जुम्ला । जुम्लाका किसानलाई यो याममा मार्सीधान काट्न भ्याइनभ्याई भएको छ ।
खेतका फाँटमा पाकेको मार्सी धान काट्न यहाँका किसानलाई अहिले चटारो परेको तातोपानी गाउँपालिका-४ का स्थानीयवासि राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
धान पाकिसकेपछि किसानलाई यतिबेला धान काट्न भ्याइनभ्याइ भएको छ। यहाँका किसानले लगाएकोे प्रायः सबै खेतको धान एकैपटक पाक्छ । जिल्लाका किसानले दसैँ मनाएपछि मार्सी धान काट्न थालेको सिंजा गाउँपालिकाका स्थानीयवासि जयशंकर धितालले बताउनुभयो ।
जुम्लामा चन्दननाथ-१, चन्दननाथ-३, लेकाली-१ र लेकाली-३ मा उन्नत जातका मार्सी धानको खेती हुँदै आएको छ। गत जेठमा रोपिएको धान कात्तिक लागेसँगै घरमा भित्र्याउन थालिएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाको भनाइ छ।पछिल्लो समय मार्सी धानमा मरुवा रोगको प्रकोप बढेसँगै किसानहरू उन्नत जाततर्फ आकर्षित हुन थालेका छन्। जिल्ला कृषि विकास कार्यालयका अनुसार जुम्लामा २ हजार ८५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। मार्सी धानको क्षेत्रफल भने वर्षेनि घट्दै गएको छ। गत वर्ष १हजार ५०० हेक्टरमा रोपिएको मार्सी धान यो वर्ष १हजार २०० हेक्टरमा झरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख देवकोटाले जानकारी दिनुभयो । जिल्लाका गुठिचौर गाउँपालिका, तातोपानी गाउँपालिका,चन्दननाथ नगरपालिका र सिंजा भेगका किसान मार्सीधान काट्न व्यस्त भएको यहाँका स्थानीयवासि बताउँछन् । जुम्लाको सदरमुकाम खलंगामा रहेका कोसेली घरहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाईमा मार्सी चामल पर्ने गरेको रारालिही अर्गानिक पसलका संचालक अर्जुन बुढाले जानकारी दिनुभयो ।
बजारमा मार्सी चामलको माग बढेपछि सुर्खेत, नेपालगञ्ज, काठमाडौं, पोखरा, बुटवल लगायतका सहरमा पठाइने गरेको अर्गानिक पसलका संचालक बुढाको भनाइ छ।जुम्लामा मात्रै पाइने काली मार्सी यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वका कारण जुम्ली मार्सी धानको महत्व अन्तर्राष्ट्रिय जगतसम्म नै पुगेको छ ।
राणा शासनको समयमा केन्द्रमा रहेका शासकका लागि यही मार्सी धानको चामल हुलाकबाट काठमाडौँसम्म पुग्ने गरेको यहाँका जेष्ठ नागरिकहरुको भनाइ छ । करिब सात सय वर्षअघि जुम्लीहरूका देवता चन्दननाथले भारतको कास्मिरबाट मार्सी धानको बीउ ल्याएर लाछुज्युलाको गुरुफोक्टोमा धान खेतीको सुरुवात गरेको विश्वास गरिन्छ । जुम्ली मार्सी विश्वको अग्लो स्थानमा फल्ने धानको रूपमा लिइन्छ । कृषि विज्ञहरुका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिलो हुन्छन् ।
त्यसैले जुम्ला लगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात निकै मिठो र स्वादिलो हुन्छ । यसको चामलको भात खाँदा धेरै बेरसम्म भोक लाग्दैन । स्वादिलो, आडिलो र स्वस्थकर हुन्छ । मार्सी धानको चामल खैरो रङ्गको हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ ।






