काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘अनस्ट्रक्चरर्ड सप्लिमेन्ट्री सर्भिस डाटा’ (युएसएसडी) आधारित भुक्तानी प्रणालीको औचित्य विषयक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । युएसएसडीमा आधारित भुक्तानी प्रणालीमार्फत् इन्टरनेट वा स्मार्टफोनबिना पनि भुक्तानी सेवा उपयोग गर्न सकिनेछ । विभिन्न मुलुकमा उक्त प्रणालीलाई अफलाइन भुक्तानी प्रणालीका रूपमा परिचालन गरी वित्तीय समावेशीकरण एवं विद्युतीय भुक्तानीमा पहुँच अभिवृद्धि गर्न प्रयोग गरिएको छ । उक्त प्रणालीलाई आवश्यक पर्ने मुख्य प्राविधिक पूर्वाधार (युएसएसडी गेटवे) दूरसञ्चार सेवा प्रदायकको स्वामित्वमा रहने भएकाले प्रणालीको सहजीकरण, नियमन तथा सुपरीवेक्षणमा केन्द्रीय बैंक र नेपाल दूरसञ्चार प्राधिकरणको नियामकीय व्यवस्थाबीच समन्वय हुनुपर्ने आवश्यकता देखिएको राष्ट्र बैंकले गरेको अध्ययनले देखाएको छ । नेपालमा युएसएसडीमा आधारित भुक्तानी २०२१ देखि सुरु भएको थियो ।
युएसएसडीमा आधारित भुक्तानी प्रणालीमार्फत् इन्टरनेट वा स्मार्टफोनबिना पनि भुक्तानी सेवा उपयोग गर्न सकिनेछ ।
नमस्ते पेले सन् २०२१ देखि युएसएसडीमा आधारित भुक्तानीको सुरुवात गरेको थियो । नमस्ते पेले स्टार ५०० हृयास्ट्रायक गरेर पिटुपी भुक्तानी, मोबाइल टपअप, युजर रजिस्ट्रेसनको सुविधा दिइरहेको छ । केन्द्रीय बैंकले युएसएसडी प्रयोगको अवसरसँगै चुनौती पनि रहेको जनाएको छ । साइबर जोखिम कम हुने, फोन प्रयोगकर्ता समेट्ने, शहरी क्षेत्र र ग्रामीण क्षेत्रमा रहेका वयस्यकहरूलाई बैंकिङ प्रणालीमा जोड्ने र भुक्तानीको वैकल्पिक माध्यम युएसएसडीको अवसर रहेको छ भने अनलाइन भुक्तानीका कारणले युएसएसडी प्रयोगको व्यवहार फरक पर्ने, महँगो लगानी, प्रयोगकर्ताको सचेतना यसको मुख्य चुनौती रहेको छ ।
केन्द्रीय बैंकद्वारा शुक्रबार जारी प्रतिवेदनमा भनिएको छ, ‘यस प्रणालीलाई आवश्यक पर्ने मुख्य प्राविधिक पूर्वाधार युएसएसडी गेटवे दूरसञ्चार सेवा प्रदायकहरूको स्वामित्वमा रहने भएकाले उक्त प्रणालीको सहजीकरण, नियमन तथा सुपरीवेक्षणमा केन्द्रीय बैंक र नेपाल दूरसञ्चार प्राधिकरणको नियामयकी व्यवस्थाबीच समन्वय हुनुपर्ने आवश्यकता देखिन्छ । उक्त प्रणालीको प्रभावकारी प्रयोग गरिएका मुलुकहरूको विश्लेषण गर्दा ती मुलुकमा एपमा आधारित आधुनिक विद्युतीय भुक्तानीका उपकरणहरू प्रयोगमा आउनुअघि उक्त प्रणालीको सुरुवात भएको थियो ।’ इन्टरनेट नभए पनि फोनको सामान्य फिचर प्रयोग गरी वित्तीय कारोबार गर्न सहयोग गर्ने युएसएसडी सेवा कार्यान्वयन गर्न सरकारका निकायबीच समन्वय आवश्यक हुने बताइएको छ । नेपाल राष्ट्र बैंकको ‘चौथो रणनीतिक योजनाको रणनीति पिलर ४ मा युएसएसडीमा आधारित भुक्तानी प्रणालीका विषयमा अध्ययन गर्ने विषय समेटिएको थियो । सोही योजनाअनुसार र उक्त प्रणालीसम्बन्धी आवश्यक नियामयकी व्यवस्थालाई समेटेर प्रतिवेदन तयार गरिएको राष्ट्र बैंकले जनाएको छ । नेपालका सन्दर्भमा युएसएसडीमा आधारित भुक्तानी प्रणाली सन् २०२१ देखि सुरु भएको हो तर एपमा आधारित भुक्तानी प्रणाली सोभन्दा अगाडि नै सन् २०१० बाट सुरु भएको पाइन्छ ।






