कालीकोट । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आउन अझै बाँकी छ । तर, नेपाली कांग्रेसमा आगामी नेतृत्वको लागि चर्चा परिचर्चा सुरु हुन थालिसकेको छ । सभापति पदको लागि डा। शेखर कोइराला, पूर्ण बहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शशांक कोइराला, गगन थापा लगायतका नेताहरुले तयारी थालेका छन् ।
यसैगरी पदाधिकारीमा नेपाली कांग्रेसका युवा नेताहरुले पनि आन्तरिक तयारी तिव्र पारेका छन्। नेपाली कांग्रेसको महामन्त्री पदमा युवा नेता भूपेन्द्रजंग शाहीले उम्मेदवारी दिने भित्री तयारी गरेको बुझिएको छ । नेविसंघको केन्द्रीय उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय महामन्त्री, २०७० सालमा संविधान सभा सद्स्यको उम्मेदवार, २०७४ सालमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार भइसक्नुभएका शाही अघिल्लो १४ औँ महाधिवेशनमा कर्णाली प्रदेशको सभापतिको प्रत्यासी बन्नुभएको थियो ।
संगठनको काममा सधैं खटिरहने र केही न केही नौलो कार्य गरिरहने शाही जुझारु, उर्जाशिल, सिर्जनशील र क्रियाशिल नेतामा पर्नुहुन्छ। आफ्नो कुरा स्पष्टसँग राख्ने शाही पार्टीका गलत निर्णयमा नडराइ नेताहरुलाई कडा प्रश्न गर्ने शसक्त युवा नेता समेत हुनुहुन्छ ।
उहाँले पछिल्लो समय निर्वाचनको बेला माओवादीसँग गठबन्धन गर्नुहुन्न, एक्लै चुनाव लड्नुपर्छ भनेर खरो आवाज उठाउनु भएको थियो । साथै उहाँले पार्टीमा निश्चित मान्छेहरुको हालीमुहाली हुनु र सधैं एउटै मान्छेले मात्रै अवसर पाउनु अन्याय भएको भन्दै सबैलाई न्याय र समान अवसर हुनुपर्ने आवाज पनि उठाइरहनु हुन्छ ।
पार्टी प्रणालीमा चल्नुपर्ने, नातावादको अन्त्य हुनुपर्ने, सत्ता केन्द्रीत पार्टी होइन जनता केन्द्रीत पार्टी बनाउन पर्ने, पैसा र शक्तिको भरमा होइन नैतिक मुल्य र मान्यताको आधारमा विचार सिद्धान्तको राजनीति हुनुपर्ने उहाँले विचार राख्दै आउनुभएको छ ।
नेताको वरिपरी घुमेर भजन गाउने भन्दा पनि नेताहरुको गल्ती र कमजोरीमा औंला उठाएर खबरदारी गर्ने हिम्मत राख्ने शाही स्पष्ट वक्ताको रुपमा चिनिनुहुन्छ । उहाँले पार्टी सुधार र रुपान्तरणको लागि कडा रुपमा चुनौति दिएका भाषणहरु निकै भाइरल पनि हुँदै आएका छन् । उहाँ राजनीति सँगै साहित्य र सामाजिक सेवामा पनि सक्रिय रहँदै आउनुभएको छ ।
कर्णालीको विकट कालीकोटमा जन्मिएर कठिन संघर्षबाट केन्द्रीय राजनीतिमा स्थापित हुन लागि पर्नुभएका शाही पछिल्लो एक वर्षमा युवा धेरै कार्यक्रम र अभियान चलाइसक्नु भएको छ । शाही अघिल्लो वर्ष २०८० जेठ ११ गतेबाट नेपाली कांग्रेस रुपान्तरण अभियान सञ्चालन गरेर मेचीदेखि महाकालीसम्म संगठन निर्माणको लागि गाउँ जिल्लासम्म पुग्नुभएको थियो ।
शाही कर्णालीमा २०८० चैत्र २ गतेबाट संगठन सुदृढ यात्रा ‘सल्यान कपुरकोटदेखि हुम्ला सिमिकोट’ सम्म कठिन भूगोलमा कर्णालीका गाउँबस्ती पुगेर कांग्रेसमा नयाँ जागरण र नयाँ उर्जा नयाँ भरोसा जगाउने काम गर्नुभयो ।
नेपाली कांग्रेसमा आगामी महाधिवेशनको चर्चा सुरु भइराख्दा कांग्रेसको महाधिवेशनबाट पार्टीमा आमूल रुपान्तरणको खाँचो रहेको युवा नेता शाही बताउनुहुन्छ । पार्टी अब पुरानो लय, गतिहिन, परम्परावादी, कामचलाउ पारा र यथास्थितिमा चल्न सक्दैन । अब पार्टी भित्रको गुटबन्दी, नातावाद, भागबन्डा, व्यक्तिगत स्वार्थ, पदिय स्वार्थ र चाकडीबादको राजनीति अन्त्य हुनुपर्छ’ उहाँले भन्नुभयो ।
शाहीले अहिलेको युग सूचना र प्रविधिको युग भएकोले पार्टीका नेताहरुले आम कार्यकर्ताको भावना, जनताको चाहना, युगको माग र समयको चेत लाई गम्भिर ढङगले बुझ्नुपर्ने बताउनुभयो । ‘नेपाली कांग्रेसलाई मजबुत र शसक्त पार्टी बनाउन अब कांग्रेसमा संगठन सुद्दिकरण र सुदृढीकरणको अभियान चलाउनुपर्छ। पार्टीमा अब व्यक्ति होइन बिचार, पद होइन पद्दति, नेता होइन नितीको मुल मर्म र आदर्शमा आधारित मुल्य मान्यता को राजनिति स्थापित हुन अति आवश्यक भइसकेको छ । नेपाली कांग्रेसलाई अब समयको गति सँग दौडिने जनताको मनमा बसिरहने गतिशील, कर्मशिल र उर्जाशिल पार्टि बनाउन सबै कांग्रेसीहरु एकताबद्ध भएर लाग्नु पर्छ’ उहाँले भन्नुभयो ।
शाहीले आफू विगत लामो समय भातृ संस्थाको केन्द्रीय मुख्य जिम्मेवारीमा बसेर धेरै समय काम गरिसकेकोले अब आफ्नो ध्यान पार्टीको मूल राजनीतिमा नै केन्द्रीत रहेको बताउनुभएक छ । नेपाली कांग्रेसको तर्फबाट आफू दुईपटक सांसदको उम्मेदवार भइसकेको नाताले पनि नेपाली कांग्रेसको संगठनलाई गाउँस्तरसम्म पुगेर वडा, टोलसम्म संगठन निर्माण र बिस्तार गर्नु आफ्नो कर्तव्य र जिम्मेवारी रहेको शाहीले बताउनुभयो ।






