काठमाडौं । ‘नेवाः संस्कार व उकिया विधि’लाई नेपाली र अंग्रेजी भाषामा सार्वजनिक गरिएको छ । दया फाउण्डेशनले स्वर्गीय बलदेव जुजूले नेपाल भाषामा लेखेको पुस्तक ‘नेवाः संस्कार व उकिया विधि’लाई नेपाली र अंग्रेजी भाषामा तयार पारेर सार्वजनिक गरेको हो । पुस्तकमा नेवारहरूले आफ्नो जीवनमा गर्नुपर्ने विविध संस्कारबारे उल्लेख छ ।
अनुवादित पुस्तकसँगै दया फाउण्डेशनको संस्कृति क्षेत्रमा गरेका विभिन्न गतिविधिबारे प्रकाशित स्मारिका पुस्तक ‘कल्चर थ्रु दी आइज अफ युथ’ पनि ल्याएको छ । उक्त कृतिको लोकार्पण काठमाडौंमा एक विशेष समारोहबीच महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आइतबार गर्नुभएको थियो ।
‘नेवाः संस्कार व उकिया विधि’ पुस्तकको नेपालीमा अनुवाद सञ्जय शर्मा राजोपाध्याय र अंग्रेजी भाषामा अनुवाद आभास धरनन्द राजोपाध्यायले गर्नुभएको हो । यस पुस्तकलाई संस्थाको वेबसाइट दया फाउण्डेशन डट ओआरजी डट एनपीमार्फत डाउनलोड पनि गर्न सकिने जनाइएको छ ।
पुस्तक लोकार्पण कार्यक्रममा नेपालका लागि नर्वेका राजदूत टोरुन द्रमदल, काठमाडौं महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष न्हुच्छे काजी महर्जन, वडा नम्बर १९ का अध्यक्ष राजेशकुमार श्रेष्ठ, वडा नम्बर २० का अध्यक्ष राजेन्द्र मानन्धर, वडा नम्बर २२ का अध्यक्ष चिनी काजी महर्जन, वडा नम्बर २३ का अध्यक्ष मचा राजा महर्जन, त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा जापानका लागि नेपाली पूर्वराजदूत केदारभक्त माथेमालगायतको आथित्यता रहेको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता