भोजपुर । आयुर्वेद सेवाका बारेमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले समन्वयात्मक समिक्षा कार्यक्रम गरेको छ ।
टेम्केमैयुङ गाउँपालिकाको वडा नम्वर २, गोठेसिंह होमस्टेमा आयोजित समिक्षा कार्यक्रमका सहभागी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, आयुर्वेद औषधालय र नागरिक आरोग्य सेवा केन्द्रका अभियानकर्ताहरुले आर्थिक बर्ष २०८०/०८१ मा भएका बार्षिक प्रगती बितरण प्रस्तुत गर्नु भएको थियो ।
सोक्रममा प्रस्तुत गरिएको समिक्षा प्रतिवेदनमा जिल्लामा बाथ, पायल्स, सुगर, ग्याष्टिक लगायतका बिरामीहरु देखिने गरेको उल्लेख गरिएको छ ।पछिल्लो समयमा जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्रहरुमा उपचारका लागि आउने बिरामीहरुको संख्या समेत बढदै गएको देखिएको छ । आरोग्य सेवा केन्द्र चम्पेका अभियानकर्ता सरस्वती मगर, घोडेटारका अभियानकर्ता राजकिशोर साह, अन्नपूर्णका अभियानकर्ता चन्देश्वर राय, च्याङग्रेका अभियानकर्ता शैलेश कुमार मिश्र, आर्युवेद औषधालय दिङलाका प्रमुख अरबिन्द कुमार मोरबैता, आयुर्वेद औषधालय ओख्रेका प्रमुख ईश्वरनाथ मिश्र, टक्सार आयुर्वेद औषधालयका प्रमुख दिलिप कुमार झा, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. सरबिन्द प्रसाद यादवले गत आर्थिक बर्षको सेवा, प्रगती बिवरण र समस्याका बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
सोक्रममा आफनो भवन र दरवन्दी अनुसारका कर्मभचारी नहुदाँ सेवा प्रवाहमा समस्या हुदै आएको गुनासो आएको छ । १९९९ सालमा स्थापना भएको जिल्ला सवै भन्दा पुरानो दिङला आयुर्वेद औषधालयको भवन भुकम्पका कारण जीर्ण भएका कारण मर्मतमा बजेट नआउँदा समस्या भएको छ । यस्तै ओख्रेमा रहेको औषधालयको पनि भवन निर्माण चरणमा छ । जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र पनि हाल भाडामा नै संचालन रहदै आएको छ । जिल्लाका लागि भने भोजपुर नगरपालिका वडा नम्वर आठका स्थानीय जीवराज कोइरालाले तीन रोपनी जग्गा निशुल्क उपलब्ध गराउनु भएको छ । गत बर्ष जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट १४ हजार चार सय २६ जनाले आयुर्वेद सम्वन्धी सेवा पाएका छन ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. सरबिन्द प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी स्वास्थ्य निर्देशनालय धनकुटा आयुर्वेद शाखाका प्रमुख बिजय कुमार झाले आयुर्वेद सेवासँगै नागरिक आरोग्य सेवा केन्द्रहरुको भुमिका महत्वपूर्ण भएकाले मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने सन्देश प्रत्येक नागरिकको घरघरमा पुर्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले जिल्लामा संचालित नागरिक आरोग्य कार्यक्रम प्रभावकारी भएकाले त्यसलाई अझ नागरिक मैत्री बनाउँदै लानु पर्ने बताउनुभयो । प्रभावकारी सेवा प्रवाहका बिषयमा देखिएका समस्या समाधानका लागि आफु र निर्देशनालयले सधै सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो ।
सोक्रममा कार्यक्रमका बिशेष अतिथी बरिष्ठ पत्रकार निरोज कोइरालाले बिगतमा कोठामा रहेको आर्युवेद सेवा अहिले गाउँ गाउँमा प्रभावकारी बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “आयुर्वेदिक पद्धतीमा नागरिकहरुको बिश्वास बढदै गएको छ, सेवा प्रभावकारी बनाउनका लागि देखिएका समस्या समाधान गर्दे सवै पक्ष सक्रिय हुन जरुरी छ ।” सोक्रममा सहभागिहरुले यस आर्थिक बर्षमा सेवा प्रवाहलाई थप प्रतिबद्ध बनाउन कटिबद्ध भएर लाक्ष्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।