म्याग्दी । म्याग्दीको उपल्लो भेगमा आज (आइतबार) परेको असिना पानीले खेतमा पाकेर थन्क्याउने बेला भएको धान र कोदो बाली नष्ट गरेको छ ।
जिल्लाको बेनी नगरपालिका २ ज्यामरुककोटको सानालेख,गौश्वारा, वडा नं ३ भकिम्ली लगाएतका ठाउँमा आज दिउँसो परेको असिना र पानीले खेतका काटेर सुकाएको र काट्न बाँकी रहेको धानबालीमा क्षति पु-याएपछि किसानहरु चिन्तित बनेका बेनी नगरपालिका वडा नं २ का वडासदस्य समेत रहनुभएका चन्द्रकान्त रिजालले बताउनुभयो ।
रिजालका अनुसार असिना सहितको वर्षाले झाँट्नका लागि ठिक्क पारेको धान खेतमा नै झारिदिएको छ । त्यसैगरी नकाटेको धानका बोट ढालेको छ । दाना सबै झरेर पराल मात्र बाँकी रहेको स्थानीय किसान सन्तबहादुर नेपालीले बताउनुभयो ।
भित्र्याउने समयमा पानीले क्षति पुर्याइदिए पछि किसानहरु रुनु न हाँस्नुको अवस्थामा पुगेको बेनी नगरपालिका-२ सानालेखका नारायण शर्माले बताउनुभयो ।
“धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ”, उहाँले भन्नुभयो “एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिएपछि अब वर्षभरि के खाने हो ?”
जिल्लाको ज्यामरुककोट, खवरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायतका ठाउँमा लगाएको क्षति पुगेको किसानले बताएका छन् । पानी परेसँगै जाडो बढेको छ ।
धानबालीमा पोके रोग, वेमौसमी वर्षा र हावाहुरीको पनि प्रकोप
जिल्लाका विभिन्न ठाउँमा गरिएको धान खेतीमा पोके रोगको प्रकोप देखिएकोमा भित्राउने बेलाको धान बेमौसमी वर्षा र हावाहुरीले ढलाएपछि किसानहरु थप चिन्तित बनेका बेनी नगरपालिका २ का किसान नारायण शर्माले बताउनुभयो ।
जिल्लाको बेनी नगरपालिका सहित रघुगंगा,मालिका,मंगला,अन्नपूर्ण र धवलागिरि गाउँपालिकाका धान उत्पादन हुने फाँटहरुमा गवारो र खैरे फड्के किराको प्रकोपका कारण धानको बाला नष्ट हुने र बोट हरियोमै सुक्दै जाने समस्या देखा परेकोमा त्यसमाथि आज भएको भीषण वर्षासँगैको असिनाले थप क्षति पु¥याएको कृषि प्राविधिकहरुले बताएका छन् ।
रैथाने धानको बीउ गौरिया,गुडुरा,ताकमारे,आँगा,जौधान लगाइएका ठाउँमा भन्दा आयातित विकासे विउ रोपिएको धानका फाँटमा रोग र किराको समस्या बढी देखिएको र वर्षा तथा हावाहुरीले पनि आयातित बिउ लगाइएको धान खेतीमा नै बढी क्षति पु-याउने गरेको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो ।
धानबाली भित्र्याउने अन्तिम समयमा देखापरेको रोग र हावाहुरी सहितको वर्षाले यसवर्ष धान उत्पादन घट्न सक्ने बगरफाँटका कृषक जीतबहादुर कार्कीको भनाइ छ ।
रत्नेचौर, बगरफाँट, फापरखेत, सीम लगायतका बढी धान उत्पादन हुने फाँटमा लगाइएको धानबालीमा समेत गबाँरो, राते र खैरे थोप्ले रोगको प्रकोप देखा परेको म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो ।
गवारो र खैरे फड्के रोगको संक्रमणबाट धानबाली जोगाउन सम्बन्धित पालिकाका कृषि प्राविधिक र किसानसँग रोगको नियन्त्रण बारे समन्वय भइरहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
बेमौसमी वर्षा र हावाहुरीका कारण जिल्लाको सयौं हेक्टर क्षेत्रफलमा गरिएको धानबालीमा क्षति पुगेको अनुमान गरिएको छ ।
वर्षा र हावाहुरीका कारण पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएर धान बालीमा क्षति पुगेको स्थानीय तहका कृषि प्राविधिकहरुको भनाइरहेको छ ।
पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएर र पानीले भिजाएर क्षति पुर्याएको हो । जिल्लाको लेकाली क्षेत्रमा पाकेर काट्ने बेलाको धान लगातारको वर्षाले भिजेर खेतमा नै धानको दाना झरेका कारण क्षति पुगेको छ भने तल्लो क्षेत्रमा पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएपछि दाना पोटिलो नहुनुका साथै खेतमा नै दाना झरेकाले उत्पादन कम हुने देखिएको छ ।
जिल्लाका रत्नेचौर, बगरफाँट, फापरखेत, गरापानी, खबरा, सीम, बाबियाचौर, पुलाचौर, अर्मन, कुहूँ, देवीस्थानलगायतका ठाउँमा लगाइएको धानबालीमा क्षति पुगेको स्थानीय कृषकले बताएका छन् ।
थन्क्याउने बेलामा भएको बेमौसमी वर्षा सहितको हावाहुरी रोगका कारण धान बालीमा क्षति पुगेपछि धान उत्पादन घट्ने चिन्ता बढेको कृषक दण्डपाणी रेग्मीले बताउनुभयो ।
म्याग्दीमा गौरिया, जेठो बुढो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ । वार्षिक चार हजार मेट्रिक्टन धान उत्पादन हुने कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । जिल्लाको उच्च पहाडी क्षेत्रमा भिरालो जमिन र सिँचाइ आवश्यक नपर्ने घैया जातको धान खेती हुन्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts