पाल्पा । तानसेन काजीपौवाकी सिता केसीको दैनिकी सामान्य घरको काम बाहेक अरु समय मोवाइल हेरेरै बित्थ्यो । आजभोली दुना– टपरी उद्योगमा बसेर काम गर्न थालेपछि दिन वितेकै थाहा नहुने उहाँको भनाई छ ।
केसीले भन्नुभयो, ‘दिनदिनै मोबाइल चलाउँदा आँखा दुख्ने, टाउको दुख्ने हुन्थ्यो, दिनभर घरमा बस्दा बस्दा दिक्क लाग्ने गथ्र्यो, अहिले उद्योगमा धेरै महिला दिदी बहिनीहरु आउनुहुन्छ, उहाँहरुसँग कुराकानी गरेर टपरी बुन्छु, दिन बितेको थाहै हुँदैन, मेरो लागि त दिन बिताउने आधार बनेको छ, आम्दानी पनि हुन्छ ।’
घरायसी कामसँगै दुना टपरी बनाउन थालेपछि केसीको घरको सानोतिनो खर्च टार्ने माध्यम समेत दुना–टपरी उद्योग बनेको छ । दुना टपरी फुटेर पैसा कमाइ होला भन्ने आफूले नसोचेको उहाँले सुनाउनुभयो । केसी भन्नुहुन्छ,‘आज त्यहीँ सालको पातले घरको खर्च टारेको छ । सानोतिनो रकमका लागि अरुसँग माग्नुपरेको छैन ।’ सोही ठाउँकी मिनु रोकाहालाई पनि विगतमा दिन बिताउन निकै गाह्रो थियो । उहाँ घरमा काम केही नभएपछि समय बिताउन गाह्रो हुँदा मोबाइलमा भिडियो हेरेर बस्र्ने गर्नुहुन्थ्यो । हिजोआज उहाँको दैनिकी पनि फेरिएको छ । उहाँ अहिले हरेक दिन काजीपौवामा रहेको दुना–टपरी उद्योगमा बिताउँनुहुन्छ । अचेल उहाँँलाई उद्योगमा महिलाहरुसँग गफिँदै टपरी बन्दाबुन्दै समय बितेको पत्तै हुँदैन । ‘बिहान–बेलुका घरको काम गरेर दिउँसो दुना–टपरी बनाउन उद्योगमा आउन्छु,अहिले समय गएको पत्तो हुँदैन’ रोकाहाले भन्नुभयो । दुना टपरी फुट्न थालेदेखि काम मात्र हैन दाम पनि राम्रै कमाएको उहाँले बताउनुभयो ।
५ वर्ष अघि काजिपौवा बहुउश्द्देयीय महिला समूहले सञ्चालन गरेको दुना–टपरी उद्योगमा महिलाहरु भेटिन्छन् । उद्योगमा केही महिलाहरु टपरी बनाइरहेका भेटिन्छन् त कोही सिन्का चिरिरहेका हुन्छन् । उद्योगले महिलालाई स्वरोगार त बनाएको छ नै आत्मनिर्भरसमेत बनाइरहेको छ । उद्योग सञ्चालनमा आएको छोटो समयमै दुनाटपरीको माग बढ्न थालेपछि महिलालाई अहिले भ्याइनभ्याइ छ । महिला दिदीबहिनीहरुलाई आयआर्जनसँग जोड्न र हराउँदै जान थालेको दुना– टपरी बनाउने चलनलाई कायम राख्न उद्योग सञ्चालनमा ल्याइएको उद्योगकी अध्यक्ष चमेली श्रेष्ठले बताउनुभयो । उहाँले चुलोचौकोमा मात्र सिमित महिलाहरु अहिले आत्मनिर्भर बन्दै गएको उल्लेख गर्नुभयो ।
उद्योग सञ्चालनमा आएपछि वनमा खेर गइरहेको सालको पातको सदुपयोग समेत भएको उहाँको भनाई छ । तानसेन नगरपालिका, ग्रामीण आर्थिक विकास संघ (रेडा) र युएनडीपीको सहयोगमा ठूला टपरी बनाउने मेसिन र सानो टपरी बनाउने मेसीन पाएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले डिभिजन वन कार्यालय पाल्पाको सहयोगमा १ लाख बराबरको उद्योगका लागि आवश्यक सामाग्रीहरु समेत अनुदानमा पाएको उल्लेख गर्नुभयो । २०७७ मंसिर १५ गते ४० जना मिलेर समूहमा उद्योग खोलिएको थियो । अहिले यहाँ ५ जना महिना मात्र सक्रिय रुपमा लागिरहेका छन् ।
दुना–टपरी बनाउने चलन हराउँदै जाँदा संस्कृति समेत मेटिन लागेकाले आफुहरु जर्गेना गर्न लागि परेको हरीकला रानाको भनाई छ । कतिपय नयाँ पुस्तामा दुना, टपरी बनाउने चलन थाहा नभएको अर्की महिला मन रानाले बताउनुभयो । यहाँ तयार गरिएका दुना–टपरी पाल्पासहित बाहिर पनि पु¥याउने गरिएको छ । साईज अनुसार दुई रुपैयाँदेखि १० रुपैयाँसम्म दुना–टपरी विक्रि हुँदै आएको छ । सालको पातलाई बाँसको सिन्काले उनेर परम्परागत तरिकाबाट बनाउने दुना तथा टपरीलाई आधुनिक ढंगले उत्पादन गर्न थालिएको हो । धार्मिक कार्यका लागि दुनाटपरी महत्वपूर्ण मानिन्छ । आफ्नै वनपाखामा झरेर खेरजाने पात टिपेर बनाइने भएकाले कच्चापदार्थको समस्या छैन् । गाउँघरका महिलाका लागि यो सजिलो रोजगारी बनेको छ । हिन्दू संस्कारमा दुनाटपरी धेरै प्रयोग हुने भएकाले दुना– टपरीको माग समेत बढ्दो छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts