रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी संगठनलाई थप बलियो बनाउन बदलिँदो परिवेश अनुसार रुपान्तरण गर्नुपर्ने बताउनु भएको छ ।
६९ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले बढ्दो अपराधलाई न्यूनिकरण गर्न समय अनुसार प्रहरी संगठनलाई प्रविधि युक्त बनाउदै रुपान्तरणको आवश्यकता रहेको औंल्याउनु भएको हो ।
‘अपराधहरु बढेर गएका छन् । चुनौतीहरु थपिएका छन् । हाम्रो प्रहरी संगठन बदलिदो परिवेश अनुसार आफुलाई पनि रुपान्तरण गरेर जनहितको रक्षाको निम्ति केन्द्रित गरेर अघि बढ्नुपर्ने छ’, मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘प्रहरीले मुलुकमा शान्ति सुरक्षा कायम गर्न, बढदो अपराधलाई न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका खेलेको छ । बदलिदो परिवेश अनुसार समाजमा हुने अपराध न्यूनिकरण गर्न आधुनिकीकरण गरेर अघि बढ्न जरुरी छ ।’
अपराध अनुसन्धानको क्षेत्रमा प्रहरीको योगदानका कारण लुम्बिनी प्रदेशको शिर उचो बनेको समेत मुख्यमन्त्री आचार्यले बताउनु भयो । ‘लुम्बिनी उत्कृष्ट प्रदेश बन्न सफल भएको छ । प्रदेशको शिर उचो बनाउन यहाँहरुले गरेको योगदानको उच्च करद गर्न चाहन्छु’उहाँले भन्नुभयो,‘अमर शहिदको योगदान र बलिदानको स्मरण गर्न चाहन्छु । अमर प्रहरीको योगदान र परिवार प्रति गर्नुपर्ने दायित्व राज्यले सधैं निर्वाह गर्ने छ ।’ कार्यक्रममा मुख्यमन्त्री आचार्यले अमर प्रहरीको स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
लुम्बिनी प्रदेशका प्रमुख सचिव महादेव पन्थले अपराध अनुसन्धान, शान्ती सुरक्षा कायम गर्न, विपद् व्यवस्थापनलगायतका काममा प्रहरीले सफलता प्राप्त गरेको बताउनु भयो । अपराधको प्रकृति फेरिँदा सूचना प्रविधिको विकासले प्रहरीमाथि चुनौती थपिएको भन्दै अनुसन्धानको कामलाई आधुनिक प्रविधि संग जोड्न जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरीलाई सम्मान गरिएको छ । साथै प्रहरी स्थापना दिवसको अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगीतामा विजय हुनेहरुलाई समेत पुरस्कृत गरिएको थियो ।
प्रहरी तालिम केन्द्रका प्रहरी बरिष्ठ उपरिक्षक हिमालयकुमार श्रेष्ठको अध्यक्षता एवम् मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका बरिष्ठ उपरिक्षक माधवप्रसाद श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो ।






