म्याग्दी । प्राकृतिक चिकित्सालयको रुपमा ख्याती कमाएको म्याग्दीको तातोपानी कुण्डमा दसैंपछि दैनिक दुईसय जना विरामी तथा सर्वसाधारणहरुले डुबेर उपचार सेवा लिइरहेका छन् ।
दसैं सकिएसँगै बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक तातोपानी कुण्डमा उपचारका लागि आउने बिरामीहरुको चाप बढेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काले बताउनुभयो । “असोज २९ गतेदेखि तातोपानी कुण्डमा चाप बढेको छ । दैनिक दुई सयजना बिरामी तथा पर्यटकहरु कुण्डमा डुव्नका लागि आउने गर्नुभएको छ” अध्यक्ष खड्काले भन्नुभयो ।
अध्यक्ष खड्काका अनुसार बिरामीको चाप बढेपछि कात्तिक १ गते (आज) देखि दैनिक तीन घण्टाका दरले पुरुष र महिलालाईसमूह बनाएर स्नान गर्ने व्यवस्था मिलाएको छ । दैनिक दुई सयको हाराहारीमा रहेकोमा यो संख्या कात्तिक पहिलो सातापछि तीन सयसम्म पुग्ने अनुमान सहित थप ब्यवस्थापन समेत गरिने अध्यक्ष खड्काले बताउनुभयो ।
तातोपानी सङ्कलन गरिएको तलाउमा एकपटकमा तीन सय ५० देखि चार सयले स्नान गर्न सक्ने क्षमता छ । छोटो समयका लागि स्नान गर्नेलाई मुख्य कुण्ड बाहिर छुट्टै पोखरी बनाइएको छ । त्यहाँ स्नान गर्न एकपटकका लागि प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क तोकिएको छ ।
मूलबाट नै बिरेनुनको गन्ध सहितको ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको पानी निस्कने प्राकृतिक तातोपानीका कुण्डमा डुबेपछि बाथ, ग्यास्ट्रिक, गानोगोला, ढाड दुख्ने, घुँडा दुख्ने, स्किन एलर्जी, यात्रामा हुने घाउ खटिरा,सडके मर्केको, चर्मरोगदेखि लिएर प्यारालाइसिस जस्ता रोग निको हुने गरेको कुण्ड व्यवस्थापन समितिको दाबी छ ।
देशका विभिन्न नाम चलेका अस्पतालमा उपचार गराएर निको नभएका बिरामीसमेत पछिल्लो समय तातोपानीमा आउन थालेका छन् । कुण्डमा हरेक सोमबार हुने सन्ध्याकालिन आरतीले समेत बिरामीलाई आर्कषित गरेको छ ।
तातोपानी कुण्डमा स्नान गर्नका लागि नेपालको अधिकांश जिल्लासहित छिमेकी देश भारत र तेस्रो मुलुकहरु जापान, कोरिया, युरोपियनलगायत देशहरुबाट भ्रमणको क्रममा आएर पर्यटकहरुले पनि नुहाउने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले बताउनुभयो ।
पछिल्लो समय कुण्डमा बिरामीलाई लक्षित गर्दै विभिन्न किसिमका भौतिक पूर्वाधारहरु विस्तार गरिएको छ । तातोपानी कुण्ड व्यवस्थापन समितिले कुण्डमा स्नान गर्नकै लागि भनेर सहज व्यवस्थापन मिलाएको छ ।
तातोपानीको मुख्य पोखरीमा स्नान गर्नका लागि प्रतिव्यक्ति तीनसय ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने बाहिरको पोखरीमा प्रतिव्यक्ति दुईसय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । तीनसय ५० रुपैयाँको टिकट लिएका बिरामीहरुले पालोअनुसार एक हप्तासम्म नुहाउन पाउँछन् भने बाहिरको पोखरीमा एकसय रुपैयाँको टिकटले दुई घण्टा नुहाउन पाइन्छ ।
तातोपानी कुण्डको आम्दानी कुण्ड परिसरमा संरचना निर्माण, कर्मचारी व्यवस्थापन, स्थानीय सरस्वती माविका पाँचजना शिक्षकको तलब÷भत्तामा लगानी र बेनी नगरपालिकालाई २५ प्रतिशत दिने गरिएको छ । तातोपानी कुण्डमा नुहाउन शुक्रवार, शनिवार र विदाको दिनमा धेरै भीड लाग्ने गर्दछ ।
कुण्डमा एकपटक आएर डुबेका बिरामीहरु निको भएपछि पुनः फर्किएर पटकपटक आउने गरेका छन् । तातोपानी कुण्डमा वार्षिक झण्डै २० हजार भन्दाबढी बिरामीहरु स्नान गर्न आउने गरेको तथ्याङ्क रहेको छ । २०४२ सालमा फेला पारिएको तातोपानीको मुहानलाई स्थानीयवासिन्दाले संरक्षणसहित व्यवस्थापनको साथै कुण्डको रुप दिएर प्रचारप्रसार गरेपछि अहिले नेपालकै प्राकृतिक उपचार केन्द्रका रुपमा स्थापित भएको हो ।
नेपालकै प्रसिद्ध पर्यटकीयस्थल राउन्ड अन्नपूर्णमा पद यात्रा गर्ने पर्यटक र विभिन्न अस्पतालहरुमा उपचार गराएर रोग निको नभएका दीर्घरोगीहरुका लागि आजभोलि म्याग्दी जिल्लाका तातोपानी कुण्डहरु मनोरञ्जन र प्राकृतिक उपचारका आकर्षक स्थल बन्दै गएका तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव केसीले बताउनुभयो ।
म्याग्दीका विभिन्न ठाउँमा गरी १४ ओटा तातोपानीका कुण्डहरु रहेका छन् । सिंगा तातोपानी विरामीहरुको उपचारका लागि प्राकृतिक चिकित्सालयको नामले चिनिन्छ भने अरु ठाउँका तातोपानीहरु पर्यटक र स्थानीयवासीहरुको थकान मेटाउने र चिसो भगाउने स्थलको रुपमा चिनिन्छन् ।
उत्तरी म्याग्दीको भुरुङ तातोपानी, दर्मिजाको तातोपानी कुण्डलगायत जिल्लाका १४ ठाउँमा रहेका तातोपानी कुण्डहरुमा बाह्य र आन्तरिक पर्यटकको भीड बढ्दै गएपछि कुण्डहरुलाई व्यवस्थित बनाइएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा