खरबारी फाँडेर केरा खेती : वार्षिक रु दुई करोड बढी आम्दानी

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता

फाइल तस्बिर

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । पूर्वउत्तर मोहोडा गरेको भिरालो जमिन । शिरानमा ऐतिहासिक ज्यामरुककोट र पुछारमा कलकल गर्दै बगेको कालीगण्डी नदी । बिचमा रहेको म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा पर्ने खबरा गाउँ । केही वर्ष अघिसम्म पाखोबारी र सिरुघारीले ढाकिने गरेको यो गाउँ अहिले केराको हरियालीले सिंगारिएको छ ।

करिव एकसय ५० घरपरिवारको वस्ती रहेको यो गाउँको मुख्य आम्दानी अहिले केरा खेती बनेको छ । यहाँ बसोबास गर्ने प्रत्येक घरपरिवारले पाखो बारी,खरबारी र अन्न उत्पादन हुने जग्गामा समेत व्यवसायिक रुपमा केरा खेती गरेका स्थानीय कृषक नारायण सापकोटाले जानकारी दिनुभयो । सापकोटका अनुसार गाउँभरी केराखेती गरिएको छ । केरा विक्री गरेर गाउँमा वार्षिक रु दुई करोड बढी रकम भित्रिने गरेको छ ।

खबरामा पहिलो पटक वि सं २०५७ सालमा केराखेतीको सुरुवात गरिएको स्थानीय जगत घिमिरेले जानकारी दिनुभयो । आजभन्दा २७ वर्ष पहिले खबराका मानबहादुर थापाले पोखराबाट हजारी जातको केराका ३ वटा विरुवा ल्याएर खबरामा लगाउनुभएको र ती तीनवटा बोटमा राम्रोेसँग केरा फलेपछि स्थानीयले व्यवसायिक केरा खेती सुरु गरेका म्याग्दीकै अगुवा कृषक समेत रहनुभएका खबराका चन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

“खबरामा केरा खेतीको सुरुवात भएको २७ वर्ष भयो । तीनवटा केराका विरुवा लगाएर सुरु भएको केरा खेती अहिले पाँच सय रोपनी भन्दा बढी जग्गामा फैलिएको छ । गाउँको नाम नै परिवर्तन भएर ‘खबरा’ बाट ‘केरा गाउँ’ भनेर चिनिन थालेको छ ।”

खबराका तेजेन्द्र बहादुर कार्कीले खेर गएको २३ रोपनी बाँझो जमिनमा केरा खेती गर्नुभएको छ । बषौंदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउने अभियानमा लागेका कृषक कार्कीले भिरालो र खोल्साखोल्सीको झाडी फँडानी गरी धमाधम केरा लगाउनु हुन्छ । कृषक कार्कीले केरा बिक्री गरेर वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको बताउनुभयो ।

ADVERTISEMENT

“भिरालो जमिनमा मल, जल नअडिने, बाली लगाउन समस्या भएर बारीहरू बाँझै छाड्ने गरेका थियौँ तर, केही वर्षयता सोही जमिनलाई उपयोग गरेर केरा खेती सुरु गरेपछि अहिले गाउँ नै केराखेतीले भरिएको छ । केराको हरियालीले गाउँ आकर्षक देखिएको छ भने स्थानीयको आम्दानीको मुख्य स्रोत पनि केरा खेती नै बनेको छ” कृषक कार्कीले भन्नुभयो ।

स्थानीय यामबहादुर घिमिरे, जगत घिमिरे, प्रेम कुँवर, चन्द्रबहादुर कार्की, शोभित शर्मा,तेजेन्द्र कार्की लगायत २० जना कृषकले बगैँचा नै बनाएर व्यावसायिक केराखेती गर्नुभएको छ ।

केरा खेती फस्टाउँदै मुख्य आम्दानीको स्रोत बन्न थालेपछि स्थानीयले अन्य अन्नबालीलाई विस्तार घटाउँदै केरा खेतीमै केन्द्रित हुन थालेको कृषक कार्कीको भनाई छ । “बाँझो जमिनमा केरा नलगाएको घर नै छैन,‘केरा खेतीमा समुदाय आकर्षित हुनुको मुख्य कारण बजार र आम्दानी हो”अर्का कृषक जगतबहादुर घिमिरेले भन्नुभयो ।

खबराका किसानले केरा विक्री गरेर वार्षिक रुपमा न्यूनतम रु ३० हजारदेखि रु १० लाखम्म आम्दानी गर्दै आएका बेनी नगरपालिका वडा नं २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । अनुकूल हावापानी, उपयुक्त वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ यहाँका किसानहरुको आकर्षण बढेको उहाँको भनाइ रहेको छ । खवरामा बाइस नङ्ग्रे, मालढुंगे, ध्रुसे, चिनीलगायतका प्रजातिका केरा खेती हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *