म्याग्दी । स्वादिलो स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा उत्पादित रोयल, रेड, गोल्डेनलगायतका स्याउ असोज १ गते अर्थात् आजदेखि टिप्न थालिएको छ ।
गत भदौ पहिलो साता जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङको अध्यक्षतामा सम्पन्न सरोकारवालाको बैठकले गरेको निर्णय अनुसार असोज १ गतेदेखि रोयल, रेड र गोल्डेन डेलिसियसलगायत प्रजातिका स्याउ टिप्न शुरू भएको हो ।
मुस्ताङका किसानले लगाएको रोयल डेलिसियस, रेड डेलिसियस, गोल्डेन डेलिसियस र फुजीलगायत प्रजातिका स्याउ टिपेर बजार पठाउन शुरू भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत निशान खड्का मगरले बताउनुभयो । पाँच गाउँपालिका रहेको मुस्ताङका अधिकांश ठाउँमा स्याउ खेती हुने गरेको छ ।
उहाँका अनुसार मुस्ताङमा उत्पादित छिटो पाक्ने गाला प्रजातिको स्याउ भदौ १० र किङरोट रेड डेलिसियस प्रजातिको स्याउ भदौ १५ गतेपछि टिप्ने निर्णय भएको थियो भने अन्य प्रजातिका स्याउ असोज लागेपछि मात्रै टिपेर बजार पठाउने निर्णय भएको थियो । छिटो पाकेका स्याउ भने टिपेर यसअघि नै बजार पठाइसकिएको छ ।
मुस्ताङको स्याउ उपयुक्त समयमा टिप्यो भने निकै स्वादिलो र गुणस्तरीय हुन्छ । समय पुगेको स्याउले उपभोक्तामा पनि ख्याती कमाउने तथा किसानले समेत राम्रो मूल्य पाउने भएकाले स्याउ टिप्नका लागि समय निर्धारण गरिएको सरोकारवालाहरु बताउँछन् ।
मुस्ताङमा १४ सय ७५ हेक्टर क्षेत्रफलको जमिनमा स्याउ खेती गरिएकोमा ५ सय ८० हेक्टरको स्याउले उत्पादन दिँदै आएको छ । गतवर्ष मुस्ताङमा ४ हजार ९ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । अनुकुल मौसम, बगैँचा व्यवस्थापन र क्षेत्रफल विस्तारलगायत कारणले विगत वर्षको तुलनामा यसवर्ष स्याउ उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको कृषि प्राविधिकहरु बताउँछन् ।
मुस्ताङमा सबैभन्दा राम्रो स्याउ फल्ने मार्फा र टुकुचेलाई मानिन्छ । मुस्ताङको घरपझोङ गाउँपालिकाको पाँचवटै वडा, थासाङको टुकुचे, बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ र चैले स्याउ उत्पादनको पकेट क्षेत्र मानिन्छन् । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केही वडा र लोमान्थाङ गाउँपालिकामा समेत पछिल्लो समय स्याउ खेती हुन थालेको छ ।
मुस्ताङमा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउको उत्पादन हुँदै आएको छ । पछिल्लो समय उच्च घनत्वको ईटालीयन प्रजातिको स्याउ समेत लगाइएको छ । मुस्ताङमा उत्पादित स्याउ पाकेपछि व्यापारीहरु खरिद गर्न किसानको बगैंचामै पुगेका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts