दमक । झापाको पाडाजुँगीमा सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएपछि तनाब भएको छ । आक्रोशित भीडले दुर्घटनामा संलग्न बस जलाएको हो ।
पूर्वबाट पश्चिम जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००१ ख ३४३५ नम्बरको बसले ठक्कर दिएको थियो ।
कमल गाउँपालिका वडा नं. ५ स्थित रबी पेट्रोलपम्प नजिक शनिबार मध्याह्न १२ बजे काँकडभिट्टातर्फ गइरहेको बसले बिर्तामोडतर्फबाट मोरङको केराबारी आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट मोटरसाइकल चालक मोरङको केराबारी–७ बस्ने अन्दाजी वर्ष ५५ का पदम मुकारुङ राईको घटनास्थलमै मृत्यु भएको छ ।
राईको मृत्यु भएपछि आक्रोशित भीडले सो बसमा आगजनी गरेको थियो । दमक नगरपालिकाको दमकलले आगो निभाएको थियो ।
बसको लापरबाही भएको भन्दै स्थानीयले सडक अवरोध गरेर नाराबाजी गर्दै प्रदर्शन गरेपछि बाक्लो प्रहरी परिचालन गरेर भीडलाई प्रहरीले तितरबितर गरेको थियो । दुर्घटनाको विषयमा आवश्यक छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






