म्याग्दी । म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिदै गएको छ ।
म्याग्दीको बेनी नगरपालिका–२ मा पर्ने यो गाउँको ३६ रोपनी जग्गा म्याग्दी नदी कटानका कारण बगरमा परिणत भएको छ । नदी गाउँभएको क्षेत्रबाट बगेको छ तर, स्थानीयले नदी बगेको जग्गाको कर तिरिरहेका छन् ।
बगरफाँटवासीले विसं २०५७ सालदेखि हुँदै नभएको जग्गाको कर तिर्न वाध्य हुनुपरेको हो । २०५७ सालमा म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको अझैसम्म पनि कर तिर्दै आएको स्थानीय ओमबहादुर थापाले बताउनुभयो ।
बगरफाँटस्थित ढलेबगरको विरौटा भन्ने ठाउँमा अहिले म्याग्दी नदी बगिरहेको छ । नदी बगेको ठाउँभन्दा पारिपट्टि बेनी–६ को डम्मरासम्म फैलिएको विरौटाको अहिले नामोनिसान छैन । जग्गा नभए पनि जग्गाधनी पुर्जा कामयमै रहेकोले हुँदै नभएको जग्गा र आफूले उपभोग गर्नै नमिल्ने ठाउँको समेत कर तिर्न बाध्य हुनुपरेको थापाको भनाइ छ । उहाँक अनुसार स्थानीयवासी हीराबहादुर घिमिरे, भक्तबहादुर घिमिरे, ओमबहादुर थापा, कृष्णबहादुर थापालगायत आठ व्यक्तिले मालपोत कर तिर्दै आएका छन् ।
पहिला जग्गा (खेत, बारी र घर) भएको ठाउँमा अहिले नदी बगेको र आफ्नो जग्गा भएको ठाउँ बेनी–६ डम्मरामा नदीको बगरमा परिणत भएको स्थानीयवासी थापाको भनाइ छ । “हाम्रो जग्गा अहिले डम्मरामा पर्छ, नदीको बगरमा परिणत भएको छ”, थापाले भन्नुभयो “जग्गाधनी प्रमाण पुर्जामा हाम्रो नाम छ, वर्षेनी मालपोत कर तिर्दै आएका छौँ, तर हाम्रै जग्गाको नदीजन्य पदार्थ हामीले प्रयोग गर्न पाउँदैनौँ, हामीमाथि अन्याय भएको छ ।”
विसं २०५७ मा सो नदीमा आएको भीषण बाढीले जग्गा बगाएको थियो । यसयताका २१ वर्षसम्म जग्गाधनीले नियमितरूपमा मालपोत कर तिर्दै आएका जिल्ला मालपोत कार्यालय म्याग्दीले जनाएको छ ।
बगरफाँटगाउँ पहिरा र नदी कटानको जोखिममा पर्दै गएको छ । विसं २०५७ देखि म्याग्दी नदीले कटान गर्न सुरू गरेको बगरफाँटमा रहेका २०० घरधुरी वर्षाको समयमा गाउँको शिरानबाट खस्ने पहिरा र गाउँको पुछारमा नदीको कटानबाट वर्षेनी त्रसित हुने गरेका छन् ।
नदीको कटान नियन्त्रणका लागि नदी किनारमा ग्याबियन जाली भर्ने गरिएको भए पनि वर्षामा ढुङ्गा र लेदोसहित उर्लिएर आउने बाढी नियन्त्रण हुन नसकेको स्थानीयवासीले बताएका छन् । “गाउँ जोखिममा छ, शिरानबाट खस्ने पहिरा र पुछारमा बग्ने नदीका कारण वर्षामा कहिल्यै ढुक्कसँग सुत्न सकिँदैन, कतिबेला के हुन्छ भन्ने त्रास रहिरहन्छ’”, नदी कटानबाट गाउँलाई जोगाउन वर्षेनी तटबन्धनको पहल गर्दै आउनुभएका स्थानीय समाजसेवी नारायण कार्कीले बताउनुभयो ।
नदीको कटानका कारण बगरफाँटको १५० रोपनीभन्दा बढी खेतीयोग्य जमीन क्षय भइसकेको र नदी कटानको समस्या अझै बढ्दै गएको स्थानीय वुद्धिजीवी तथा म्याग्दी नदी कटान नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्षसमेत रहनुभएका कार्कीले जानकारी दिनुभयो ।
बेनी–३ को तारोखेतबाट बगेर बगरफाँटको शिरानमा अवस्थित पहरो हुँदै आउने पहिरो नियन्त्रण सम्भव नभए पनि नदी कटान नियन्त्रण गर्न सके केही मात्रामा गाउँ सुरक्षित रहने उहाँको भनाइ छ ।
गाउँको शिरानमा रहेको विशाल पहिरो नियन्त्रणका लागि स्थानीय तहको प्रयासले मात्र नहुने भएकाले प्रदेश वा सङ्घबाटै ठूलो योजना आवश्यक पर्ने देखिएको छ । तर समस्या समाधान नभएकाले यसले सदरमुकाम बेनीबजारसमेत प्रभावित हुने अनुमान गरिएको छ ।
पहिरो र नदी कटानका कारण सुन्दरबस्ती र कृषि उपजका लागि उर्वर फाँट रहेको बगरफाँट साँघुरिँदै गएको छ । आप्रे र उडाइनो छहराको छेउबाट खस्ने पहिराका कारण गाउँको शिरानमा रहेको जङ्गल र बस्ती मासिने खतरा बढेको जनाइएको छ । पहिराले गाउँ कुरूप बन्दै गएको र सात घरपरिवार बसाइँ सरिसकेको स्थानीयले जानकारी दिएका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts