बिहानी कप फुटबल : बोखिमलाई हराउँदै दिङला बिजेता
Read Time = 3 mins
भोजपुर । भोजपुरको स्थानीय टुँडिखेलमा जारी अण्डर–१६ अन्तर विद्यालय स्तरीय बिहानी कप फुटबल प्रतियोगिता अन्तर्गत शनिवार भएको फाइनल खेलमा बोखिमलाई हराउँदै दिङला बिजेता बन्न सफल भएको छ ।
दोश्रो संस्करणकोरुपमा असोज दुई गतेबाट सुरु विद्यालय स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलको निर्धारित समयमा चार गोल गर्दै दिङलाको षडानन्द मावि बिहानी कप फुटबलको बिजेता बनेको हो ।
दिङलाका तर्फबाट आठ नम्बर जर्सीका रेविसन माझीले तीन गोल गरेका थिए भने पाँच नम्बर जर्सीका उज्ज्वल बस्नेतले अर्को गोल थप्दै खेललाई ४–१को अवस्थामा पुर्याएका थिए । प्रतियोगिताका म्यान अफ द म्याच दिङलाका आठ नम्बर जर्सीका रेविसन माझी भए । प्रतिस्पर्धामा रहेको बोखिमको पञ्चकन्या माविका तर्फबाट जर्सी नम्बर ३ का सविन प्रधानले खेलकाे अन्तिम समयमा पेनाल्टी मार्फत एक गोल गरे ।
बिहानी फुटवल क्लव भोजपुरको आयोजना तथा जिल्ला फुटवल संघको संयोजनमा संचालित प्रतियोगिताको बिजेता दिङलाले नगद ४४ हजार चार सय ४४ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ भने उपबिजेता बनेको बोखिमले नगद २२ हजार दुई सय २२ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ ।
यस्तै प्रतियोगिता तर्फ बेष्ट गोलकिपर, बेष्ट डिफन्डर, बेष्ट मिडफिल्डर र उत्कृष्ट खेलाडीहरुले समेत पुरस्कार पाएका छन भने प्रतियोगितामा सहयोग गर्ने संस्था तथा ब्यक्तिहरुलाई पनि कदर पत्र प्रदान गरिएको छ ।
भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले प्रमुख निर्णायकलाई बल हस्तान्तरण गरेसँगै फाइनल खेल सुरुवात भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






