
✍️ रमेशप्रसाद तिमल्सिना
प्रसंग अलि अघिकै हो । म ललितपुरबाट हामीले नै प्रकाशन गर्ने गरेको एक साप्ताहिक पत्रिकाको रिपोर्टिङका लागि खोकना-बुङ्मती गएको थिएँ । मैले केही स्थानीयहरूलाई भेटेर समाचारका लागि आवश्यक सामग्री तयार गरिसकेको थिएँ । सूचनाको टिपोट प्रसस्तै थियो । बुङ्मती गाउँको बीचबाट अलिक बाहिर निस्केपछि गाविसको भवन नजिकै एकजना व्यक्तिसँग भेट भयो । उनले मलाई चिने झैँ गरेर बोलाए । म पनि के कम । कुराकानी गरेँ । कुराकानी गर्न तपाईंलाई कहाँ देखेको भनेर प्रसंग कोट्याउन हामी माहिर छौं । उनी रहेछन् त्यहीँका बुज्रुक । उनले मलाई भने, ‘तपाईं रिपोर्टिङका लागि आउनुभएको रहेछ । गाउँतिर कष्ट नगर्नु भए पनि हुन्थ्यो । जिविसमा सबै कुरा थाहा भइहाल्छ नि !’
उनको भनाइलाई मैले खण्डन गर्दै भनेँ, ‘म स्थानीयस्तरमा नै पुगेर समाचार संकलन गर्न चाहन्छु ।’ किनकि म एक यात्रामा पाँच-सातवटा समाचार सामग्री बटुल्न चाहन्थेँ । उनको भनाइमा व्यंग्य मिसिएको स्पष्टै थियो । व्यंग्यको कारण रहेछ, पहिला-पहिला पनि बुङ्मतीमा यसैगरी पत्रकारहरू समाचार संकलनका लागि जाँदा रहेछन् । दुई-चार पटक गएपछि वार्षिक ग्राहक बनाउँदा रहेछन् । साना लगानीका पत्रिकाको एक किसिमको बाध्यता हो रिपोर्टिङ र वार्षिक ग्राहक एउटैले बनाउनुपर्ने ! त्यतिमात्रै कहाँ हो र विज्ञापन पनि आफैं खोज्नुपर्छ । वार्षिक ग्राहक बनाइसकेपछि पत्रकार नै बेपत्ता ! धन्न कुटेनन् मलाई । पत्रकार त त्यतिबेला बुङ्मतीमा शत्रु नै बनेका रहेछन् । हो, यस्तो परम्पराको अन्त्य नभएसम्म विकास पत्रकारिता फष्टाउन सक्दैन ।
दिने व्यक्तिले सही र सन्तुलित अनि ग्रामीण समाचार रोचक ढंगले प्रस्तुत गर्न सके भने ग्रामीण पत्रकारिता पक्कै पनि फष्टाउँछ । गाउँलेका भाषा शैली र दीनचर्या समेट्नु गाउँले पत्रकारिता हो भने गाउँको सचेतना तथा भौतिक सेवासुविधाका सकारात्मक पाटाहरू प्रस्तुत गर्नु विकास पत्रकारिता हो ।
साँच्चै भन्ने हो भने गाउँलेको हितका लागि हाम्रो देशमा पत्रिका प्रकाशित हुन सकेका छैनन् । केही पत्रिकाहरू प्रकाशित भएका भए पनि तिनीहरू ‘पैसावाल’, ‘नेता’, ‘डन’, ‘राजनीतिक दल’ तथा अन्य यस्तै समूहको स्वार्थमा छन् । त्यसो भन्दैमा सबैलाई एउटै डालोमा हाल्न त मिल्दैन । हो, यही नियति हाम्रो पत्रकारिताले ब्यहोर्दै आएको छ । पत्रकारिता क्षेत्रमा आएको ठूलो समस्या पत्रिका दर्ता गर्दाको लक्ष्यबाट स्खलित हुँदै जानु रहेको छ । कतिपय स्खलित भएका छन् भने कतिपय तलमाथिको अवस्थामा गुज्रिएका छन् ।
‘नेता’ विशेषका पत्रकार र पत्रपत्रिकाहरूले विकास पत्रकारिता गर्न खोज्नेहरूलाई समेत चुनौती थपिदिएका छन् । यो चुनौतीको सामना गर्ने क्षमता न त हाम्रा पत्रकारहरू वा प्रकाशकसँग छ न त धैर्य धारण गर्ने शक्ति नै ईश्वरले दिन सकेका छन् । क्षमता वा धीरतामध्ये कुनै एक वा दुई नै पत्रकारसँग नभएपछि कसको के लाग्छ र ? अनि पत्रिका दर्ता गर्दाको लक्ष्य प्राप्तिको बाटो ३६० डिग्रीको उल्टो फन्कोमा मोडिन्छ । भएको पनि यही हो ।
विकास पत्रकारिताको नाम आजभोलि प्रसस्तै सुनिन्छ । विश्वविद्यालयको पाठ्यक्रममा पनि विकास पत्रकारिताबारे पढाइ हुन्छ । के हो विकास पत्रकारिता ? कुनै विकास निर्माणका कामको समाचार छाप्नु वा प्रसारण गर्नु विकास पत्रकारिता हो ? कि परम्परागत पत्रकारिताकै विकसित रूपलाई विकास पत्रकारिता भनिएको हो ? बुझ्नेले कसरी बुझ्छन् भन्नुभन्दा पनि बुझाउनेले कसरी बुझाउँछन् भन्ने महत्वपूर्ण कुरा हो । दिने व्यक्तिले सही र सन्तुलित अनि ग्रामीण समाचार रोचक ढंगले प्रस्तुत गर्न सके भने ग्रामीण पत्रकारिता पक्कै पनि फष्टाउँछ । गाउँलेका भाषा शैली र दीनचर्या समेट्नु गाउँले पत्रकारिता हो भने गाउँको सचेतना तथा भौतिक सेवासुविधाका सकारात्मक पाटा प्रस्तुत गर्नु विकास पत्रकारिता हो । विकास पत्रकारिता भनेको गाउँलेको ढुकढुकी नै हो ।
यी विषयवस्तुमा कुनै पनि तलमाथि नगर्ने हो भने विकास पत्रकारिता वा भनौं गाउँले पत्रकारिता पक्कै फष्टाउँछ । अन्यथाः गाउँले पत्रकारिता गर्ने नाममा स्थापित पत्रपत्रिका पनि ‘पैसावाल’ हरूको भीडमा हराएर जान्छन् । गाउँले पत्रकारिताको अस्मिता नजानिँदो तरिकाले लुटिन्छ । धेरै बिक्ने पत्रपत्रिकाहरूमा लक्षित पाठकका रूचि अनुसारको समाचार छापिने गर्दछन् । यो सहजै अनुमान गर्न सकिने कुरा हो । राष्ट्रप्रमुख, नेता वा अभिनेताका जीवनमा भएका समान्यभन्दा सामान्य घटना पनि कतिपय अवस्थामा समाचार बनाइने चलन छ । तर, ग्रामीण बस्तीहरूका जनजीवनलाई, त्यहाँ भएका राम्रा प्रयासलाई पनि समाचार नमान्ने चलन छ ।
अझै पनि धेरै पत्रपत्रिकाहरूमा विकास पत्रकारितालाई ठूलो मात्रामा अपनाएको देखिँदैन । यसको मुख्य कारण के हो भने नाटकीय तरिकाले पत्रपत्रिकाहरूमा परिवर्तन ल्याउँदा पाठकहरू गुमाउनुपर्ने हुनसक्छ । धेरैजसो पत्रपत्रिकाहरू शहरी क्षेत्रकै लागि प्रकाशित हुने भएकाले पनि यस्तो शंका उठ्नु स्वाभाविक नै हो ।
राजधानी केन्द्रित सञ्चारमाध्यममा त गाउँबस्तीका अभाव, अनिकाल, प्राकृतिक विपत्ति, भ्रष्टाचारजस्ता नकारात्मक कुराहरूलाई मात्र स्थान दिने गरिन्छ । राम्रा प्रयासलाई समाचार कमै बनाउने गरिन्छ । यो वास्तविकता तपाईं हाम्रो सामू छ । यदि सकारात्मक प्रयास र गाउँले जनजीवनलाई प्राथमिकता दिएर समाचार प्रकाशन गर्न सकेनौं भने विकास पत्रकारिताका कुरा गर्नु ‘समय खेर फाल्ने विषयवस्तुमात्रै’ हुन जान्छ । नेपालमा गोरखापत्रका तत्कालीन सम्पादक भारतदत्त कोइरालाले ‘हाम्रो गाउँघर’ नामक स्तम्भमार्फत विकास पत्रकारिताको थालनी गर्नुभएको मानिन्छ ।
यस स्तम्भमा गाउँघरका समाचारलाई रोचक ढंगबाट प्रस्तुति गरिन्थ्यो (रे) ! खासगरी सकारात्मक समाचारहरूले यस स्तम्भमा स्थान पाउन थाले । त्यतिखेर पनि केवल शहरमुखी समाचारलाई मात्र स्थान दिने चलन थियो । जुन चलन अहिले पनि विद्यमान छ । गाउँले परिवेशका खबर त्यतिखेरको पत्रकारिताका लागि सुरुमा पच्न गाह्रो भए पनि विस्तारैविस्तारै यसले आन्दोलनको रूप लियो र ग्रामीण क्षेत्रमा पनि पत्रकारिताको विस्तार हुनुपर्छ भन्ने मान्यता बलियो हुँदै आयो । मान्यतामात्रै बलियो भए झैँ लाग्न थालेको छ । किनभने यो बहस सबैले स्वीकार गरेको विषय हो तर अभ्यासमा त्यस्तो पाइँदैन ।
अझै पनि धेरै पत्रपत्रिकाहरूमा विकास पत्रकारितालाई ठूलो मात्रामा अपनाएको देखिँदैन । यसको मुख्यकारण के हो भने नाटकीय तरिकाले पत्रपत्रिकाहरूमा परिवर्तन ल्याउँदा पाठकहरू गुमाउनुपर्ने हुनसक्छ । धेरैजसो पत्रपत्रिकाहरू शहरी क्षेत्रकै लागि प्रकाशित हुने भएकाले पनि यस्तो शंका उठ्नु स्वाभाविक नै हो । किनभने शहरी क्षेत्रका पाठकका लागि विकासको कुराभन्दा राजनीतिमै बढी चासो हुनेगरेको देखिएको छ । अर्काे कारण भनेको विकासका गतिविधिलाई रोचक तरिकाले प्रस्तुत गर्न नसक्नु पनि हो । वा कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने कुरामा अनुसन्धान हुन बाँकी नै छ र लेख्ने समाचारदाता वा स्तम्भकारले गाउँमा भएका सकारात्मक प्रयासलाई रोचक ढंगबाट प्रस्तुत गर्न सकेको पाइँदैन ।
सामान्य विषयवस्तुलाई पनि रोचक ढंगबाट उठान गर्न सक्दा विकास पत्रकारिता आमपाठकका लागि राजनीतिभन्दा पनि रूचिको विषय हुनसक्छ । अबको पत्रकारिता त्यतैतिर लम्कनु आवश्यक छ । यसको सुरुवात विभिन्न स्थानीय एफएमहरूले भने गरिसकेका छन् । पत्रपत्रिकामा भन्दा एफएममा यस्तो अभ्यास बढी नै भएको पाइन्छ । यसो गर्न सकेनौं भने पत्रकारिता सोखको विषयमा सीमित हुन जान्छ । पत्रकारितालाई व्यावसायिक बनाउने कि सोखको विषय बनाउने हो छनोट गर्ने जिम्मा क्रियाशील पत्रकारको हातमा छ ।
(तिमल्सिना मानव अधिकार र सञ्चारको क्षेत्रमा दुई दशकदेखि सक्रिय हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच