काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ । जिल्ला अदालत कास्कीमा सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दा अघि बढाउन म्याद थप भइसकेको अवस्थामा रास्वपाका नेता कार्यकर्ता यतिबेला पोखरा केन्द्रित आन्दोलनमा जुटेका छन् । पूर्वगृहमन्त्री तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्धन निर्देशक लामिछानेलाई प्रतिशोधका आधारमा वर्तमान सरकारले फसाएको गुनासो उनीहरूको छ । यस्तोमा रास्वपा सांसदहरू डोलप्रसाद अर्याल, डा. स्वर्णिम वाग्ले, डा, तोसिमा कार्की, सन्तोष परियार, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, मनिष झा र गणेश पराजुलीसहित अहिले पोखरा केन्द्रित आन्दोलन गरेर बस्नुभएको छ । पोखरा केन्द्रित आन्दोलनका लागि रास्वपाले देशभरबाट नेता कार्यकर्तालाई बोलाएको छ । पोखरामै पनि आन्दोलनका लागि रास्वपाले घरदैलो अभियान चलाइरहेको छ ।
यता, कास्कीका सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडितहरूले रास्वपाको दबाबमा पूर्व–गृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान र अदालतसमेत प्रभावित नहोस् भन्ने माग गरेका छन् । सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखरा, सहकारी बचतपीडित संघ कास्कीले बुधबार विज्ञप्ति जारी गर्दै अनुसन्धान प्रभावित हुन्छ कि ? भन्ने डरका कारण आफूहरू सडकमा आउनुपरेको उल्लेख गरेका छन् । अहिले रास्वपाले सभापति लामिछाने बचाउमा शान्ति सुरक्षा र घरघरमा पुगी पीडित बचतकर्तालाई भड्काउने काम गरेको भन्दै आपत्ति जनाएका छन् ।’ पार्टीका नेता र कार्यकर्ताहरूले पोखराको शान्त वातावरण नै बिथोल्ने गरी पीडित बचतकर्ताविरुद्ध गरेको कार्यक्रम, नाराबाजी, भाषणका साथै टोलटोल र घरघरमा पुगी पीडित बचतकर्तालाई भड्काउने गरेको कामप्रति हामी घोर आपत्ति प्रकट गर्दछौँ’ विज्ञप्तिमा छ ।
सहकारी ठगी प्रकरणमा जोडिएको जोसुकै भए पनि निष्पक्ष छानविन हुनुपर्ने र सहकारीपीडित बचतकर्तालाई न्याय दिनुपर्ने समयमा रास्वपा त्यसविरुद्ध लागेको उनीहरूको भनाइ छ ।’ सहकारीको बचत र अनुसन्धानलाई नै प्रभाव पार्ने किसिमको कार्यक्रम दिनहुँजसो पोखरामा भइराखेका छन्, पार्टीका कार्यकर्ताद्वारा पीडित लखेटिएका छन् पिटिएका छन्’ विज्ञप्तिमा छ । रास्वपा सरकारमा हुँदा या नहुँदा पार्टीका नेताहरूलाई हारगुहार गर्दा, कैयनपटक ज्ञापनपत्र बुझाउँदा पीडितको समस्या समाधानका निम्ति कहिल्यै कुनै सरसहयोग नभएको उनीहरूले उल्लेख गरेका छन् । ‘तर आज पार्टी सभापति नै अनुसन्धानको दायरामा आउँदा झोलामा पीडितको पैसा बोकी फिर्ता दिने हो कि जस्तो गरी टोलटोलमा गरिएको भाषणले जब पार्टी सभापति प्रकाउ परे तब घैँटोमा घाम लागेजस्तो देखिएको छ, यो विषयले हामी सहकारीपीडित झनै सशंकित भएका छौँ, आज हामी सहकारी पीडितको यो गम्भीर विषयमाथि फेरि एउटा पार्टी र त्यसका नेताले राजनीति गरेको अनुभूति भइराखेको छ ।’
रास्वपाको प्रदर्शनको औचित्य नभएको संघर्ष समितिले जनाएको छ । पार्टी सभापति बचाउ अभियानले अनुसन्धानमा प्रभाव परी पीडित सडकमा आउने बाध्यता नपार्न रास्वपालाई संघर्ष समितिले चेतावनी दिएको छ । सहकारी पीडितको भेला पनि पोखरामा डाकिएको छ । बिहीबार बिहान ११ बजे मुस्ताङचोकमा उपस्थित हुने संघर्ष समितिले अनुरोध गरेको छ ।
आन्दोलन छाडेर घुमघामको फोटो हाले कारबाही गर्ने चेतावनी
आन्दोलनका लागि पोखरा आएका नेता कार्यकर्ता पोखराका पर्यटकीयस्थल फेवाताल सहितमा घुमघाममा केन्द्रित हुन थालेपछि रास्वपाले मोबाइल म्यासेज पठाएर सचेत गराउन थालेको छ । रास्वपाको केन्द्रीय अनुशासन आयोगले म्यासेज नै पठाएर आन्दोलन गर्न आएको अवस्थामा घुमघामका तस्बिर, भिडियो सामाजिक सञ्जालमा पोष्ट नगर्न भनेको हो । आयोगले पोखरामा पुगेका नेता-कार्यकर्तालाई आन्दोलन छाडेर घुमघामको फोटो पोष्ट गरेको पाइए कारबाही नै गरिने चेतावनी दिएको हो । ‘पोखरामा आएका साथीहरू आन्दोलनबाहेक घुमघामको फोटो पोष्ट गरेको पाइए कारबाही हुन्छ’, अनुशासन आयोगले पठाएको म्यासेजमा भनिएको छ, ‘सबैजना पार्टी सदस्यहरूले आन्दोलनको फोटो र भिडियो सेयर गर्न पनि निर्देशन जारी गरिन्छ ।’
रवि लामिछाने पक्राउ परेपछि यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरू पोखरा केन्द्रित प्रदर्शनमा छन् । देशैभरीबाट कार्यकर्तालाई आउन आह्वान गरेको रास्वपाको प्रदर्शनमा अपेक्षाकृत प्रदर्शनकारी उपस्थित छैनन् । दशौँ हजार कार्यकर्ता हरेक दिन प्रदर्शनमा उत्रिने रास्वपाको विश्वास थियो । रास्वपा नेता कार्यकर्ताको भनाइ सापट लिने हो भने पोखरेलीले प्रदर्शनमा सहयोग गरेका छैनन् । रास्वपाले आन्दोलनका लागि आर्थिक व्यवस्थापन कसरी गरिरहेको छ ? भन्ने कुरा जानकारी हुन सकेको छैन ।
रास्वपाका गतिविधिले विधिको शासनको उपहास : कांग्रेस
नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा भइरहेका पछिल्ला गतिविधिले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको बताएको छ । सहकारी ठगी र संगठित अपराध कसुरमा रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेपछि रास्वपाले पोखरा केन्द्रित प्रदर्शन गरिराखेको छ । उक्त प्रदर्शनप्रति लक्षित गर्दै कांग्रेसले हुल-हुज्जत र सडक प्रदर्शनले न्यायिक प्रक्रिया तथा अनुसन्धानलाई प्रभावित गरेको बताएको हो ।
पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बुधबार विज्ञप्ति निकालेर भनेका छन्, ‘कुनै पनि कसुरमा आरोप लागेपछि वैधानिक निकायबाट गरिने अनुसन्धान, छानविन र न्यायिक प्रक्रियालाई सहयोग पु¥याउनु प्रत्येक नागरिकको कर्तव्य हुन्छ भने राजनीतिक दलको झन् बढी जिम्मेवारी हुनुपर्दछ । तर, राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा भइहेको गतिविधिहरूले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको छ । प्रचलित कानुनबमोजिम कसुर ठहरिने कुनै पनि गतिविधिमा संलग्न जुनसुकै दल, पद वा हैसियतको व्यक्ति भए पनि उनीहरूमाथि समान ढंगले अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्छ भन्ने मान्यताप्रति हाम्रो पार्टी प्रतिबद्ध छ । विधिको शासन कायम गर्न, न्यायिक प्रक्रियालाई विश्वसनीय बनाउन, न्याय प्रणालीलाई स्वतन्त्र र निष्पक्ष बनाइराख्नु हामी सबैको कर्तव्य भएकोले हुनाले उत्तेजित र उच्छृङ्खल गतिविधि नगरी संयमित भई अनुसन्धान र न्यायिक प्रक्रियामा सहयोग पु¥याउन सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकमा हार्दिक अपिल गर्दछौँ ।’







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता