खोटाङ । राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा खोटाङले दुईजना पत्रकारलाई नगदसहित सम्मान गरेको छ । संघले पत्रकार राजन ठटाल र कृष्णकला राई (सुनिता) लाई नगदसहित सम्मान गरेको छ ।
संघको दोश्रो जिल्ला अधिवेशनका अवसरमा मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा पत्रकार ठटाल र पत्रकार राईलाई जनही दुई हजार पाँच सयसहित सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको संघका जिल्ला अध्यक्ष सविना परियारले बताउनुभयो।
पत्रकारिताको माध्यमबाट समाज परिवर्तन र दलित समुदायको प्रतिनिधित्व गर्दै दलित शसक्तिकरणको क्षेत्रमा कलम चलाएर समतामूलक समाज निर्माणका लागि महत्वपूर्ण योगदान पुर्याएकाले सम्मान गरिएको जनाईएको छ ।
रावाबेशी गाउँपालिका-१ कुभिण्डेका पत्रकार ठटाल इफोकस न्युजका अध्यक्ष, एभिन्युज टेलिभिजन र हिमशिखर टेलिभजनका जिल्ला संवाददाता हुन् भने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकाकी राई खोटाङटुडे डटकमका सञ्चालक र पत्रकार महासंघ जिल्ला शाखा खोटाङका उपाध्यक्ष हुन्।
यसैवीच, राष्ट्रिय दलित पत्रकार संघको दोश्रो अधिवेशनबाट पत्रकार सविना परियार दोहोरिनुभएकाे छ। पहिलो कार्यकालमा अध्यक्ष रहनुभएका परिवार दोश्रो अधिवेशनमा पनि सर्वसहमत अध्यक्षमा दोहोरिनुभएकाे हाे
परियारको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति गठन भएको छ । उपाध्यक्षमा लेख रम्तेल, सचिवमा विष्णु उपरकोटी, सह-सचिव ज्ञानेन्द्र विश्वकर्मा, कोषाध्यक्षमा सन्तोष विक हुनुहुन्छ । सदस्यहरुमा प्रमिला परियार, ओशन रोका, जुनु परियार र मनिष परियार रहनुभएकाे छ ।






