झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नेतृ स्व. शैलजा आचार्यको स्मरण गर्दै सामाजिक सञ्जालमा लामो पोष्ट गर्नु भएको छ । नेपालले बंगलादेशलाई ४० मेघावाट विद्युत निर्यात गर्ने सम्झौता गरेको केही घण्टा पछि महामन्त्री शर्माले नेतृ आचार्यलाई स्मरण गर्नु भएको हो ।
उहाँले गरेको पोष्टमा लेखिएको छ, 'न जन्मदिन, न मृत्युको तिथि। तर आज एकाएक स्वर्गीय शैलजा आचार्यको सम्झना !'
महामन्त्री शर्माले बंगलादेशलाई ४० मेगावाट विद्युत निर्यात गर्ने सम्झौता आज भइरहँदा देशले उहाँलाई श्रद्धापूर्वक सम्झनुपर्छ । निजी क्षेत्रलाई विद्युत उत्पादनमा उहाँलेनै जलस्रोत मन्त्रीका रूपमा ढोका खोल्नुभएको थियो तब आज यो संभव भएको छ। अहिले उत्पादित ३१३० मेगावाट मध्ये २४९५ मेगावाट विद्युत निजी क्षेत्रले उत्पादन गरिरहेको उल्लेख गर्नुभएको छ।
'बंगलादेशसँग सम्झौता हुनुअघि गत पुस १९ मा भारतसँग सम्झौता भए अनुरुप आगामी १० वर्षमा नेपालसँग १० हजार मेगावाट विद्युत भारतले खरिद गर्नेछ ।' महामन्त्री शर्माले लेख्नुभएको छ, 'हामीले उपभोग गरेर विद्युत व्यापारसमेत गर्ने यी दुवै सम्झौता निरन्तर व्यापारघाटा भोगिरहेको हाम्रो देशका लागि महत्त्वपूर्ण र ऎतिहासिक छ ।'
महामन्त्री शर्माले यसका लागि यो अवधिका सबै सरकारलाई बधाई, नेपाल विद्युत प्राधिकरणलाई बधाई , निजी क्षेत्रलाई बिशेष बधाई, दक्ष इन्जिनियरहरु, निर्माण उद्यमीहरु तथा मेहनती श्रमिकहरुलाई सम्मानसहित बधाई , स्वदेश र विदेशमा रहेका समस्त नेपालीलाई बधाई दिनुभएको छ।
महामन्त्री शर्मा आफ्नो पोष्टको अन्त्यमा लेख्नुभएको छ, 'इमानदार र दुरदर्शी नेतृ स्वर्गीय शैलजा आचार्यको फेरि पनि श्रद्धासहित सम्झना !'







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts