सिन्धुली । दुधौली नगरपालिका–६ स्थित प्रहरी चौकी हर्षाही जगाडीले नयाँ भवन पाएको छ । शुक्रबार एक कार्यक्रमबीच बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछानेले नवनिर्मित भवनको उद्घाटन गर्नुभयो ।
नवनिर्मित भवन समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री लामिछानेले जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकाय नेपाल प्रहरीले गुणस्तरीय सेवा प्रवाह गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
नेपाल प्रहरीको क्रियाशीलता र सेवा प्रवाहमा केही कमी नहोस भनेर हालसम्म प्रदेश सरकारले ७१ वटा प्रहरी इकाईमा लगानी गरेको सुनाउनुभयो । जसमध्य ६५ वटा इकाइ भवन निर्माण भइसकेको उहाँको भनाई छ ।
यस वर्ष मात्रै १८ वटा प्रहरी इकाई भवनहरुको क्रमागत निर्माणा तर्फ १० करोड ४४ लाख ८३ हजार र प्रहरी भवनहरुको संरचनात्मक सुधारतर्फ ३ करोड १३ लाख ६० हजार विनियोजन भएको उहाँले बताउनुभयो । बागमती प्रदेश प्रहरी अस्पताललाई प्राथमिकतामा राखिएको उहाँले सुनाउनुभयो
मन्त्री लामिछानेकाअनुसार २०७५ सालदेखि आर्थिक वर्ष २०८०/०८१ सम्ममा बागमती प्रदेश सरकारले नेपाल प्रहरीका विभिन्न तहका भौतिक पुर्वाधारको लागि ३ अर्ब ४७ करोड २२ लाख ६४ हजार निकासा गरिसकेको छ ।
नेपाल प्रहरी राज्यको सुरक्षा प्रदायक निकायको रुपमा अग्रपंक्तिमा रहेको उहाँको बुझाई छ । ‘प्रहरीले अपराध नियन्त्रण, रोकथाम, कानून कार्यान्वयन तथा सार्वजनिक सुव्यवस्था कायम गर्दै नागरिकको ज्यूधन, सार्वजनीक सम्पत्तिको रक्षा, समाजमा अमनचयन कायम राख्दै नागरिकको हरेक दुखमा सहयोगको लागि अग्रपंतिमा रहेर अब्बल प्रमाणित गर्दै आएको छ,’ उहाँले भन्नुभयो ।
संविधानमा व्यवस्था भए अनुरुपको अधिकार प्रत्यायोजन र अधिकारको प्रयोग अझै हुन नसकेको भन्दै उहाँले गुनासो समेत गर्न भ्याउनुभयो । संघिय प्रहरी ऐन नआईकन प्रदेश प्रहरी सम्बन्धमा दुविधाको स्थिती रहेको उहाँले बताउनुभयो । भन्नुभयो, ‘प्रहरी संगठन प्रभावकारी हुन कानुन, नीति, कार्यभार, रणनीति, योजना स्पष्ट रुपमा परिभाषित हुनुपर्छ । संघियताको सफल कार्यान्वयन गर्न पनि प्रदेश प्रहरी सम्बन्धमा सबै गम्भिर हुन जरुरी छ ।’
यसैबिच, बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले आफ्नो कार्य क्षेत्रभित्र रहेर नेपाल प्रहरीसँग समन्वय गरी वर्तमान अवस्थामा देखिएका समस्याहरु समाधानका लागि विभिन्न कार्यहरु गर्दै आएको उल्लेख पनि गर्नुभयो ।
भाडाको साँघुरो र पानी चुहिने घरबाट सेवा प्रवाह गर्दै आएको प्रहरी चौकी हर्षाही जगाडीलाई आफ्नै नयाँ भवन प्राप्त भएपछि गुणस्तरीय सेवा प्रवाह गर्न सहज भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले बताउनुभयो ।
दुई करोड १० लाख ४१ हजार ८२३ रुपैयाँ लागतमा दुई चरणमा बनेको भवनको निर्माण कार्य २०७८ मा सुरु भएको थियो । ३३४.०४ वर्ग मिटर क्षेत्रफलमा बनेको कार्यालय भवनबाट सात हजार ३४४ जना जनसमुदाय प्रत्यक्ष लाभान्वित हुने छन् ।
बागमती प्रदेश प्रहरी कार्र्र्र्र्यालय, हेटौँडाका प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्णहरी शर्माको अध्यक्षतामा आयोजित नवनिर्मित भवनको समुद्घाटन समारोहमा प्रहरी चौकीलाई पाँच कठ्ठा जग्गा दिने फलाम सिंह घिसिङको परिवारसहित प्रहरी चौकीको कार्यालय भवन निर्माण कार्यमा उल्लेखनीय योगदान गर्ने व्यक्तिहरु प्रशंसा पत्रले सम्मानीत समेत भएका थिए ।
समुद्घाटन समारोहमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पूर्णबहादुर दर्जी, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा, भौतक पूर्वाधार शाखाका प्रमुख प्रहरी नायव उपरिक्षक शम्भु प्रसाद कोईरी, जिल्ला समन्वय समिति, सिन्धुलीका प्रमुख कारसाङ लामा, उपप्रमुख शान्ता कार्की, प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्मालगायत सरोकारवाला व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts