काठमाडौं । काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै दशैँ-तिहार र छठ पर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो । प्रहरीले चाडवाडमा २० प्रकारका सुरक्षा चुनौती हुनसक्ने आँकलनसहित तीन हजार ७६५ सुरक्षाकर्मी परिचालन गर्ने योजना सार्वजनिक गरेको छ । प्रहरीले चाडबाडमा लुटपाट, चोरी तथा स्न्याचिङ, डकैती, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, आगजनी तथा विस्फोट, महँगो भाडा असुलीजस्ता अपराध हुनसक्ने अनुमानसहित सुरक्षाकर्मी परिचालन गर्न लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताउनुभयो ।
उहाँले चाडबाड मनाउन काठमाडौं छाडेर गाउँघर जानेहरूका पसल तथा खाली घरमा चोरी हुनसक्ने र धार्मिक तथा किनमेल स्थलमा पाकेटमारी हुनसक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षा योजना लागू गरिने जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा एसएसपी रजौरेले चाडपर्वलक्षित सुरक्षाका क्षेत्रहरू पहिचान गरेको उल्लेख गर्दै जनमानसमा सुरक्षाकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जनमानसमा सुरक्षाकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने अपराधको न्यूनीकरण गर्ने, अपराधीलाई कारबाहीको दायरामा ल्याउने, साधन स्रोतको दुरुस्त तथा प्रभावकारी तरिकाले परिचालन गर्ने उद्देश्य छ । हाम्रो लक्ष्यमा दशैँ, तिहार र छठ पर्वमा शान्ति सुरक्षालाई सुदृढ तुल्याई काठमाडौं उपत्यकाको जीवनलाई सहज र सरल बनाउने लक्ष्य हो । जनमानसमा सुरक्षाकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने, अपराधको न्यूनीकरण गर्ने, अपराधीलाई कारबाहीको दायरामा ल्याउने, साधन स्रोतको दुरुस्त तथा प्रभावकारी तरिकाले परिचालन गर्ने उद्देश्य छ । यसका लागि सुरक्षाका क्षेत्रहरू पहिचान गरेका छौँ । त्यस्ता क्षेत्रहरूमा स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने स्थानहरू, अन्य जिल्लाका लागि सवारी छुट्ने स्थानहरू, व्यक्तिहरूको खाली रहेको घर, सरकारी कार्यालय, भिडभाड हुने बजारहरू रहेका छन् ।’
परिसरका प्रवक्ता नवराज अधिकारीका अनुसार सम्भावित अपराधलाई रोक्न तथा न्यूनीकरण गर्न १४ वटा एरियामा डिएसपीको कमाण्डमा १० जनाको टोली परिचालन, दुई रुटमा लङ रेञ्ज गस्ती, ४२ रुटमा सर्ट रेञ्ज गस्ती गरिनेछ । त्यस्तै, ७६ वटा क्युआरटी गस्ती, २४ वटा मोबाइल गस्तीको पनि व्यवस्था गरिएको प्रहरीले जनाएको छ । सूचना संकलनको रूपमा सादा पोसाकको रूपमा ३८ वटा टोली बनाएर परिचालन गरिने प्रहरीले जनाएको छ । सिल एण्ड सर्च र कर्डन सर्चको रूपमा २८ टोली खटाइने छ । २२ ठाउँमा एम्बुसिङ चेकिङ गर्ने प्रहरीको तयारी छ ।
नाकाहरूमा हरेक दिन कुकुर पनि परिचालन गरिने, पर्चा पम्प्लेटमार्फत जनचेतना गर्ने प्रहरीको तयारी छ । कलंकी, बल्खु सुनधारा, पुरानो बसपार्क, गोंगबु, नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, हलचोकलगायत १२ स्थानमा यात्रु सहायता कक्ष खडा गरिने प्रवक्ता अधिकारीले बताउनुभयो । त्यसैगरी, ड्रोन क्यामेरामार्फत पनि सर्भिलेन्स गरेर निगरानी गरिने प्रहरीले जनाएको छ ।
चाडवाडमा लुटपाट, चोरी डकैती, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, आगजनी तथा विस्फोट र महँगो भाडा असुली, बजारमा वस्तुको कृतिम अभाव जस्ता अपराध हुनसक्ने प्रहरीको आँकलन छ । अपराधको घटना नियन्त्रण गर्न प्रहरीले सूचना पाएको ५ देखि १० मिनेटभित्र रेसपोन्स गर्ने पत्रकार सम्मेलनमार्फत जनाएको छ ।
सडक सुरक्षामा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
सत्तारूढ दल नेकपा एमालेले चाडपर्वमा सडक सुरक्षाका साथै बजार अनुगमनलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ । शुक्रबार सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर चाडपर्वहरू मनाइरहँदा जनताको हर्ष उल्लासमय वातावरणमा सहयोग पु¥याउन सरकारको ध्यानाकर्षण गराएको हो । चाडपर्वहरूमा आम नागरिकलाई सहज यात्रा, सहज खाद्यान्न आपूर्ति र व्यवस्थापन गर्न एमालेले माग गरेको छ । नेकपा एमालेको तर्फबाट केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले दिएको ज्ञापन पत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री सिंहले सरकारलाई चाडपर्वको मुखमा गर्नुपर्ने कार्यहरूबारे घचघच्याएकोमा खुशी प्रकट गर्नुभयो । उहाँले सरकारको तर्फबाट नागरिकलाई सेवा पुर्याउने काममा कुनै कमजोरी नगर्ने प्रतिबद्धता जनाउँदै सरकार खाद्य सुरक्षा, सडक र यातायात व्यवस्थापनमा लागिपरेको बताउनुभयो । ज्ञापन पत्र बुझाउने क्रममा नेकपा एमालेका नेता एवं केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख खिमलाल भट्टराईले नेपाली जनताका महान् पर्वहरू विजयादशमी, तिहार, नेपाल संवत्, छठ र इद जस्ता चाडहरू धमाधम आइरहेको भन्दै जनताले धुमधामसँग मनाउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । दशैँ र तिहारमा संघीय राजधानी काठमाडौंबाट र देशका मुख्य शहरहरूबाट अत्यधिक रूपमा गाउँ फर्किने भएकाले तत्काल सडक मर्मत गर्न आग्रह गर्नुभयो । यातायातको साधन अभाव हुन नदिन वैकल्पिक उपायको समेत बन्दोबस्त गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सुरक्षा प्रबन्धको निम्ति ठाउँठाउँमा प्रहरी र यातायातको सहज व्यवस्थापनको निम्ति ट्राफिकको यथोचित परिचालन गर्न पनि माग गर्नुभयो । एमालेले चाडवाड मनाउन गाउँ फर्किनेहरूका लागि यातायातको सहज व्यवस्थापन गर्न, सडकका होटलहरूमा पाइने खाना खाजाहरू स्वस्थ एवं गुणस्तरीयताका लागि अनुगमनलाई प्रभावकारी बनाउन र चाडपर्वहरूमा हुनसक्ने कालोबजारी र महँगी आदिको नियन्त्रण गर्न तथा गुणस्तरीय र सुपथ मूल्यका पसलहरू देशभर जनपहुँचका ठाउँहरूमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता