गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–७ बुङ्कोटस्थित श्री सहिद स्मृति माध्यामिक विद्यालयले विद्यार्थीलाई पढ्दै आयआर्जन गर्न सिकाउन थालेको छ ।
विद्यार्थीलाई विद्यालयमा अचार बनाउने सिकाएर आयआर्जनसँग जोड्न थालिएको विद्यालयका शिक्षक एवं सिक्दै कमाउँदै कार्यक्रमका संयोजक अनुपबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
विद्यालयले पहिलो चरणमा विद्यार्थीलाई पढ्दै कमाउन सिकाउनका लागि विद्यालय हाताभित्र लप्सीको अचार उत्पादन गर्न सुरु गरेको उहाँको भनाइ छ । “कम्पाउण्डभित्रै लप्सी लटरम्मै फलेर खेर गइरहेको थियो, त्यसैलाई उपयोग गर्दै विद्यार्थीले अचार उत्पादन थालेका छन्, त्यसले राम्रो प्रभाव पनि पारेको छ”, उहाँले भन्नुभयो ।
उत्पादित लप्सीको अचार प्रतिबट्टा रु एक सय ५० मा बिक्री भइरहेको संयोजक श्रेष्ठको भनाइ छ । “भर्खरमात्र उत्पादन सुरु गरिएकाले राम्रो पनि भइरहेको छ, विद्यालयकै जग्गामा आँपका रुखसमेत प्रशास्त भएकाले अब यामअनुसार आँपलगायतको अचार उत्पादन गर्न थाल्ने विद्यालयको योजना छ”, उहाँले भन्नुभयो ।
उहाँले विद्यालयले थालनी गरेको कामले बालबालिकामा स्थानीयस्तरमा उत्पादित तर खेर गइरहेको कृषि उत्पादनबाट पनि राम्रो आयआर्जन गर्न सकिन्छ भन्ने सन्देश पुगेको बताउनुभयो । उत्पादित अचार सहजै बिक्री भइरहेको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । विद्यालयले तत्कालका लागि अचार बनाउन लाग्ने खर्च र सामानको मूल्याङ्कन गरेर अचारको मूल्य निर्धारण गरी बिक्री गर्न थालेको छ ।
“उत्पादन गर्न सके बिक्छ भन्ने पनि लागेको छ, एउटै व्यक्तिले १५ बट्टासम्म माग गर्दा एक बट्टा दिन पनि सकिएन”, उहाँले भन्नुभयो, “अहिले त विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकलाई पनि पुर्याउन गाह्रो छ ।” अचार उत्पादन गर्न ८ कक्षादेखि १२ कक्षासम्म विद्यार्थीलाई सिकाउन थालिएको उहाँले बताउनुभयो ।
“स्थानीयस्तर कतिपय उत्पादन खेर गइरहेका पनि छन् त्यसलाई सही सदुपयोग गरे राम्रो आयआर्जन गर्न पनि सकिनेरहेछ” उहाँले भन्नुभयो, “त्यसैका लागि हामीले यो कामको थालनी गरेका हौँ ।” उत्पादित अचारमा विद्यालयले आफ्नो विद्यालयको ‘स्टिकर’ टाँसेर बिक्री गरिरहेको उहाँले बताउनुभयो ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts