झापा । उत्खनन थालेको चार दिनपछि प्रहरीले झापा बाह्रदशी गाउँपालिका ५ फूलबारीका २२ वर्षीय राजेश ठाकुर (हजाम)को शव बिरिङ खोला किनारमा फेला पारेको छ ।
हत्या गरी गाडेको सुराक पाएपछि उत्खननमा जुटेको प्रहरीले बाह्रदशी ७ स्थित बिरिङखोलाको बगरमा ठाकुरको कंकाल फेला पारेको हो । बिरिङखोला बगरमा भेटिएको कंकालको कानुनी प्रक्रिया पूरा गर्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताउनुभयो ।
प्रहरीले चार दिनदेखि स्काभेटर प्रयोग गरेर ठाकुरको शव खोजिरहेको थियो । प्रहरीले बिहीबार र शुक्रबार हत्या आरोपित को घर आँगनमा र बिरिङखोला बगरमा उत्खनन गरेको थियोे । तर प्रहरीलाई सफलता मिलेको थिएन ।
गत जेठ १५ गते राजेशकी हत्या गरी वैदेशिक रोजगारीमा दुबई गएका गणेश राजवंशीसँगको भिडियोकल र अनुसन्धानबाट शव गाडेको स्थान पत्ता लगाई उत्खनन् गर्दा कंकाल फेला परेको डीएसपी विष्टले जानकारी दिनुभयो ।
राजेश जेठ १५ देखि बेपत्ता भएका थिए । गणेश राजवंशी र मुना मेचे राजवंशीसहितले हत्या गरेर राजेशको शव गाडेको सुराक उनीहरूका भतिजा नरेशले दिएका थिए । नरेशले काकी मुना र काका गणेशले राजेशको हत्या गरेर गाडेको सुराक चुहाएपछि प्रहरीले उनीहरूको घर आँगनमा उत्खनन गरेको थियोे । तर, शव भेटिएको थिएन ।
उत्खननका क्रममा नुन पोको पार्ने प्लास्टिक राजेशको कपडा र हत्यामा प्रयोग गरिएको दाउ (बाम्फोक) बरामद भएको थियो । राजेशको शव गाड्ने काममा आफूले पनि सहयोग गरेको नरेशले स्वीकार गरेपछि प्रहरी थप दसीप्रमाण नजिक पुगेको थियोे ।
साविक डाँगीबारी ३ को लाफादीघाट पश्चिमतर्फ खोला किनारमा अन्दाजी ५ फुट गहिरो खाडल खनेर राजेशको शव पुरिएको अवस्थामा प्रहरीले उत्खनन गर्दा भेटेको बाह्रदशी गाउँपालिका ७ का वडाध्यक्ष मित्रप्रसाद भट्टराईले बताउनुभयो ।
पानी बग्ने भागभन्दा करिब ७ मिटर पर शव पुरिएको अवस्थामा प्रहरीले फेला पारेको हो । दुई दिन लगाएर गरिएको उत्खनन्को क्रममा शव फेला परेको हो । शुक्रबार प्रहरीले विरिङखोलाको दुई ठाउँमा उत्खनन गरेको थियो ।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा बाह्रदशी ७ का ३१ वर्षीय समीर राजवंशी, २१ वर्षीय आशिष थापा, २० वर्षीया मुना मेचे (राजवंशी) र १६ वर्षीय नरेश राजवंशी पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुको बयानका आधारमा प्रहरीले आइतबार विरिङ खोलामा दुईवटा स्काभेटरले उत्खनन गरेको हो ।
पक्राउ परेका मुना र नरेश देवर भाउजू हुन् । समीर मुनाका जेठाजु हुन् । घटनामा संलग्न भएको भनिएका गणेश वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा छन् । घटना गराएर उनी विदेश गएको अनुसन्धान नजिक प्रहरी पुगेको छ ।
मुनाका श्रीमान अभय राजवंशी पहिलादेखि नै वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा छन् । दुवईमा रहेका गणेशलाई पनि झिकाउने पहल भइरहेको डीएसपी विष्टले बताउनुभयो ।
जेठ १५ गते बाह्रदशी ५ का भीम हजामको छोरा हराएको भन्दै जेठ १७ गते प्रहरीमा निवेदन परेको थियो । त्यही बेलादेखि प्रहरीले सुराक गरिरहेको थियो । होटलमा भएको कुराकानीमा प्रहरीले सुराक पाएको थियोे । यद्यपि, प्रहरीले हत्याको कारण खुलाएको छैन ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts