रसुवा । जिल्लाको टिमुरेभन्दा दक्षिण तातोपानी नजिक रोकिएर राखिएका आठवटा कन्टेनर डिब्बामा सुख्खा पहिरोले क्षति भएको छ । केरुङतर्फ सामान लिन जान पालो कुरेर रोकी राखिएका ती कन्टेनर डिब्बामा मङ्गलबार राति आएको सुख्खा पहिरोले क्षति पुर्याएको हो ।
भारी वर्षाले अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी खण्डको सडक मङ्गलवार खुलेसँगै केरुङमा सामान लिन गएका ती कन्टेनर डिब्बा केरुङतर्फको भूभागमा सडक बन्द भएको जानकारी पाएपछि पार्किङ अभाव अभावका कारण सडक छेउमा राखिएको थियो ।
चिनियाँ भू–भागको केरुङ रसुवागढीबिच भागका पहिरोले सडक पूर्ण क्षति भएपछि उक्त खण्ड पुनः सञ्चालनका लागि करिब ४०–४५ दिन लाग्ने रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाललाई केरुङ प्रशासनले जानकारी गराइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशव भट्टराईले जानकारी दिनुभयो ।
रोकेर राखिएका कन्टेनरका डिब्बामा क्षति भएपछि पार्किङ गरेर राखिएका अन्य कन्टेनर आ–आफ्ना घरतर्फ फर्काउन सबै सवारी धनीलाई अनुरोध गरिएको जिल्ला प्रहरी प्रमुख भट्टराईले जानकारी दिनुभयो । यसअघि पहिरोले अवरुछ भएको सडक मङ्गलबार सञ्चालन भएपछि केरुङ जानका लागि ४० वटा कन्टेनर टिमुरे क्षेत्रमा प्रवेश गरेका प्रहरीले जनाएको छ ।
स्याफ्रुबेँसी, टिमुरेको तातोपानी, टिमुरे घट्टेखोला क्षेत्रको भूभाग कमजोर भएकाले पहिरोको जोखिम उच्च रहेको भन्दै सामान बोकी आएका मालवाहक कन्टेनर भन्सार हातामा मात्र राख्न रसुवा जाने सबै चालकलाई अनुरोध गरिएको प्रहरी प्रमुख भट्टराईले बताउनुभयो । सुरक्षित पार्किङको अभाव भएका टिमुरे, रसुवागढी क्षेत्रमा केरुङतर्फको सडक नखुलेसम्म स्याफ्रुबेँसीबाट सवारीसाधन कहिन नलैजान अनुरोध गरिएको उहाँले उल्लेख गर्नुभयो ।
यसैबिच, केरुङबाट दसैँका लागि आवश्यक पर्ने दैनिक उपभोग्य वस्तुसहित कपडा बोकेर आएका दुई सय कन्टेनर भन्सार हातामा रहेका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिनुभयो । ती कन्टेनरका सामग्री यथाशीघ्र काठमाडौँ पठाउने तयारी भएको जनाउँदै विद्युत् अभावले जाँचपास गर्न समस्या भइरहेको उहाँले बताउनुभयो ।
साथै एक सय ५० बढी विद्युतीय सवारीसाधन समेत टिमुरे क्षेत्रमा रहेका भन्सार कार्यालयले जनाएको छ । यही असोज १० गतेसम्म आयात सामग्रीको शुल्कबाट रु एक अर्ब राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत भट्टराईले जानकारी दिनुभयो । चिनियाँ भागमा पहिरो गएकाले सडक सञ्चालन गर्न समय लाग्ने चिनियाँ समकक्षीले भन्सार कार्यालयलाई जानकारी गराइसकेका उहाँले उल्लेख गर्नुभयो ।
सडक अवरुद्ध हुँदा सामान आयात हुन नसकेपछि लक्षित राजस्व असुलीमासमेत कमी आउने देखिएको प्रमुख भट्टराइले जानकारी दिनुभयो । रासस







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts