चितवन । चितवनमा नेपाली नागरिकताको प्रमाणपत्रका लागि अनलाइनबाट सिफारिस गर्ने सेवा बुधबारदेखि सुरू भएको छ । वडा कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई सेवाग्राहीको नागरिकता प्रदान गर्न अनलाईन मार्फत सिफारिस गर्ने सेवा सुरु भएको हो ।
जिल्ला स्थित रत्ननगर नगरपालिका वडा नं १० वाट उक्त सेवा सुरु गरिएको हो । वडा कार्यालयमा आयोजित औपचारिक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले सयुक्त रुपमा अनलाइन सिफारिस सेवाको उद्घाटन गर्नुभएको हो । रत्ननगर वडा नं १० जागृती टोल निवासी सिद्धान्त शर्मालाई पहिलो पटक अनलाइनबाटै नागरिकताको सिफारिस गरी सेवा सुभारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी यादबले जानकारी दिनुभयो । वडा नं १० मा उद्घाटन भएपछि जिल्लाका ९८ वटै वडामा सेवा सुरु भएको उहाँले जनाकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका मेयर प्रलाद सापकोटाले सुचना प्रविधिको युगमा नेपाल सरकारले सुरु गरेको अनलाइनबाट नागरिकताको सिफारिसको काम स्वागत योग्य रहेको बताउनुभयो ।
नागरिकताको लागि फारम भर्न लाइन बस्नु पर्दा सेवाग्राहीले सास्ती खप्दै आएको भन्दै उहाँले यो सेवा सुरु भएपछि तत्काल काम बन्ने र सास्ती अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । केन्द्रीकृत नागरिकता सूचना प्रणालीमार्फत जिल्लाका सात पालिकाका ९८ वटै वडाबाट अनलाइन सिफारिस सेवा सुरू भएको छ । नागरिकताका लागि अनलाइनबाटै सिफारिस गर्ने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय चितवनले वडा, स्थानीय तहहरुका सचिव र आइटी शाखाका कर्मचारीलाई तालिम प्रदान गरेको थियो । सेवा प्रदान गर्न गृह मन्त्रालयको सूचना प्रविधि शाखाले जिल्लाका सातवटै स्थानीय तहलाई युजर आइडी र पासवर्डसमेत पठाइसकेको यादबले जानकारी दिनुभयो ।
नागरिकताको प्रमाणपत्रका लागि आवश्यक कागजपत्र लिएर वडा कार्यालयमा पुगेपछि वडाले नै अनलाइन सिफारिस गर्ने छ प्रमुख जिल्ला अधिकारी यादवले भन्नुभयो उक्त सिफारिस प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयका कर्मचारीले अनलाइनबाटै हेर्न र प्राप्त गर्न सक्छन् । अनलाइन प्रणाली सुरू भएपछि अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छरितो र प्रविधिमैत्री हुने, झूटा र किर्ते विवरण भरेर नागरिकता लिने कार्य अन्त्य हुने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । सफ्टवेयर प्रणालीमा प्रविष्ट भएका विवरणहरु गृहअन्तर्गत नागरिकता फाँट विभागमा रजिष्ट्रेसन कोडका आधारमा सहजै नागरिकता पाउन सकिन्छ ।
रत्ननगर नगरपालिका वडा नं १० का वडाध्यक्ष कलाधर पौडेलले अनलाइनबाट नागरिकताको सिफारिसको काम वडा कार्यालयमा उद्घाटन गर्ने अबसर पाउदा आफुलाई भाग्यमानी ठानेको चित्रण गर्नुभयो । सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जवी शर्मा उपस्थित रहेको सो कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले रत्ननगरमा अनलाइनबाट नागरिकताको सिफारिसको काम प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाउनु भयो ।






