जुम्ला । जुम्लाको सिंजा क्षेत्रमा गुणस्तरीय शिक्षामा टेवा पुर्याउने उद्देश्यले दातृ निकायको सहयोगमा साढे तीन करोड रुपैयाँको लागतमा पाँचवटा सामुदायिक विद्यालयको भवन निर्माण गरिएको छ ।
सिँजामा तीन करोड ५० लाख ३८६ रुपैयाँमा पाँचवटा विद्यालय भवन निर्माण गरिएको हो । यहाँको हिमा गाउँपालिकाको भैरव आधारभूत विद्यालय जोगीवाडा र माथिकुडु गाउँको महादेव आधारभूत विद्यालयमा चार-चार कोठे भवन निर्माण गर्नुका साथै अपांगतामैत्री, छात्रछात्रामैत्री, हातधुने धारा निर्माण गरिएको छ ।
यस्तै सिँजा गाउँपालिकास्थित श्री माध्यमिक विद्यालय जोडु, कनकासुन्दरी गाउँपालिकाको आधारभूत विद्यालय गोरुचौर र भैलापाटा आधारभूत विद्यालय लेखपुरमा पनि चारकोठे विद्यालय भवन निर्माण गर्नुका साथै अपांगतामैत्री, छात्रछात्रामैत्री, हातधुने धारा निर्माण गरिएको पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले जानकारी दिनुभयो ।
सो क्षेत्रका स्थानीय तहको समन्वयमा प्लान नेपाल र पेस नेपाल जुम्लाको साझेदारीमा आधार परियोजना विद्यालय भवन, शौचालय र हातधुने धारा निर्माण गरिएको पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक न्यौपानेले भन्नुभयो,“ निर्माण गरिएको संरचना भूकम्प प्रतिरोधीका साथै अपांगता र बालमैत्री रहेकाछन् । सबै भौतिक संरचना निर्माण पश्चात् कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीबाट भवन उद्घाटन गर्नुका साथै स्थानीय तहलाई असोज पहिलो साता हस्तान्तरण गरिएको पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक न्यौपानेको भनाइ छ । ”
प्लान इन्टरनेसनल नेपालका क्षेत्रीय निर्देशक मीना पराजुलीले संस्थाले जहिले पनि आवश्यकतामा आधारित रहने र गुणस्तरीय शिक्षा क्षेत्रमा विगत ४५ वर्षदेखि नेपालमा शिक्षा क्षेत्र सहित अन्य क्षेत्रमा काम गर्दे गर्दै आएको बताउनुभयो ।
सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर कायम गर्ने स्थानीय सरकारको महत्वपूर्ण भुमिका रहेको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यको भनाइ छ ।






