काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पैसाको सदुपयोग गर्न सक्नुपर्ने बताउनुभएको छ ।
बुधवार साँझ काठमाडौंको बुढानीलकण्ठस्थित होटल होलिडे इन रिसोर्टको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पैसाले उद्यमशिलता, नयाँ सोच तयार गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले नयाँ ठाउँमा लगानी गर्नसके मात्रै पैसाको सही सदुपयोग हुने बताउनु भयो । उहाँले पैसा हुनेले गतिलो काम गर्छन् भन्न नसकिने बताउनु भयो । उहाँले पैसा कम भएपनि गतिलो काम गर्न सकिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले पैसाको सदुपयोग गर्न सक्नुपर्छ । पैसाले एउटा उद्यमशिलता, नयाँ सोच तयार गर्नुपर्छ । नयाँ ठाउँमा लगानी गर्नुपर्छ । पैसा मात्रै भएर राम्रो काम गरिन्छ भन्ने छैन । पैसा हुने कतिपय मानिस क्यासिनोतिर गएर टाट पल्टिएर फर्किन्छन् । पैसा छ गतिलो काम भइहाल्छ भन्न सकिँदैन । तर पैसा कम भएपनि गतिलो काम गर्न सकिन्छ ।’
कार्यक्रममा नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले होलिडे इन रिसोर्ट धेरै नै सुन्दर ठाउँमा बनेको बताउनु भयो । उहाँले यसको प्रचारप्रसार गर्नसके पर्यटकहरु धेरै बढ्ने बताउनु भयो । उहाँले होटल होलिडे इन रिसोर्टबाट काठमाडौंका सबै ठाउँ देखिने र रातिको दृश्यावलोकन सुन्दर देखिने भएकाले आकर्षक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अत्यन्तै सुन्दर ठाउँमा होलिडे इन रिसोर्ट बनाउनुभएको छ । यसका लागि तपाईंलाई धेरै धेरै धन्यवाद । मलाई विश्वास छ, यसले अवश्य नै अझ बढी प्रचारप्रसार गर्नेछ । यहाँबाट सम्पूर्ण काठमाडौं देखिने भएकाले यसले रातिको दृश्यावलोकन गर्ने राम्रो सुविधान मिल्नेछ ।’
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले विविधतापूर्ण प्रकृति र संस्कृतिलाई दुनियाँभर फिँजाउन आवश्यक रहेको बताउनु भयो । उहाँले देशभित्र आन्तरिक पर्यटक बढाउन, देश बाहिरका पर्यटक भित्र्याउन, एक पटक पनि नआएका मानिसहरुलाई एक पटक जाउँ भन्नका लागि र एक पटक आइसकेकोलाई पटक पटक नेपाल जाउँ भन्नका लागि अतिथि देवो भवअनुसारको संस्कारअनुसारको व्यवहार देखाउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले यो विविधतापूर्ण प्रकृति र संस्कृतिलाई दुनियाँभर फिँजाउन, देशभित्र आन्तरिक पर्यटक बढाउन, देश बाहिरका पर्यटक भित्र्याउन, एक पटक पनि नआएका मानिसहरुलाई एक पटक जाउँ भन्नका लागि र एक पटक आइसकेकोलाई पटक पटक नेपाल जाउँ भन्नका लागि हामीले अतिथि देवो भवअनुसारको संस्कारअनुसारको व्यवहार देखाउनुपर्नेछ ।’
मन्त्री पाण्डेले नेपालको आकाश सुरक्षित र सुचारु छ भन्ने देखाउनुपर्ने बताउनु भयो ।






