धादिङ । लेदोसहितको पहिरो खस्दा संघीय राजधानी काठमाडाैं प्रवेश गर्ने सडकखण्ड अन्तर्गत नागढुंगा-नौबीसे सडकको सुरुङ मार्ग बाहिरकाे सडक दुईतर्फी अवरुद्ध भएको छ ।
शुक्रबार दिउँसो लेदोसहितको पहिरो खसेपछि नौबीसेतर्फको सुरूङमार्गको प्रवेशद्वारनजिकै सडक पूरै बन्द भएको हो ।
पहिरो खसेपछि राजमार्ग बन्द हुँदा राजधानी भित्रिने र बाहिरिने सयौँ सवारीसाधनको लामो जाम लागेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । पहिरोले सडक धेरै माथिसम्म ढाकेले हटाउन समय लाग्ने प्रहरीले जनाएको छ ।
मनसुन सक्रिय हुनुभन्दा अगाडि नै जल तथा मौसम विज्ञान विभागले ५६ जिल्ला उच्च जोखिमको सूचीमा रहेको भन्दै सावधानी अपनाउन भनेको थियो ।






