टेक्सस । नेपाली अमेरिकी पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकाको टेक्ससमा पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तकमाथि छलफल गरिएको छ । सुदूर पश्चिम समाज टेक्सासको सहकार्यमा आयोजना गरिएको ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक विमर्श कार्यक्रममा बोल्दै पत्रकार सञ्जय घिमिरेले उपाध्यायद्वारा लिखित पुस्तक द्वन्द्वका दश वर्षको ऐना भएको बताउनुभयो । जसले द्वन्द्व भोगे, यो पुस्तकले उनीहरूलाई त्यो नमिठो बिगत स्मरण गराउनेछ, उहाँले थप्नुभयो, अहिलेको पुस्ता, जसले द्वन्द्व भोगेन, उनीहरूलाई पनि त्यो समयको अनुभूति गराउनेछ ।
घिमिरेले नेपाली पत्रकारले द्वन्द्वका कठिन घडीमा आफ्नो ज्यान जोखिममा राखेर भएपनि नागरिकको सुसूचित र बाँच्न पाउने अधिकारको सुरक्षाको लागि अविचलित भएर कलम चलाएको बताउनुभयो । ‘द्वन्द्वमा कति पत्रकारहरू मारिए, बेपत्ता पारिए ? प्रेस स्वतन्त्रता उल्लंघनका कति घट्नाहरू भए ? त्यसको नालिबेली र तथ्यांक मात्र यो पुस्तकमा समेटिएका छैनन्’, पत्रकार घिमिरेले भन्नुभयो, ‘यो पुस्तक द्वन्द्व त्यो समयको साक्षी हो । जसको अध्ययन गरेर भावी पुस्ताले द्वन्द्वका १० वर्षमा नेपाली समाजले भोगेको समय महसुस गर्नेछ ।’
पुस्तकमाथि समीक्षा गर्दै पत्रकार गोपाल गड्तौलाले उपाध्यायद्वारा लिखित पुस्तक द्वन्द्व पत्रकारिताको एक दशक पुस्तक नेपाली पत्रकारहरूले भोगेको समयको अनुभवको दस्तावेज भएको बताउनुभयो । यो पुस्तक उपाध्यायले लेखे पनि हामी सबै यो पुस्तकका पात्र हौं, उहाँले भन्नुभयो, ‘यो पुस्तक हामी सबै पत्रकारहरूको अनुभव, संघर्ष, पीडा र भोगाइको संगालो हो ।’ उहाँले नेपाली पत्रकारहरूले द्वन्द्वका १० वर्षमा राज्य र माओवादी पक्षबाट भोगेका पीडा, प्रताडना, दबाब र हस्तक्षेप बिर्सिन नसकिने खालका भएको स्मरण गर्नुभयो ।
नेजाका अध्यक्ष सुरज भण्डारी, नेजाका पूर्वअध्यक्ष भोला आचार्य, निवर्तमान अध्यक्ष विकासराज न्यौपाने, पत्रकार गोपाल गड्तौलालगायतका पत्रकारहरूले उपाध्यायद्वारा लिखित पुस्तकमा आम पत्रकारहरूका अनुभव समेटिएको बताउनुभयो । उनीहरूको साझा धारणा थियो, यो हामी सबैको साझा अनुभवको दस्ताबेज हो ।
पुस्तक विमर्शसँगै कार्यक्रममा पत्रकार र समाजका विषयमा चर्चा गरिएको थियो । पत्रकारिता समाजकै अभिन्न अंग भएकाले समाजको हितमा पत्रकारिता गर्न पत्रकारहरूसँग वक्ताहरूले आग्रह गरे । नेजाका सदस्य तथा शिक्षाविद् नेपाली ग्लोबल नेपाली पाठशालाका प्रिन्सिपल डा.भोजबहादुर बलायरले पत्रकारहरूले समाजलाई दिग्भ्रमित र विखण्डन गर्ने खालको सूचना सम्प्रेषण गर्न नहुने सुझाउनुभयो । सामाजिक सद्भाव र समाजका सकारात्मक पक्षलाई उजागर गर्न पत्रकारहरूसँग बलायरले आग्रह गर्नुभयो ।
लेखक तथा पत्रकार उपाध्यायले द्वन्द्वका १० वर्षमा नेपाली पत्रकारहरूले नागरिकको जीवन रक्षाका लागि निर्बाह गरेको भूमिका अहिलेको पुस्ताले बिर्सिएको बताउनुभयो । द्वन्द्व अवधिमा माओवादी र राज्यपक्षबाट अपहरण तथा बेपत्ता पारिएकाहरूका बारेमा पत्रकारहरूले समयमै सूचना सम्प्रेषण गरेका कारण थुप्रै सर्वसाधारणको ज्यान जोगिएको उपाध्यायले अनुभव सुनाउनुभयो । ‘यो पुस्तक द्वन्द्वका १० वर्षमा नेपाली समाजले भोगेको द्वन्द्वको दस्तावेज मात्र होइन, यसमा मेरा युद्ध रिपोर्टिङका निजी अनुभव पनि छन् । जो आमपत्रकारहरूका अनुभव हुन्’, ‘उपाध्यायले भन्नुभयो, ‘त्योसँगै नेपाल पत्रकार महासंघले पत्रकारहरूको पेसागत तथा भौतिक सुरक्षाका साथै लोकतन्त्रका लागि निर्वाह गरेको भूमिकाको पनि यसमा चर्चा गरेको छु ।’
नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले पत्रकारिता निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो । उहाँले कसैप्रति आग्रह नराखेर निष्पक्ष ढंगले सूचना सम्प्रेषण गर्न पत्रकारहरूसँग आग्रह गर्नुभयो । कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडालले द्वन्द्वमा नागरिकको जीवन रक्षाका लागि राज्य र माओवादी पक्षलाई खबरदारी गरेको नेपाली पत्रकारिताले शान्ति प्रक्रिया, गणतन्त्र स्थापनाका लागि खेलेको भूमिका प्रशंसनीय भएको बताउनुभयो ।
शिक्षाविद् बलायर र युनाइटेड नेप्लिज एसोसिसएनका अध्यक्ष भक्तबहादुर भण्डारीले पत्रकारितासँगै सामाजिक अभियन्ताका रूपमा सुदूरपश्चिममा कोभिडलगायत विपत्तिमा नागरिकको जीवन रक्षाका लागि निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।
वरिष्ठ पत्रकार विनय देवकोटाले सहकर्मीका रूपमा पत्रकार दीर्घराज उपाध्यायको रिपोर्टिङदेखि पत्रकार महासंघ कैलालीको नेतृत्वमा रहँदा पत्रकाहरूको जीवन रक्षाका लागि निर्वाह गरेको भूमिका सराहनीय भएको सुनाउनुभयो । उहाँले उपाध्यायले पुस्तकमा द्वन्द्वको समयमा युद्ध क्षेत्र र मोफसलमा नेपाली पत्रकारहरूले भोगेका अनुभव र उनीहरूको संघर्षको सजीव चित्रण गरेको बताउनुभयो ।
कार्यक्रममा एनआरएनए अमेरिकाका उपाध्यक्षद्वय नेत्र पाण्डे र भानु खरेल, नेपाली समाज टेक्ससका प्रवक्ता किरण पौडेल, नेपाली समाज टेक्ससका सचिव पुण्य पाण्डे, प्रवासी नेपाली मञ्चका अध्यक्ष राजु नेपाल, सामाजिक अभियन्ता राम सी पोखरेल, सामाजिक अभियन्ता बाल जोशी, ब्लड डोनर्स अफ एसोसिएसनका उपाध्यक्ष शिव काफ्ले, सामाजिक अभियन्ता प्रभात दीक्षित, अर्जुन फुयाँललगायतले पत्रकारिता क्षेत्रसँग जोडिएका जनताका अपेक्षाका बारेमा चर्चा गर्नुभएको थियो ।
यसैगरी, कार्यक्रममा पत्रकारहरू रामचन्द्र भट्ट, मनोज जोशी, लेखनाथ गौतम, ओम आचार्य, सन्देश उप्रेती, हरि सुवेदी, प्रकाश श्रेष्ठ, सुदीप सिवाकोटी, गुञ्जन भण्डारीले समुदायले पत्रकारिताको मर्म, भूमिका र आवश्यकताबोध गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा अध्यक्षसमेत रहनुभएका नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारीले समुदाय र पत्रकारिताको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिँदै पत्रकारिता क्षेत्रको विकासमा समेत समाज भूमिका जरुरी रहेको बताउनुभयो ।
नेजाका महासचिव बाबुराम दाहालले सञ्चालन गरेको कार्यक्रममा नेजाका मध्य क्षेत्र संयोजक शंकर थापाले स्वागत मन्तव्य राख्दै पत्रकार उपाध्यायका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा सहकार्य गरेको संस्था सुदूरपश्चिम समाज टेक्ससका अध्यक्ष गगन केसीले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।






