित्व हो,’ उहाँले भन्नुभयो, ‘तर हाम्रो काम र अपेक्षाबीच सन्तुलन चाहिएको छ । हाम्रो संकल्प असीमित भए पनि हामीसँग भएको स्रोतसाधन सीमित छ ।’
नागरिकको अपेक्षा मात्रै बढाए पुग्ने तर कामको जिम्मेवारी लिनु नपर्ने पक्षले समाजमा असन्तुष्टिको माहौल खडा गर्न खोजेको उहाँको आरोप छ । उनीहरूले मिलेर सामना गर्नुपर्ने राष्ट्रिय संकटबाट पनि राजनीतिक लाभ खोजिरहेको ओलीले बताउनुभयो । ‘जनताले यस कुरामा विचार पु¥याउनुपर्ने र हामीले आफ्नो कामको रफ्तार बढाउनुपर्ने छ,’ उहाँले भन्नुभयो ।
बाढीपहिरो प्रभावितलाई साढे चार करोड राहत
प्रधानमन्त्री ओलीले विपद्मा परेका नागरिकको उद्धार, राहत र पुनर्निर्माणमा सरकारले उल्लेख्य काम गरेको बताउनुभयो । बाढी पहिरोका कारण मृत्यु भएका ३९१ जनाको परिवारले दुई लाखका दरले राहत पाएको विवरणमा उल्लेख छ । ‘बाढी पहिरोबाट प्रभावित दुई हजार ५५५ परिवारलाई चार करोड ५० लाख रुपैयाँ तत्काल राहत प्रदान गरिएको छ । संकटग्रस्त क्षेत्रका ७१ वटा स्थानीय तहमा ४३ करोड रुपैयाँ विनियोजन गरिएको छ,’ विवरणमा भनिएको छ, ‘हामी अहिले बाढी पहिरोले क्षति पुर्याएका भौतिक संरचनाहरूको निर्माणका कार्ययोजनासहित काम गरिरहेका छौँ ।’ एक वर्षअघि जाजरकोट, पश्चिम रुकुम, बझाङ, बाजुरा र डोटीमा भूकम्पबाट भएको क्षतिलाई सम्बोधन गर्नेगरी स्थायी निजी आवास पुनर्निर्माणको काम अघि बढाउन आवश्यक बजेट १५ दिनभित्र उपलब्ध गराउने निर्णय गरिसकेको उहाँले बताउनुभयो । ३५ जिल्लाका १५ लाख दुग्ध किसानले भुक्तानी पाएको प्रगति विवरणमा उल्लेख छ । ‘करिब ७५ हजार उखु किसानले आफ्नो अनुदान बापतको भुक्तानी पाइसकेका छन्,’ विवरणमा भनिएको छ, ‘कृषिबाली तथा पशुधन बीमामा समावेश भएका हजारौँ कृषकहरूले पनि अब राहतको श्वास फेरेका छन् ।’
सहकारी ठगलाई कारबाही गर्ने प्रतिबद्धता
प्रधानमन्त्री ओलीले जोसुकै भए पनि सहकारी ठगलाई कारबाही गर्ने बताउनुभएको छ । ‘सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेलाई सरकारले कानुनी कारबाहीको दायरामा ल्याएको छ । सहकारी ठगी गर्ने व्यक्तिमाथि कानुनी कारबाही सुरु भएको छ । हालसम्म ६ सयभन्दा माथिलाई कानुनी कारबाही गरिएको छ, ५७५ भन्दा बढी त जेलमै छन्,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सहकारी ठगहरूलाई कारबाही गर्ने मात्र होइन, बचतकर्ताको बचत फिर्ता गर्न आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदै छ ।’ भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय रहेको उहाँले बताउनुभयो । ‘भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई होइन, कानुनलाई गुरु मानेको छ,’ उहाँले भन्नुभएको छ । राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकासका काममा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने उहाँले बताउनुभयो ।
डामाडोल अर्थतन्त्र लयमा फर्किन थालेको दाबी
अर्थतन्त्रमा सुधारका संकेतहरू देखिएको उहाँले बताउनुभयो । ‘हामी सरकारमा आउँदा अर्थतन्त्र डामाडोल थियो । आज त्यसमा सुधारका संकेतहरू देखापरेका छन् । अर्थतन्त्र सुदृढीकरणका लागि आर्थिक सुझाव आयोगजस्ता महत्वपूर्ण आयोगहरूको गठनले व्यवसायीहरूमा आत्मविश्वास पलाउँदै गएको छ,’ उहाँले भन्नुभएको छ, ‘एक सय दिनको अवधिमा २०० वटा उद्योगमा करिब ३४ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ । अन्तर्राष्ट्रिय स्वतन्त्र विज्ञ संस्थाबाट नेपालको सार्वभौम शाख मूल्यांकन (क्रेडिट रेटिङ)को कार्य अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि गिरेको सेयर बजार प्राकृतिक विपत्तिको प्रतिकूलताका बीचमा पनि प्रगतिकै लयमा छ ।’
चालु आर्थिक वर्षको असोज मसान्तसम्म सरकारी खर्च गत आर्थिक वर्षको तुलनामा केही प्रतिशतले वृद्धि भई करिब ३२९ अर्ब रुपैयाँ पुगेको छ । कुल राजस्व परिचालन १३ दशमलव ३ प्रतिशतले वृद्धि भई करिब २४८ अर्ब रुपैयाँ पुगेको उहाँले बताउनुभयो । निर्माण व्यवसायीहरूले पाउनुपर्नेमध्ये संघीय मन्त्रालयहरूबाट ६ अर्ब ७५ करोड रुपैयाँ यस अवधिमा भुक्तानी पाइसकेको सरकारले जनाएको छ । नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति र भण्डारण क्षमता अभिवृद्धिको लागि भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म र अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार तथा टर्मिनल भवन निर्माण कार्य अगाडि बढाउन नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसनबीच सम्झौता सम्पन्न भएको सरकारले जनाएको छ ।
सातवटै प्रदेशमा जलनको निःशुल्क उपचारको व्यवस्था
आर्थिक अभावमा जलनको उपचार गर्न नसक्ने नागरिकको लागि सातवटै प्रदेशमा निःशुल्क उपचारको व्यवस्था गरेको प्रगति विवरणमा उल्लेख छ । यसअघि तीनवटा प्रदेशमा मात्रै उपलब्ध रहेको क्यान्सर उपचार सेवा सातै प्रदेशमा विस्तार गरिएको प्रधानमन्त्री ओलीले बताउनुभयो । लगानीकर्ताको भौतिक उपस्थितिबिना कुल पुँजी ५० करोड रुपैयाँसम्मको विदेशी लगानी स्वचालित प्रणालीबाट तुरुन्त स्वीकृतिको प्रमाणपत्र प्राप्त गर्न सक्नेगरी उद्योग विभागमा स्वचालित मार्ग कार्यान्वयनमा आएको ओलीले बताउनुभयो । वैदेशिक रोजगारीमा मृत्यु भएकाहरूको परिवारलाई यसअघि दिने गरिएको क्षतिपूर्ति रकम सात लाखबाट १० लाख पु¥याइएको उहाँले बताउनुभयो । सरकारको उपलब्धिमा सवारी चालकले ट्रायल पास गर्नासाथ नागरिक एपमा नै लाइसेन्स पाउने व्यवस्थालाई पनि समेटिएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग बढाउन पहल
राम्ररी सञ्चालनमा नआएका अन्तर्राट्रिय विमानस्थलको प्रयोग बढाउन सरकारले ठोस कदम चालेको विवरणमा उल्लेख छ । भैरहवा र पोखरामा फ्लाइट आकर्षित गर्न भैरहवा र पोखराको लागि हवाई इन्धनको मूल्यमा प्रतिलिटर शून्य दशमलव ३७ डलर कम गरी अन्तर्राष्ट्रिय उडानको प्रबन्ध गर्न सफल भएको ओलीले बताउनुभयो । ‘अब आउँदो कात्तिक २४ गतेदेखि दुबईदेखि भैरहवासम्म र काठमाडौं हुँदै भैरहवादेखि दुबईको उडान सुरु हुनेछ । फ्लाई दुबईले हप्ताको सातै दिन दुबई र भैरहवा एवं काठमाडौं हुँदै भैरहवा र दुबईबीच उडान भर्नेछ,’ उहाँले भन्नुभयो । सरकार गठन भएलगत्तै तीन सय दिनभित्र कीर्तिपुरको क्रिकेट मैदानमा लाइट जोड्ने, स्कोर बोर्ड राख्ने र राति पनि खेल्न मिल्नेगरी रंगशाला बनाउने निर्णय गरेको उहाँले स्मरण गर्नुभयो ।
बंगलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गर्न त्रिपक्षीय सम्झौता
एकसय दिनको अवधिमा बंगलादेशमा ४० मेगाबाट विद्युत् निर्यातका लागि त्रिपक्षीय विद्युत् बिक्री सम्झौता भएको विवरणमा उल्लेख छ । सय दिनमा चार हजार ३८ किलोमिटर सडक मर्मत गरिएको र ३२.५ किलोमिटर सडक कालोपत्रे गरिएको ओलीले बताउनुभयो । ‘फास्ट ट्र्याकको मकवानपुरको धेब्रे सुरुङ ‘ब्रेक थु्र’ भएको छ । नागढुंगा मुख्य सुरुङको लाइनिङ पनि सफलतापूर्वक सम्पन्न भएको छ । सिद्धबाबा सुरुङमा उल्लेखनीय प्रगति भएको छ,’ उहाँले भन्नुभयो । १७ वर्ष अघिदेखि थालनी भएको शान्ति प्रक्रियाका बाँकी कामलाई अन्तिम निष्कर्षमा पु¥याउन सरकार सफल भएको उहाँले बताउनुभयो । छिमेक सम्बन्धलाई न्यायोचित राष्ट्रिय हितमा अडिँदै पारस्परिक लाभ र सम्मानका आधारमा अघि बढाएको उहाँको भनाइ छ ।
‘सरकार ढल्ने दिवा सपना कसैले नदेखे हुन्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने दिवा सपना नदेख्न चेतावनी दिनुभएको छ । सरकारका सय दिनको प्रगति विवरण सार्वजनिक गर्ने क्रममा उहाँले कांग्रेस र एमालेजस्ता इतिहास र हैसियत भएका दलहरू मिलेर बनेको सरकार ढल्ने दिवा सपना नदेख्न चेतावनी दिनुभयो । सरकार बनेकै दिनदेखि आज/भोलि नै सरकार ढल्न भनेर अफवाह फैलाइएको उहाँको भनाइ थियो । ‘सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्नेजस्ता अफवाह पनि फैलाउने गरिएको छ । यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला हो,’ उहाँले भन्नुभयो, ‘कांग्रेस र एमालेजस्ता इतिहास र हैसियत भएका दलहरू मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेखे हुन्छ ।’ सरकार बनेकै दिनदेखि विरोध सुरु गरिएको उहाँले आरोप लगाउनुभएको छ । यसबाट देशमा साम्प्रदायिक विद्वेष खडा गर्ने प्रयास भएको उहाँको दाबी छ । ‘अहिले साम्प्रदायिक विद्वेष, घृणा र परस्पर बेमेलको वातावरण पैदा गरेर हाम्रो राष्ट्रिय एकतालाई बिथोल्ने र प्रतिगमनतर्फ लैजाने प्रयास पनि भइरहेको छ । तर, नेपाल र नेपालीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन । सरकारले लोकतन्त्रलाई सुदृढ गर्न बनेको संविधानको रक्षा गर्ने छ,’ उहाँले भन्नुभयो, ‘साम्प्रदायिक विद्वेष र घृणा होइन, सामाजिक न्याय र समानतामा आधारित सामाजिक सद्भावको बाटोबाट राष्ट्रिय एकता कायम गर्ने हाम्रो नीति दृढताका साथ कार्यान्वयन गर्नेछ । हाम्रा सुन्दर, शिष्ट र समृद्ध सामाजिक–सांस्कृतिक मूल्यहरूलाई कमजोर पार्ने प्रयत्नलाई असफल बनाउने छ ।’
सरकार असफल अनि निरंकुश : विपक्षी
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले पहिलो सय दिनमा नै सकरात्मक सन्देश प्रवाह गरेको दाबी गर्नुभए पनि प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको दाबीलाई खण्डन गरेका छन् । विपक्षी दलका नेताहरूले संसद्को पहिलो र दोस्रो ठूलो दल मिलेर गणितीय हिसाबले बलियो सरकार बनाए पनि काम भने केही पनि गर्न नसकेको आरोप लगाएका छन् ।
भ्रष्टाचार संस्थागत भयो : प्रचण्ड
विपक्षी दलहरूको अगुवाई प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गर्दै आएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विपक्षी दलका नेताहरूले सरकार असफल भएकाले सरकारविरुद्ध खबरदारीको आवश्यकता औँल्याउँदै आउनुभएको छ । बुधबार मात्रै पार्टीनिकट बुद्धिजीवीहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकारले भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लगाउनुभयो । ‘सरकारले गर्नैपर्ने काम गरेको छैन । नगर्ने कामहरू गरेको छ । सरकार बन्दा जे शंका थियो त्यही भइरहेको छ । अहिलेको सरकारले सुशासनलाई प्रवद्र्धन नगरी भ्रष्टाचारलाई संस्थागत गरेको छ’, प्रचण्डको भनाइ छ । उहाँले सरकारलाई विपक्षी दलहरूले बुझाएको ध्यानाकर्षण पत्रअनुसार सुधार नदेखिए सरकारविरुद्ध मोर्चाबन्दी हुने बताउनुभयो । ‘सरकारले सुध्रने लक्षण देखाएन भने विपक्षी दलहरू मात्रै नभएर नागरिक समाज र सर्वसाधारणले पनि खबरदारी बढाउनुपर्छ’, प्रचण्डको भनाइ छ ।
दुई तिहाइको दम देखिएन : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व-उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले सरकारले संसद्मा दुईतिहाइ मत हासिल गरे पनि काममा त्यसको असर नदेखिएको बताउनुभएको छ । संसदका ठुल्ठूला पार्टी मिलेर बनेको सरकारले सा-सानो काम पनि गर्न नसकेको उहाँको भनाइ छ । ‘विपद् व्यवस्थापन होस् वा जनताको दैनिक कामका कुराहरू सरकारले कुनै पनि काम ढंगसाथ सम्पन्न गर्न सकेको छैन’, लिङ्देनको भनाइ छ ।
निरंकुशता बढ्यो : श्रेष्ठ
माओवादीकै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि सरकारले सय दिनमा कुनै पनि सकरात्मक काम गर्न नसकेको दाबी गर्नुभएको छ । विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सरकार निरकुंशतातर्फ अग्रसर भइरहेको दाबी गर्नुभयो । ‘पछिल्लो सय दिनमा जनताले व्यहोरेका कुनै पनि दुःखमा सरकारले साथ दिन सकेन । सरकारले कुनै कामै गर्न नसकेकोले यसको समीक्षा पनि जरुरी छैन’, उहाँले भन्नुभयो । माओवादी नेतृत्वको सरकारले थालेको सुशासनको अभियान ओली नेतृत्वको सरकारका कारण अवरुद्ध बनेको उहाँको आरोप छ ।
सत्ताको दुरुपयोग भयो : साह
संसद्मा विपक्षमा रहेको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पनि वर्तमान सरकारले सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाउनुभएको छ । सय दिनमा सरकारले गतिलो काम गर्न नसकेको तर भ्रष्टाचारीलाई जोगाउने र विपक्षीलाई सिध्याउने काममा लागेको साहको आरोप छ । ‘यो सरकारको नियत विपक्षीको आवाज दबाउने, भ्रष्टहरूलाई बचाउने र जनतालाई ऋण बोकाउनेतर्फ केन्द्रित छ’, साहले भन्नुभयो । विपक्षीलाई झुठा मुद्दा लगाउने, दुःख दिने र बिचौलियालाई काखी च्याप्ने काम सरकारले गरेको उहाँको दाबी छ ।
रास्वपाविरुद्ध सक्रिय भयो : बुर्लाकोटी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सरकारले पछिल्लो सय दिनमा रास्वपाविरुद्ध मात्रै काम गरेको बताउनुभएको छ । सरकारले नियमित गर्नुपर्ने कुनै पनि काम राम्रोसँग गर्न नसकेको तर रवि लामिछाने र रास्वपाविरुद्ध सबै तागत लगाएर काम गरेको उहाँको आरोप छ । ‘सरकारले रास्वपा कसरी सिध्याउन सकिन्छ ? भनेर काम गरेको छ । विपक्षीको मुख थुन्ने प्रयास यो सय दिनमा भएको छ । जनताका कुनै पनि काम सरकारले गरेको छैन’, बुर्लाकोटीले भन्नुभयो । उहाँले वर्तमान सरकार गठबन्धन सय दिनमै असफल भएका तथ्य जनताले बुझिसकेको उल्लेख गर्नुभयो ।






