काठमाडौं । माछापुच्छ्रे बैंकले २४औँ वार्षिकोत्सव तथा चाडपर्वलाई लक्षित गर्दै डिजिटल सेवाहरूमा ‘अफरै अफरहरू’ ल्याएको छ । असोज १७ गतेदेखि बैंक २४औँ वर्ष पूरा गरी २५औँ वर्षमा प्रवेश गर्दैछ । बैंकले वार्षिकोत्सवका अवसरमा डिजिटल सेवाहरूमा विभिन्न क्यासब्याक तथा विशेष छुट अफर ल्याएको हो ।
बैंकले असोज ३० गतेसम्मका लागि यस्तो अफर ल्याएको जनाएको छ । जसअन्तर्गत बैंकको डेबिट कार्ड लिने ग्राहकलाई कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यसपछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गर्नेछ । बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधिका लागि एकमुष्ट दुई हजार चार सय रुपैयाँमा प्रदान गर्नेछ भने मोबाइल बैंकिङ सेवाको सदस्यता शुल्कमा वार्षिक ५० प्रतिशतसम्म छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४ प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।
२४औँ वार्षिकोत्सव लक्षित यस योजनाअन्तर्गत असोज १६ र १७ गते दुर्ई दिन अवधिमा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले विभिन्न मर्चेन्टबाट वस्तु तथा सामान खरिदमा डेबिट कार्डमार्फत् बिल भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम एक सय २४ रुपैयाँ तथा क्रेडिट कार्डमार्फत् बिल भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम दुई सय २४ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्ने बैंंकले जनाएको छ ।
त्यसैगरी असोज १८ गतेसम्मका लागि डिजिटल कारोबार प्रोत्साहन र प्रवद्र्धनका लागि बैंकको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेजमार्फत् ग्राहकका लागि क्विज कार्यक्रम सञ्चालन गर्ने र सही उत्तर दिने सहभागीमध्ये भाग्यशालीले आकर्षक उपहार पाउने बताइएको छ । अभियान अवधिभर बैंकबाट जारी डिजिटल माध्यमबाट कारोबार गर्ने ग्राहक र डिजिटल भुक्तानी लिने मर्चेन्टका लागि बैंकले विभिन्न मर्चेन्ट तथा भेन्डर्सद्वारा प्रायोजित विविध उपहार जस्तैः टिभी, मोबाइल फोन, ट्याब, स्मार्टवाच, रिचार्जकार्ड तथा आकर्षक गिफ्ट भौचरहरू प्रदान गर्ने जनाएको छ ।






