झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकका कम्युनिस्ट पार्टीहरुले समाजवादको कुरा मात्र गर्ने बताउनुभएको छ । उहाँले कांग्रेस लोकतान्त्रिक समाजवादको पक्षधर भएको दाबीसमेत गर्नुभयो ।
“लोकतन्त्रमा बाहेक अन्यत्र समाजवाद हुँदै हुँदैन”, १११ औं वीपी जयन्तीको अवसरमा झापाको भद्रपुरमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “कांग्रेस र कम्युनिस्टको समाजवाद छुट्टाछुट्टै हुन्छ ।” समाजवादमा केन्द्र हावी हुने र लोकतान्त्रिक समाजवादमा जनताको भावनाको प्रतिनिधित्व हुने उहाँको भनाइ छ ।
“सरकारमा भए पनि नभए पनि, प्रधानमन्त्री बनाएर पनि अन्य दललाई लोकतान्त्रिक समाजवादको यात्रा सँगसँगै हिँडाउनु पर्ने दायित्व कांग्रेसको हो”, नेता सिटौलाले भन्नुभयो । लोकतान्त्रिक समाजवादबाट गरीब जनतालाई अघि बढाउने जिम्मेवारी कांग्रेसको काँधमा रहेको उहाँको तर्क छ ।
“शक्ति जनताबाट प्राप्त हुन्छ, जनता नै त्यसको आधार हो”, उहाँले भन्नुभयो, “जनताबाट आर्जन भएको शक्ति जनताकै हितमा प्रयोग गर्नुपर्छ, जनताको हित गर्ने स्वार्थ हरेक दलले राख्नुपर्छ ।” शक्तिले मान्छेलाई अन्धो बनाउने बताउँदै उहाँले त्यो कुसंस्कार सबै दलमा भएको जिकिर गर्नुभयो ।
राष्ट्रियसभा सदस्य समेत रहनु भएको उहाँले गरीब, विपन्न, निमुखाको पक्षमा काम गर्ने वीपीको चाहना र विचार भएको बताउनुभयो। उहाँले भन्नुभयो, “उनीहरुको पक्षमा काम गर्न सके त्यही नै वीपीप्रतिको सच्चा श्रद्धाञ्जली हुन्छ ।”
जनताको कुरा सुन्न र काम गर्न नेता सिटौलाले कांग्रेस नेता ( कार्यकतालाई आग्रह गर्नुभयो । क्षमता अनुसार जनतालाई अघि बढाउने वातावरण निर्माणमा कांग्रेस कार्यकर्ताले जुट्नु पर्नेमा उहाँले जोडसमेत दिनुभयो ।
बिपी कोइरालाले २००७ सालमा देख्नुभएको जनचाहना अनुरुपको संविधानको सपना पूरा हुने क्रममा रहेको सिटौलाले बताउनुभयो । उहाँले २००७ सालमा वीपीले पहिलो पटक संविधानको विचार उठान गर्नुभएको बताउनुभयो ।
“जनताको साझा संविधानको विषय वीपीले पहिला कुरा उठाउनुभएको थियो”, नेता सिटौलाले भन्नुभयो, “त्यो सपना साकार भएको छ, यो एउटा ठूलो उपलब्धि हो, कांग्रेसका लागि गर्वको विषय हो ।” तथापि, नयाँ संविधान निर्माणमा सबै दलको भूमिका उत्तिकै महत्वपूर्ण रहेको उहाँले स्मरण गर्नुभयो ।
कार्यक्रममा कांग्रेसले सञ्चालन गरेको सशस्त्र क्रान्तिमा सहभागी भई जेलसमेत पर्नुभएका बाह्रदशी गाउँपालिकाव५ का बाबुलाल टुडू, प्रजातन्त्र सेनानी हल्दिबारीका अमृतबहादुर आङ्दम्बे र कचनकवल ७ बालुबाडीका शहीद चन्द्रमणि भट्टराईकी पत्नी सीतादेवी भट्टराईलाई सम्मान गरिएको हो ।
कार्यक्रममा केन्द्रीय सदस्य गोमा भट्टराई, झापा ३ का कांग्रेसक्षेत्रीय सभापति गणेश पोखरेल, सचिव गीताप्रसाद भट्टराई, भद्रपुर नगर सभापति राम कँडेल, बाह्रदशी गाउँ समिति सभापति इन्द्र बस्नेत, कचनकवल गाउँ समिति सभापति तुलाराम अधिकारी, हल्दिबारी गाउँ सभापति गंगाप्रसाद प्रसाईं, स्थानीय नेताहरु कृष्ण मैनाली, चन्द्रमणि खरेल, भक्त परियार लगायतले बिपीको योगदान र प्रजातान्त्रिक समाजवाद बारेमा बोल्नु भएको थियो ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा