चितवन । चितवनको पर्यटकीय नगरी सौराहाको सफारी पर्यटन जोगाउन नसके अस्थित्व संकटमा पर्ने भन्दै व्यवसायीहरुले चिन्ता व्यक्त गर्नुभएको छ । ५० बर्ष लामो इतिहास बोकेको सफारी पर्यटनको महत्व पछिल्लो समय घट्दै गएको भन्दै व्यावसायीहरुले सौराहाको अस्थित्व जोगाउन सफारी पर्यटनलाई जीवित राख्नु पर्नेमा जोड दिए ।
रेष्टुरेन्ट एण्ड बार एशोसियसन(रेवान) सौराहाको १८औं बार्षिक साधारण सभामा बोल्दै उहाँहरुले चितवनको पर्यटन विकासमा विशिष्ट योगदान गरेको सफारी पर्यटनलाई जोगाउन दीर्घकालिन कार्ययोजना आवश्यक रहेको बताउनुभएको थियो । व्यवसायीको एकता, सफारी पर्यटनको मुल्य र मान्याता स्थापित गर्न सकेमात्र चितवनको पर्यटन सौराहामा केन्द्रीत हुने उहाँहरुको भनाई छ ।
रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपालका केन्द्रीय अध्यक्ष संघर्ष विष्टले अनावश्यक कोलाहाल, ध्वनी प्रदुर्षण र कंक्रिट भवनका कारण सफारी पर्यटनमा आधात पुगेको भन्दै सफारी पर्यटनको गरिमा जोगाउन व्यवसायी चनाखो हुनुपर्ने बेला आएको बताउनुभयो । चितवनको पर्यटन भनेपछि सौराहालाई चिनिन्छ उहाँले भन्नुभयो तर पछिल्लो समय सौराहाको पर्यटन अन्यत्र विकेन्द्रीत हुँदैछ, यो चिन्ताको विषय हो । उहाँले पर्यटन उद्योगमा गरिएको लगानी संरक्षणको लागि सौराहाको सफारी पर्यटन जोगाउनु पर्ने बताउनुभयो । सौराहा आउने पर्यटकले शान्त वातावरण चाहेको हुन्छ उहाँले भन्नुभयो त्यो हामीले दिन सकेनौं भने सेवामा कमजोरी देखिन्छ ।
क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष गंगा गिरीले बाढी र पहिरोका कारण चितवनको पर्यटनमा असर परेको बताउनभयो । सौराहामा सिजन सुरु हुनै लाग्दा देश बाढी र पहिरोको चपेटामा परेको भन्दै उहाँले बाढी र पहिरोपछि सिर्जित समस्या तत्काल सामधान गर्न सरकारलाई आग्रह गर्नुभयो । पर्यटन क्षेत्रलाई उद्योगको मान्याता दिन सरकारले आनाकानी गरिरहेको भन्दै उहाँले सौराहा नाम मात्रको तेस्रो पर्यटकीय गन्तव्यको रुपमा चित्रण हुन थालेको बताउनुभयो । सौराहा नाम मात्रको तेस्रो पर्यटकीय गन्तव्य भयो उहाँले भन्नुभयो सरकारी तबरबाट निर्माण हुने पूर्वाधार अझै निर्माण हुन सकेनन् । सौराहाको पर्यटन हचुवाको भरमा चलेको भन्दै संघका अध्यक्ष गिरीले यहाँको पर्यटन विकासमा तीनै तहको नजर पुग्न नसकेको बताउनुभयो ।
रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीले सौराहामा पर्यटक आर्र्कषित गर्न छुट व्याकेजका कार्यक्रम सहित परम्परागत खानाका परिकारलाई स्थान दिनुपर्ने बताउनुभयो । राज्यको दाहोरो कर नीतिका कारण व्यवसायिक क्षेत्रलेमा असर परेको भन्दै उहाँले भूकम्प, कोरोना र आर्थिक मन्दीको चपेटामा परेका व्यवसायीलाई राज्यले सहुलीयत दिन नसकेको जिकिर गर्नुभयो । उहाँले सौराहालाई माथि उठाउने विषयमा व्यवसायीहरुको एकता, प्रयास र लगानी आवश्यक रहेको बताउनुभयो ।
रेवान सौराहाका पूर्व अध्यक्ष पुरुषोत्तम श्रेष्ठले सौराहाको विकासको लागि सरकारी सहयोग शुन्य रहेको बताउनुभयो । सौराहाको पर्यटनलाई सरकारले सहयोग गरेन उहाँले भन्नुभयो सौराहा ५० बर्ष देखि हचुवाको भरमा चलेको छ । सरकारले व्यवसायीलाई सहुलीयत दिनुको सट्टा कर माथि कर थुपारेर सास्ती दिएको उहाँले आरोप लगाउनुभयो । रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले सौराहाको सफारी पर्यटन जोगाउन सकिने थुप्रै सम्भावना अझै जीवित रहेको बताउनुभयो । सौराहा अहिले सम्म विग्रेको छैन उहाँले भन्नुभयो यसको गरिमा जोगाउन व्यवसायीको इच्छाशक्ति आवश्यक छ । सौराहामा १२५ वटा होटल, करिब १०० वटा रेष्टुरेन्ट छन् । यहाँ बार्षिक तीन लाख पर्यटन आउने गरेका छन् ।






