नेपाली समाजमा ‘छोटोमीठो’ भन्ने उक्ति निकै प्रचलित छ । सभासमारोहमा संक्षिप्त बोल्ने वक्ताको वक्तव्यलाई ‘छोटोमीठो’ भनेर तारिफ गर्ने चलन पनि छ । लेखनमा पनि छोटोमीठोको धेरै ठूलो महत्व छ । छोटो लेख्नु, तर मीठो लेख्नुलाई लेखनको उच्च शिल्पकै रूपमा पनि लिइन्छ । छोटोमीठो लेखनको प्रभावकारिता बढिरहेको महसुस पनि भइरहेको छ । लघुकथालाई आख्यानको छोटो विधा मानिन्छ । छोटोमीठो र प्रभावशाली हुने भएकै कारण लघुकथा लेखन र पठनमा लेखक तथा पाठकहरूको आकर्षण क्रमशः बढिरहेको छ ।
यही आकर्षणकै परिणाम हो लघुकथाका पुस्तकहरूको संख्यात्मक वृद्धि । अहिले महिनैपिच्छे अथवा हप्तैपिच्छे हुने गरेका लघुकथाका पुस्तकहरूको लोकार्पण, गोष्ठी, चर्चापरिचर्चा र विमर्शका कार्यक्रमहरूले पनि लघुकथा विधा क्रमशः लोकप्रिय बन्दै गरेको पुष्टि हुन्छ । एकै पटकमा २४ वटासम्म लघुकथासङ्ग्रहको सामुहिक लोकार्पण हुनुले लघुकथा लेखन आक्रामक रूपमै अघि बढेको महसुस हुन्छ । लघुकथा विधा लोकप्रिय बन्दै गरेको अवस्थामा नवोदित लघुकथाकार सुनिता निरौला पौडेलको लघुकथासङ्ग्रह ‘बाको बाकस’ पाठकसमक्ष आएको छ । पुस्तकको प्रकाशकमा गोविन्द पौडेल रहेका छन् ।
साहित्य समाजको ऐना हो । यो ऐनामा समाजको सुन्दर र कुरूप दुवै किसिमको अनुहार देखिन्छ अथवा देखिनुपर्छ । सुन्दर अनुहारको प्रशंसा र कुरूप अनुहारमा सौन्दर्य भर्नका लागि अभिप्रेरित गर्दै सुन्दर समाजको परिकल्पना साहित्यले गरेको हुन्छ । त्यसैले साहित्य पठनबाट सुन्दर समाज निर्माणका लागि प्रेरणा प्राप्त हुन्छ ।
शीर्षकले नै विशुद्ध सामाजिक कथाको झल्को दिने यो लघुकथासङ्ग्रहमा विविध विषय र सन्दर्भमा लेखिएका सामाजिक यथार्थवादी लघुकथाहरू छन् । कुल ५१ वटा लघुकथा सङ्गृहीत यो सङ्ग्रहका केही लघुकथाहरूनिकै चोटिला र प्रभावशाली छन् । सामान्य विषयवस्तु र सामान्य कथानकमा बुनिएका लघुकथाहरूको प्रभाव भने असामान्य लाग्दछन् । पाठकको मनमा छाप छोड्न सफल छन् धेरै लघुकथाहरू । विशेषतः नारी हृदयको कोमल आवाज मुख्य विशेषताको रूपमा आएको छ । प्रायजसो लघुकथामा नारी हृदयको कोमल भावना प्रस्फुटन भएको पाइन्छ । संवेदनाले भरिएका ती भावनाहरूले पाठकको मनलाई पनि उद्वेलित बनाउन समर्थ छन् ।
साहित्य समाजको ऐना हो । यो ऐनामा समाजको सुन्दर र कुरूप दुवै किसिमको अनुहार देखिन्छ अथवा देखिनुपर्छ । सुन्दर अनुहारको प्रशंसा र कुरूप अनुहारमा सौन्दर्य भर्नका लागि अभिप्रेरित गर्दै सुन्दर समाजको परिकल्पना साहित्यले गरेको हुन्छ । त्यसैले साहित्य पठनबाट पठनको आनन्दमात्रै होइन, सुन्दर समाज निर्माणका लागि प्रेरणा पनि प्राप्त हुन्छ । नवोदित लघुकथाकार सुनिता निरौला पौडेलका लघुकथाहरूले पनि यस्तै प्रेरणा दिएका छन् । सामाजिक बेथितिको चिरफार गर्दै त्यसमा सुधार गर्न प्रेरणा दिने अभीष्ट उनको लघुकथामा निहित छ । आकारभन्दा विचार प्रधान हो भन्ने सिद्धान्त र मान्यतालाई सुनिता निरौला पौडेलका लघुकथाले पछ्याएको पाइन्छ ।
‘बाको बाकस’ लघुकथा सङ्ग्रहभित्रका लघुकथाहरूमा सामाजिक यथार्थको प्रकटीकरण भएको पाइन्छ । सामाजिक गतिविधिमाथि सूक्ष्म दृष्टिकोणले अवलोकन गर्दै तिनै विषयमाथि लेखिएका लघुकथाहरूमा सामाजिक सुधार र परिवर्तनको आवाज पनि छन् । समयचेत र युगबोध स्रष्टामा हुनुपर्ने अति आवश्यक गुण हो । लघुकथाकार सुनिता निरौला पौडेलमा त्यो गुण छ भन्ने पुष्टि उनकै लघुकथाहरूले गरेका छन् । उनले समयलाई चिनेर र युगलाई बुझेर लघुकथा लेखेका छन् । मान्छेको सोच, प्रवृत्ति र चरित्रलाई लघुकथामा उतार्ने प्रयास भएको छ ।
सङ्ग्रहका लघुकथाहरू केही परम्परागत र केही समसामयिक विषयवस्तुका चोटिला र प्रभावशाली छन् । लघुकथाहरू सामाजिक, सांस्कृतिक, आर्थिक र थोरै मात्रामा राजनीतिक विषयवस्तुलाई केन्द्रमा राखेर लेखिएका छन् । सङ्ग्रहका लघुकथामा विषयविविधता छ । विशेषतः सामाजिक यथार्थ, मानवीय संवेदना, चरित्रगत आचरण, गरिबी र अभावको पीडा, विदेसिनुपर्ने बाध्यता र त्यसले सिर्जना गरेको सामाजिक समस्या, मानवीय संवेदनामा स्लखन र पर्यावरणीय चेतना आदि यस लघुकथा सङ्ग्रहमा मुख्य विषयवस्तु बनेर आएका छन् । नारीलाई आत्मनिर्णयको अधिकार हुनुपर्छ भन्ने विषयको उठान पनि भएको छ ।
धेरै वटा लघुकथाहरू धेरैले लेखेका र धेरैपटक पढिएका विषयवस्तुमै लेखिएको हुँदा यस्ता ‘क्लिसे’ कथाका कारण कतैकतै पाठकलाई पट्यार पनि लाग्न सक्छ । तथापि विषयगत विविधताले ‘बाको बाकस’ लघुकथासङ्ग्रह पठनीय बनेको छ ।
राजनीतिको आडमा अकुत सम्पत्ति आर्जन गर्ने प्रवृत्तिप्रति कटाक्ष (‘मालामाल’), नारीजन्य स्वाभाविक इच्छा–आकांक्षाप्रति सकारात्मक सोचको आवश्यकता जोड (‘खुसी’), संस्कृतिमा विकृति आएकोप्रति चिन्ता (‘विकृति’), पर्यावरणीय चेत (‘नातिनीको जन्मदिन’), ब्यस्त जीवनशैलीले गर्दा बाआमासँग नियमित भेटघाट हुननसक्नुका पीडा (‘लुठे पिङ’), वैदेशिक रोजगारीका कारण सिर्जित दुखद घटनाहरू (‘अभरको साथी’), अहंकार असल गुण होइन भन्ने सन्देश (‘पश्चाताप’) आदि विषयवस्तुका लघुकथाले हाम्रो समाजको यथार्थलाई प्रतिबिम्बित गरेको पाइन्छ ।समाजको सुन्दर र कुरूप अनुहार ‘बाको बाकस’ भित्रका लघुकथाहरूमा हेर्न र देख्न सकिन्छ ।
यसै गरी ‘चौरासी पूजा’, ‘सम्मान’, ‘पिण्ड’, ‘नाति’, ‘भित्ताको सम्मान’, ‘बाको बाकस’ आदि कथामा पनि सामाजिक यथार्थको आख्यानीकरण भएको पाइन्छ । ‘बाको बाकस’ लघुकथा पाठकको मनमा कौतुहल जगाउने खालको छ । तर त्यो कौतुहल मेट्न भने सकेको छैन । बाकसभित्र के थियो भन्ने कुरा रहस्यमै रहेको छ । पाठकको अनुमान विपरीत कथा टुङ्गिएको छ ।
‘माम्री’ लघुकथाले आधुनिक प्रविधिले मान्छेलाई झन् व्यस्त र अभ्यस्त बनाएको सत्यको बोध गराएको छ । ‘जन्मथलो’ मा अवसरको खोजीमा विदेसिने प्रवृत्तिलाई देखाइएको छ भने ‘बिचौलिया’ मा सरकारको कमजोरीले गाउँका किसानको श्रम र पसिनाको शोषण भइरहेको तथ्य उजागर गरिएको छ । भौतिक सुखभन्दा आत्मिक सन्तुष्टि ठूलो हुन्छ भन्ने सन्देश ‘मातृभूमि’ लघुकथामा छ । ‘नाति’ मा एकल परिवारको संस्कृति झाङ्गिँदै जाँदा घरका ज्येष्ठ नागरिकहरू बेसहारा बनेर आश्रममा बस्नुपरेको यथार्थलाई प्रस्तुत गरिएको छ । ‘जीवनदान’ लघुकथामा जातीय विभेदविरुद्ध सामाजिक जागरणको आवश्यकताबोध गराउन खोजिएको छ ।
राजनीति र समाजसेवा मान्छेका व्यक्तिगत स्वार्थपूर्तिका माध्यम मात्रै हुन्, समाजहितका लागि होइनन् भन्ने यथार्थलाई ‘परिघटना’ कथामा देखाइएको छ । बूढाबूढी भनेका माटो र ढुङ्गाजस्तै हुन्, माटोलाई ढुङ्गाको भर र ढुङ्गालाई माटोको भर हुन्छ भन्ने सामाजिक यथार्थलाई ‘आधार’ लघुकथामा प्रस्तुत गरिएको छ । भ्रष्टाचारीलाई बहिस्कार गर्नुपर्छ भन्ने मान्यतालाई अँगीकार गरेर लेखिएको स्वैरकाल्पनिक कथा ‘वफादार’ तुलनात्मकरुपमा बढी प्रभावशाली र सन्देशमूलक पनि छ ।
यसैगरी शहीद शब्दको दुरुपयोग र वास्तविक शहीदको अपमान र अवमूल्यन गरिएको, अन्धविश्वासको पछि लाग्दा जीवन दुःखको भुमरीमा परेको, सामाजिक दायित्वप्रति ख्याल नगर्ने छिमेकी, स्वार्थका लागि पार्टी परिवर्तन गर्ने प्रवृत्तिआदि सामाजिक बेथितिप्रति असन्तुष्टि र आक्रोशका भावनाहरू पनि लघुकथाहरूमा पोखिएका छन् । कथाहरू साधारण विषयवस्तुका र सपाट किसिमको लेखनशैली छ । बिम्ब र कलात्मकताको अभाव छ । सरल भाषाशैलीले गर्दा लघुकथाहरू बोधगम्य र संप्रेष्य छन् ।
धेरै वटा लघुकथाहरू धेरैले लेखेका र धेरैपटक पढिएका विषयवस्तुमै लेखिएको हुँदा यस्ता ‘क्लिसे’ कथाका कारण कतैकतै पाठकलाई पट्यार पनि लाग्न सक्छ । तथापि विषयगत विविधताले ‘बाको बाकस’ लघुकथासङ्ग्रह पठनीय बनेको छ । यद्यपि विषयगत विविधता भइकन पनि लेखनशिल्प, कलात्मकता र बिम्बहरूको प्रयोगको अभावले लघुकथाहरू त्यति दमदार र प्रभावशाली भने बन्न सकेका छैनन् । लेखनशिल्पमा सुधारको खाँचो छ । लेखनमा कलात्मकताको प्रयोग पनि अपेक्षित छ । सशक्त विषयको उठान भएर पनि लेखनशिल्प र कलात्मकताको अभावले उनको लेखन अझ बढी प्रभावशाली हुनबाट चुकेको छ । लघुकथाकारमा सामाजिक यथार्थको चेत बढी र राजनीतिक चेत कम भएको महसुस हुन्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements