हेटौंडा । असोज १० गते बिहिवारदेखि ३ दिन सम्म परेको अविरल वर्षाले मकवानपुरसहित देशैभर ठूलो क्षति गर्यो । पहिरोमा परि मकवानपुरका मात्र सात जनाले ज्यान गुमाए । तिमध्ये ६ जना विद्यार्थी सिस्नेरीको पहिरोमा पुरिए।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका स्थित सिस्नेरी पुगेका ४० मध्ये ६ जना किशोरको सपना पहिरोले थिच्यो ।
त्यही पहिरोमा पुरिएका ६ जना मध्येका एक थिए हेटौँडा १२ का अनुपम घलान । जिल्ला समन्वय समितिको प्रमुख ललित घलानको एक मात्र छोरा थिए अनुपम। २०६७ कार्तिक २५ गते जन्मिएका थिए अनुपम।
अनुपम सानैदेखि फुटबलमा औधी रुचि राख्थे ।
छोराको इच्छा र फुटबलप्रतिको लगावले घलानले पठाउन मन नहुँदा नहुँदै छोराको इच्छा पूरा गर्न मकवानपुर जिल्लाको बिकट मानिने इन्द्रसरोबरको सिस्नेरीमा आफ्नो छोरा अनुपमलाई पठाएका थिए ।
२०८१ को असोज १२ गते शनिवार सिस्नेरीले घलानपुत्र अनुपमसहित ६ जनालाई चुडेर लग्यो र परिवारमा कहिले निको नहुने घाउ दिएर गयो ।
४० जना साथीहरूसँगै बत्सलादेविको होस्टेलमा बसेका घलान सहित छ जना बालक कहिल्यै नफर्कने गरी बिदा भए ।
९ कक्षामा अध्ययन गर्दै गरेका अनुपम ४ वर्षका लागि ७ महिना अघि मात्र अध्ययन गर्न सिस्नेरी पुगेका थिए। अनुपमले शुक्रबार राति मात्र बाबुलाई फोनमा मलाई लिन आउनु भनेका थिए। त्यही छोराको बोली सम्झिदै घलानले आफू र आफ्नो परिवारलाई सम्हाल्न सकेका छैनन् ।
कुलेखानी जलविद्युत आयोजनाले ड्याम खोलेको सूचना पाएपछि विद्यालय क्षेत्र पनि डुबानमा पर्ने भएकोले होस्टेलबाट अन्यत्र सारिदै गर्दा घलान सहितका छ जना बालकलाई होस्टेलबाट केही माथि पुगेपछि पहिरोले पुर्यो ।
छोरो पहिरोको चपेटामा परेको खबर पाउनासाथ जिसस प्रमुख घलानले बचाउने प्रयत्न गरे । तर उनको प्रयत्न सफल हुन सकेन । अन्ततः उनको छोरासहित नेपाली फुटबलको भविष्यका छ जना खेलाडीले बिदा लिए ।
छोराको निधनबाट गहिरो चोट बोकेका घलानले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए ‘छोरा अनुपम मैले तिमीलाई बचाउन सकिन।’
शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गरी अनुपमसहित मृतक खेलाडीको शब सोमबार विहान हेटौंडा ल्याइएको छ ।
सोमबार विहान करिब ९ बजेको समयमा हेटौंडा–११ स्थित बागमती प्रदेश प्रहरी कार्यालयमा हेलिकोप्टरमार्फत् मकवानपुर जिल्लाको तीनजना खेलाडीको शब हेटौंडा ल्याइएको थियो । अनुपमसहित मकवानपुरको सिस्नेरी घर भएका दिवस बानियाँ, मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जनको पहिरोले पुरेर मृत्यु भएको थियो ।
शव सोमबार ल्याइए पनि लामा विधि पूरा गरेपश्चात मंगल बिहान मात्र अनुपमको अन्तिम दाहसंस्कार हुने छ।
अखिल नेपाल फुटबल संघ एन्फा एकेडेमीमा रहेका ४० जनामध्ये खेलाडीमध्ये ६ जनाको पहिरोले पुरिएर निधन भएको थियो ।
विद्यार्थीहरुमा मकवानपुरका अनुपम घलान, दिवस बानियाँ र सुमन योञ्जन, धादिङका रियान्स आचार्य, सर्लाहीका आदित्य बलम्पाकी र बाराका विकल रेग्मी रहेका थिए।
४० जनामध्ये ६ जनाले के कारण पहिरोमा परि ज्यान गुमाए भन्ने अहिले सम्म खुल्न सकेको छैन।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts