काठमाडौं । चलचित्र ‘रंगी’को स्क्रिप्ट पूजा गरिएको छ । घटस्थापनाको अवसर पारेर बिहीबार राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा स्क्रिप्ट पूजा गरिएको हो ।
पूर्वमिस नेपाल नम्रता श्रेष्ठको ‘डेब्यु’ फिल्म सुरेश न्यौपाने रहने यो चलचित्रको स्क्रिप्ट पूजामा सलोन, पूर्वमिस नेपाल नम्रता श्रेष्ठसहित निर्देशक सुरेशलगायतको उपस्थिति थियो । पूर्वमिस नेपाल श्रेष्ठको यो ‘डेब्यु’ चलचित्र हो भने निर्देशक न्यौपानेको पनि यो डेब्यु निर्देशन हो ।
सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा सलोन र नम्रतासहित दिलीप रायमाझी, आरुषी कार्की, विशाल पहारी र सुमिन गुरुङको अभिनय रहनेछ । सलोन सलिना फिल्मस् प्रालिको ब्यानरमा बन्ने यो चलचित्रको छायांकन आगामी कात्तिक ५ गतेबाट सुरु हुनेछ ।
निर्माण पक्षले फिल्मको टाइटल पोष्टर सार्वजनिक गरिसकेको छ । जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ । उनीहरू बाबुछोरी रहेको अनुमान लगाउन सकिन्छ ।
सक्षम सुवेदीको निर्माण रहने चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन हुने निर्माणपक्षले जनाएको छ ।






