‘सोली डोली’ सुरेशकुमार भट्टको पुस्तक हो । यो हाइकुसङ्ग्रह हो । यो हाइकुको भीककाय पुस्तकका रूपमा देखापरेको छ । यसपहिले हाइकु उपविधामा यति ठूलो आकारका पुस्तक आएको जस्तो लाग्दैन । कृतिकार आफैँ प्रकाशक रहनुभएको यो पुस्तकको यो पहिलो संस्करण हो जुन २०७८ सालमा सार्वजनिक भएको छ । यो पुस्तक १००० प्रति छापिएको छ । यसको सर्वाधिकार पनि लेखकमै छ । पुस्तकको लेआउट अमृता श्रेष्ठको रहेको छ । यसको मुद्रण मित्र प्रेस प्रा.लि.खुसिबुँ नयाँबजार काठमाडौँमा भएको छ ।
पुस्तकमा भूमिका खण्डमा २८ र पाठ्य खण्डमा २६० गरी जम्मा २८८ पृष्ठ छन् । यसको मूल्य नेपालीमा ३०० रुपैयाँ र विदेशमा १५ युएस डलर छ । आवरण नीलो पृष्ठभूमिमा दुईजनाले डोली (तामदान) बोकेको र पहिले पहिले गाउँघरतिर कोसेली बोक्ने गरेको सोली पनि देखाइएको छ । माथि सेता ठूला अक्षरमा ‘सोलीडोली’ भनिएको छ र सँगै लोकवेद पनि भनिएको छ । तल साना अक्षरमा हाइकुकारको नाम दिइएको छ ।
हाइकु कविताको लघुत्तम उपविधा हो, छोटोमा कुनै कुरा छिटो छरितो ढङ्गले प्रस्तुत गर्दा यसलाई माध्यम बनाइन्छ । भट्टमा हाइकु लेखनमा सिद्धहस्तता रहेछ भनेर यस पुस्तकले सावित गरेको छ ।
यसले गर्दा पुस्तकको शीर्षकको सार्थकता झल्किएको छ । डिएमआई आकारको यस पुस्तकको छपाइस्तरीय छ र अशुद्धिहरू कमै पाइन्छन् । यसमा पहेंलो हलुका कागजको प्रयोग भएको छ । पृष्ठआवरणमा फोटोसहित लेखकको परिचय दिइएको छ । उहाँको सामान्य परिचयदेखि उहाँका अन्य प्रकाशित पुस्तकहरू, उहाँले पाएका मानसम्मान र पुरस्कार, संलग्नता रहेका संघसंस्था, भ्रमण गरेका देशहरूका साथै सम्पर्क स्थानका बारेमा खुलाइएको छ ।
भूमिका खण्डमा नेपाल प्रज्ञाप्रतिष्ठानका तत्कालीन कुलपति गङ्गाप्रसाद उप्रेतीको ‘शुभकामना’ प्राडा.कुलप्रसाद कोइरालाको ‘सुरेशकुमार भट्टलाई बधाई’ शीर्षकको लामो भनाइ, प्राडा.कुसुमाकर न्यौपानेको ‘सिर्जनशील सुरेशकुमार भट्ट’, डा.हरिप्रसाद सिलवालको ‘लोककाव्य सोलीडोलीको सङ्क्षिप्त समीक्षा’, पुष्कर लोहनीको ‘सोली डोली खोली हेर्दा’ शीर्षको लामा विचार प्रस्तुत भएका छन् । त्यसपछि विषयसूची छ । यस पुस्तकमा सुरुमा धरती बन्दना र पूर्वाङ्ग बन्दना छन् । त्यसपछि पुस्तकलाई दुई खण्डमा विभाजन गरिएको छ ।
खण्ड ‘क’ मा विभिन्न नौवटा पर्व छन् भने खण्ड ‘ख’ मा दुईवटा पर्वहरू छन् । लेखकको भूमिका पुस्तकको अन्त्यमा राखिएको छ । हाइकु ५+७+५ गरी १७ अक्षरमा लेखिने कविताको लघुत्तम उपविधा हो, छोटोमा कुनै कुरा छिटो छरितो ढङ्गले प्रस्तुत गर्दा यसकालाई माध्यम बनाइन्छ । भट्टमा हाइकु लेखनमा सिद्धहस्तता रहेछ भनेर यस पुस्तकले सावित गरेको छ । उहाँले यस पुस्तकमा सङ्ग्रह गर्नु भएका हाइकुहरूले विविधतालाई समेटेका छन् र अनुप्रासयुक्त रहेका छन् । पुस्तकमा धरती बन्दनामा ४४ र पूर्वाङ्ग बन्दनामा ४३ वटा हाइकुहरू छन् । खण्ड ‘क’ पुस्तकको मुख्य भाग रहेको देखिन्छ ।
यहाँ संस्कृति पर्व, प्रकृति पर्व, राजनीति पर्व, समसामयिक गति पर्व, धनसम्पत्ति पर्व, जीवन गति पर्व, जुझारु गति पर्व, मायाप्रीति पर्व, प्रवृत्ति पर्व रहेका छन् । खण्ड ‘ख’ मा प्रवास संस्कृति पर्व र प्रवास प्रकृति पर्व गरी दुईवटा पर्व छन् । खण्ड ‘क’ मा मात्र २८२८ वटा हाइकु छन् भने खण्ड ‘ख’ मा ३०७ वटा हाइकु छन् । बन्दना खण्डका ८७ वटासमेत यस पुस्तकमा ३२२२ वटा हाइकुहरू समेटिएका छन् । त्यसकारण यसलाई हाइकुको बृहत् पुस्तक भनिएको हो । यस पुस्तकका लागि हायकुकार भट्टलाई बधाई छ । आगामी दिनहरूमा पनि उहाँबाट यस प्रकारकार अन्य पुस्तक आउन्, हार्दिक शुभकामना ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता