काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रोसँग कार्यान्वयन नै नगरी संविधान संशोधन र समीक्षाको कुरा झिक्नु ठिक नहुने बताउनुभएको छ । संविधान निगरानी समूह र आइएसएआरको संयुक्त आयोजना सोमबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता’, विषयक छलफल कार्यक्रमलाई सम्बोधनका क्रममा उहाँले यस्तो बताउनुभएको हो । ‘अहिले पनि संविधान कार्यान्वयनमा ठूलो चुनौती छ । इमान्दारीसाथ कार्यान्वयन गरिसकेपछि मात्रै पो समीक्षा गरेर संशोधनमा जाने हो’, उहाँले भन्नुभयो, ‘तर अहिले सकेसम्म कार्यान्वयनमा गर्न नदिने काम भएको छ । संविधान कार्यान्वयन भएन भनेर अर्को बाटोमा जान सकिँदैन । कार्यान्वयन नगरी यो संविधान असफल भयो भन्ने छुट यसमा सही गर्ने दलहरू र शक्तिलाई छैन ।’ उहाँले अहिलेका सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेको एजेण्डा कहिल्यै पनि संविधान संशोधन नभएको टिप्पणी गर्नुभयो । ‘अहिलेको प्रधानमन्त्रीको पार्टी एमाले र कांग्रेसले संविधान संशोधन गरौँ भनेर छलफल गरेका थिएनन्’, उहाँले भन्नुभयोे, ‘उनीहरूलाई सरकार चाहिएको थियो । माओवादी सरकारलाई हटाउनका लागि उनीहरूले संविधान संशोधनको कथा बनाएको हो । संविधान संशोधन ठूला पार्टीको एजेन्डा होइन । यी दुई पार्टीको उद्देश्य माओवादीलाई फ्याँकेर सत्तामा पुग्नु मात्रै थियो ।’
प्रचण्डले छेडखानी तरिकाले संविधान संशोधन गर्न खोजिए देश सम्हाल्नै नसक्ने स्थितिमा पुग्ने बताउनुभयो । विचार नपुर्याई यस्ता गल्ती नगर्न कांग्रेस र एमालेका नेताहरूलाई आग्रह गर्नुभयोे । ‘संविधान संशोधनको विषयमा अलिकति पनि छेडखानीबाट गयौँ भने पान्डोराको बक्स खोले जस्तै हुन्छ । देश सम्हाल्नै नसक्ने खतरा हुनसक्छ । हामी सबैले ध्यान दिनुपर्ने कुरा यो छ’, सचेत गराउँदै उहाँले भन्नुभयोे, ‘जनताले पाएको अधिकार खोसियो भने त्यसले ठूलो अराजकता जन्माउँछ । नेपालमा समाल्न सक्ने हुन्छ भन्ने लाग्दैन ।
अराजकता फैलाउने गरी संविधान संशोधन नगर्दिनोस् भन्न चाहन्छु । उहाँले दोस्रो संविधान सभाबाट पनि संविधान सजिलै बन्न नदिन धेरै शक्तिहरूले चलखेल गरेको स्मरण गर्नुभयो । त्यतिबेला शान्ति र संविधानको निम्ति प्रमुख भूमिका खेल्नेमध्ये आफू एक भएको उनले दाबी गर्नुभयो । आफू जीवितै हुँदा संविधान नबन्ला कि भनेर धेरै चिन्तित भएको उहाँले सुनाउनुभयो । यस्तै, अहिलेको निर्वाचन प्रणालीले भ्रष्टाचारलाई संस्थागत गर्न मद्दत पु¥याउने भएकाले संशोधन गर्नुपर्ने बताउनुभयो । यसैगरी अहिलेको संविधानले बहुदलीय प्रतिस्पर्धालाई अंगीकार गरेकाले नेपालको सन्दर्भमा दुई दलीय प्रणाली ठीक नभएको स्पष्ट पार्नुभयो । साथै संविधानमा राखिएको धर्म निरपेक्षतालाई हटाउन खोजिए ठूलो समस्या आउनेतर्फ उहाँले सचेत गराउनुभयो ।
संविधानमा संशोधन गर्नुपर्ने विषय धेरै छन् : पाण्डे
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले संविधान अपरिवर्तनीय नहुने भन्दै संशोधन गर्ने विषयहरू धेरै भएको बताउनुभएको छ । सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले यसअघि दुईपटक संविधान संशोधन भइसकेको बताउनुभयो । ‘दुईपटक संविधान संशोधन नै भइसक्यो, हामीले यसलाई अपरिवर्तनीय मानेका छैनौँ’, पाण्डेले भन्नुभयोे, ‘यसलाई परिवर्तन गर्ने ठाउँहरू खोजौँ तर प्रक्रियामा पनि सहमति गरौँ, इस्युमा पनि सहमति गरौँ ।’ उहाँले संविधान निर्माणका बेला प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ को सदस्य बनाउनुपर्छ भन्ने आफ्नै प्रस्ताव रहेको पनि बताउनुभयो । त्यसक्रममा पाण्डेले प्रदेश सांसद कति बनाउने भन्ने बहसमा एक बराबर दुई भनेर प्रस्ताव गरेपछि त्यही पास भएको बताउनुभयो । उहाँले प्रदेश सभामा प्रदेश सांसदको २० प्रतिशत मन्त्री हुन पाउने प्रस्ताव पनि आफूले गरेको भए पनि त्यो धेरै भएको अहिले महसुस भएको बताउनुभयो । ‘प्रदेशको मन्त्री कति बनाउने भन्ने कुरामा २० प्रतिशत प्रस्ताव राख्ने मान्छे म हुँ । तर, धेरै भएछ’, उहाँले भन्नुभयोे, ‘प्रदेशमा १० प्रतिशत गर्नुपर्ने रहेछ । प्रदेशमा मन्त्रीको संख्या १० प्रतिशत गरेको भए टाइट हुन्थ्यो, धेरै मान्छे मन्त्री बन्न पाउँदैनथे ।’ पूर्वमन्त्रीसमेत रहनुभएका पाण्डेले यस्ता धेरै पक्षमा संविधान संशोधन गर्न सकिने बताउनुभयो ।
प्रचण्डको संविधानलाई नेपालको संविधान बनाउनुपर्छ : मिश्र
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सिट संख्या थोरै भए पनि नेपालको राजनीति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै वरिपरि घुमिरहेको टिप्पणी गर्नुभएको छ । संविधान निगरानी समूहको कार्यक्रममा बोल्दै उहाँले नेपालको संविधानलाई प्रचण्ड संविधानको संज्ञा दिनुभयो । राप्रपाका उपाध्यक्ष मिश्रले भन्नुभयोे, ‘नेपालको संविधान २०७२ लाई मैले प्रचण्डको संविधान २०७२ भन्ने गरेको छु । अहिले हामी जुन बाटो हिँडिरहेका छौँ, यहाँ अरू पार्टीका साथीहरू पनि हुनुहुन्छ, पहिले सशस्त्र द्वन्द्वको १० वर्ष त्यो सम्पूर्ण समय प्रचण्डको वरिपरि राजनीति घुम्यो । उहाँ मूलधारको राजनीतिमा आएको १५ वर्षपछि पनि उहाँकै वरिपरि राजनीति घुमिराखेको छ । ३२ सिटको जादुमय कुरा त उहाँ आफैँले गर्नुभएको छ, सिट थोरै होस् वा धेरै उहाँकै वरिपरि घुमिरहेको छ । यो संविधानबाट जे भएको छ, प्रचण्डकै संविधानमार्फत गरिएको छ, जे वास्तविकता उजागर भएका छन्, त्यो प्रचण्डकै संविधानबाट भएका छन् ।’ उहाँले अब प्रचण्डको संविधानलाई नेपालको संविधान बनाउनुपर्ने बताउनुभयो । कांग्रेस-एमालेले संविधान आफूहरूले बनाएको भने पनि केन्द्रमा प्रचण्ड नै रहेको नेता मिश्रले जिकिर गर्नुभयो ।
संविधान पुनरवलोकनमा जाँदा सहमतिको वातावरण बन्नुपर्छ : श्रेष्ठ
पूर्व–प्रधानन्यायाधीशले कल्याण श्रेष्ठ संविधान संशोधन र समीक्षामा जानुभन्दा पहिले राम्रोसँग कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता’, विषयक छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । ‘अझै पनि संविधान कार्यान्वयनमा समस्या यथावत छन् । संविधानले दिएका हक उपभोग गर्ने कुरामा समस्या छन् । संविधानबारे खुल्ला बहसका लागि सबै तयार देखिनुभएको छ । तर, पहिले त राम्ररी कार्यान्वयन हुनुपर्छ’, उहाँले भन्नुभयोे, ‘संविधान कार्यान्वयनमा समस्या देखिँदा संघीयतामा पनि विरोधाभाष देखिएको छ । विरोधाभाषपूर्ण चरित्रले संघीयता कार्यान्वयनमा समेत प्रश्न उठेको छ । जनताले संघीयताबारेमै प्रश्न उठाउन थालेका छन् ।’ उहाँले यो संविधानमा समावेशिता सबैभन्दा महत्वपूर्ण कुरा भए पनि पुनर्परिभाषाको आवश्यकता भएको बताउनुभयो । पूर्व-प्रधानन्यायाधीश श्रष्ठले समावेशिताको उद्देश्य समृद्धि हुनुपर्नेमा जोड दिनुभयो । श्रेष्ठले संविधान पुनरवलोकनमा जाँदा सबैबीच सहमतिको वातावरण चाहिने बतााउनुभयो । उहाँले हारजितको वातावरण बनाएर संविधान पुनरवलोकन हुन नसक्ने पनि बताउनुभयो । ।
पहिचानको पक्षमा संविधान संशोधन हुनुपर्छ : परियार
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संविधान संशोधनबाट डराउनुपर्ने केही नभएको बताउनुभएको छ । संविधान निगरानी समूहको कार्यक्रममा बोल्दै संविधान समयअनुकूल संशोधन गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले समानुपातिक निर्वाचन प्रणालीले अस्थिरता ल्याइदिएको भनेर कांग्रेस-एमालेले सफेद झुट बोलेको टिप्पणी गर्नुभयो । सरकारले संविधान संशोधनको मुद्दा अघि सारे पनि नियतमा प्रश्न उठेको जिकिर गर्नुभयो । उहाँले दलित, महिला, मधेश, पहिचानको पक्षमा संविधान संशोधन गरेर बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नेतृत्व गरिदिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयोे, तपाईंको नेतृत्वमा भएकामध्ये सबैभन्दा राम्रो संविधान आयो, फेरि नेतृत्व गरिदिनुस्, दलित, महिला, मधेश, पहिचानको पक्षमा संविधान बनाउने नेतृत्व गरिदिनुस् ।






