
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) द्वारा आयोजित एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२४ सम्पन्न भएको छ । भदौ १४ र १५ गते काठमाडौंमा आयोजित क्षमता विकास कार्यशालामा इन्टरनेट गभर्नेन्स, आइक्यान नीति तथा बहु-साझेदारी मोडलबारे स्नातक, स्नातकोत्तर विद्यार्थी तथा युवा उद्यमीलाई बृहत् जानकारी प्रदान गरिएको थियो । आइक्यान र कोरिया इन्टरनेट एण्ड सेक्युरिटी एजेन्सी (किसा) द्वारा सञ्चालित विश्वव्यापी एपिगा कार्यक्रमको स्थानीय संस्करणका रूपमा नेपालमा पहिलोपटक यस्तो कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा इन्टरनेट गभर्नेन्ससम्बन्धी सेमिनार, राउण्ड टेबल डिस्कसन, सिमुलेसन गेम, मक आइक्यान कन्फ्रेन्स जस्ता विभिन्न अन्तरक्रियात्मक सत्रहरू सञ्चालन भएका थिए ।
काठमाडौंमा आयोजित क्षमता विकास कार्यशालामा इन्टरनेट गभर्नेन्स, आइक्यान नीति तथा बहु-साझेदारी मोडलबारे स्नातक, स्नातकोत्तर विद्यार्थी तथा युवा उद्यमीलाई बृहत् जानकारी प्रदान गरिएको थियो ।
सो अवसरमा आयोजक क्यान महासंघका अध्यक्ष रणजितकुमार पोदारले क्यानले युवा सचेतनामा खेलेको भूमिकाबारे चर्चा गर्दै एपिगा जस्ता कार्यक्रमबाट भविष्यका डिजिटल नीतिका अभियन्तालाई महत्वपूर्ण प्रशिक्षण प्राप्त हुने बताउनुभयो । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले नीति निर्माण प्रक्रियामा युवा सहभागिता र सक्रियतामा जोड दिँदै आइजिएफ क्योटोमा आफू सहभागी हुँदा प्राप्त अनुभव र नेपालमा कार्यान्वयन गर्ने उपायबारे चर्चा गर्नुभएको थियो । किनोट स्पिकर इ-गभर्नेन्स कमिसनका सिइओ एवं सदस्य-सचिव ई. दीपेश विष्टले डिजिटलाइजेसन प्रक्रियामा सरकारसँग समन्वयको आवश्यकता औँल्याउँदै एकल डाटा आदान-प्रदान प्लेटफर्मको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको थियो । त्यसैगरी, अनलाइन माध्यमबाट सहभागी युनेस्कोका प्रोग्राम म्यानेजर भानु न्यौपानेले इन्टरनेट थप खुला र पहुँचयोग्य बनाउनुपर्ने बताउनुभएको थियो । पहिलो दिनको दोस्रो सत्रमा इन्टरनेट गभर्नेन्सबारे श्रीदीप रायमाझीले प्रस्तुति दिनुभएको थियो भने दीक्षा राउतले इन्टरनेट गभर्नेन्समा आफ्नो अनुभव सुनाउनुभएको थियो । सोही दिन इन्टरनेसनल कर्पोरेसन फर असाइन्ड नेम्ज एण्ड नम्बर्ज (आइक्यान) को परिचयबारे सेसन सञ्चालन गरिएको थियो, जसमा आइक्यानका प्रतिनिधि यश अग्रवालले आइक्यानको भूमिका, संगठनात्मक संरचना र नीति निर्माण प्रक्रियाबारे विस्तृत जानकारी दिनुभएको थियो । चौथो सत्रमा एसिया प्यासिफिक नेटवर्क इन्फर्मेसन सेन्टर (एपनिक) बारे दिव्या खतिवडा र एपनिक फेलोहरू करिश्मा पराजुली र इशारा ढकालले आफ्नो अनुभव सुनाएका थिए ।
एपिगा नेपालका टिम लिडर विवेक सिलवाल र कार्यक्रम संयोजक उदिप बरालले आइक्यानसँगको आफ्नो यात्राबारे जानकारी दिँदै युवाहरूले कसरी यसमा सहभागी हुन सक्छन् भन्ने विषयबारे प्रकाश पार्नुभएको थियो । पाँचौँ सत्रमा ‘नेपालको परिप्रेक्ष्यमा इन्टरनेट गभर्नेन्स’ विषयमा प्यानल डिस्कसन आयोजना गरिएको थियो, जसको मोडरेटरमा गभर्नेन्स, रिस्क र कम्प्लायन्स (जिआरसी) प्राक्टिस लिड विवेक एस राणा हुनुहुन्थ्यो भने प्यानलिस्ट जनरल टेक्नोलोजी प्रालिकी सिइओ सुनैना पाण्डे, क्यान महासंघको अनुसन्धान तथा विकास समिति अध्यक्ष हेमपाल श्रेष्ठ, सुबिसु केबल नेटका उपाध्यक्ष तथा म्यानरर्स पोलिसी एम्बेसडर एवं आइक्यान एसएस आर टु रिभिउ सदस्य रामकृष्ण परियार र सफ्टवेरिका कलेज अफ आइटीका क्याम्पस प्रमुख प्रमोद पौडेलले नेपालको सन्दर्भमा इन्टरनेट गभर्नेन्सको अभ्यास र अवस्थाबारे चर्चा गरेका थिए ।
कार्यक्रमको दोस्रो दिनको सुरुवातमा एपिगा नेपाल टिम लिडर सिलवालले संयुक्त राष्ट्रसंघको इन्टरनेट गभर्नेन्स फोरम (युएन-आइजिएफ) र ग्लोबल मल्टी-स्टेकहोल्डर तथा बहुपक्षीय प्रक्रियाबारेमा प्रस्तुति दिनुभएको थियो भने युवा सहभागिताबारेमा भएको प्यानल डिस्कसनमा युएन आइजिएफ सचिवालयकी अन्जा गेन्गो, आइक्यान एप्याकका सामिरन गुप्तालगायतको सहभागिता थियो । समापन समारोहमा युथ इनोभेसन ल्याबकी कार्यक्रम संयोजक अरुणा जोशी, क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीलगायतले पनि बोल्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच