भोजपुर । निरन्तरको बर्षातका कारण पहाडी जिल्लाको भोजपुरको जनजिवन प्रभावित बनेको छ । बर्षातका कारण पहिरो जाँदा घरहरुमा क्षति भएको छ भने सडक अवरुद्ध भएका छन् ।
अविरल बर्षाका कारण शुक्रवार राति अरुण गाउँपालिका वडा नम्वर चार माङसुवा र ओदानेस्थित हिले भोजपुर मध्यपहाडी लोकमार्गमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सडक भन्दा अन्दाजी ७० फिट माथि भिरबाट रुख, ढुङगा, माटो, लेदोसहित पहिरो जाँदा पाँच किलोमिटर सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दिपक श्रेष्ठले अवरोध भएको सडक स्थानीय पालिकासँगको समन्वयमा खुलाईएको बताउनुभयो ।
यता जिल्लाको पश्चिम टेम्केमयुङ गाउँपालिका वडा नम्वर दुई श्रीदलीस्थित भोजपुर–खोटाङ पुष्पलाल मध्यपहाडी लोकमार्गमा अविरल वर्षाको कारण पहिरो जाँदा सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय दिल्पाबाट प्रहरी नायव निरीक्षक हुसनकाजी राईको प्रहरी टोली गई पालिकासँगको समन्वयमा पहिरो हटाएको छ ।
बर्षातका कारण जिल्ला ट्राफिक कार्यालयको भान्सा घर पहिरोका कारण जोखिममा परेको छ । पहिरोका कारण कार्यालय र ब्यारेक समेत जोखिममा रहेकाले नजिकै बसोवासको ब्यवस्था मिलाईको बताउनुभयो । अविरल बर्षाका कारण शनिवार राती पौनै तीन बजे भोजपुरको अरुण गाउँपालिका वडा नम्वर तीन बल्खुका नेत्र बहादुर बस्नेतको दुई तले कच्ची घरमा समेत पहिरोका कारण क्षति पुगेको छ । पहिरोका कारण घरमा बसोवास गर्न नसकिने अवस्था आएकोले अस्थायी प्रहरी पोष्ट मर्याङडाँडाबाट गएको प्रहरी बरिष्ट हवल्दार भोज बिक्रम कार्कीको बस्नेतको परिवारलाई नजिकै बस्ने ब्यवस्था मिलाएको छ ।
यस्तै भोजपुर नगरपालिका वडा नम्वर चार बस्ने चन्द्रकला श्रेष्ठको घर पछाडीबाट पहिरो झरी घर जोखिममा परेको छ । प्रहरी चौकी गुप्तेश्वर भोजपुरबाट प्रहरी सहायक निरीक्षक श्रीप्रसाद ठाकुरको नेतृत्वमा गएको प्रहरी टोलीले पहिरो हटाउने कार्य गरेको थियो ।
भोजपुर नगरपालिका वडा नम्वर पाँच मसिनेबेशका भिम बहादुर दाहालको घर अबिरल बर्षाको कारण माथि र तलबाट पहिरो झर्दै गरेकाले जोखिमा परेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी निरीक्षक दिपक कुमार श्रेष्ठको नेतृत्वकोे १४ जनाको टोली र सशस्त्र प्रहरी बल पाँच नम्वर गुल्म टक्सार भोजपुरबाट सहायक प्रहरी निरीक्षक ऋषी खत्रीको १५ जनाको टोलीले उद्धार गरेको छ । यस्तै भोजपुर नगरपालिका वडा नम्वर चार गैरी गाँउका हरी बहादुर खड्काको घरको पछाडी पट्टि रहेको ढुङ्गामाटोको गारो, टिनको छानो भएको एक तले गोठमा पहिरो झर्दा गोठमा पुर्णरुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
बर्षातका कारण भोजपुर नगरपालिका वडा नम्वर छ देउरालीदेखि वडा नम्वर पाँच बोखिमसम्म पुष्पलाल मध्य पहाडी लोकमार्गका विभिन्न स्थानमा झरेको पहिरो पन्छाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






