काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माणसम्बन्धी एकदिने निःशुल्क प्राविधिक परामर्श सेवा दिने भएको छ । कम्पनीले भदौ २९ गते दिउँसो ११ बजे सिरेन बुटिक होटलमा प्राविधिक परामर्श सेवा प्रदान गर्ने भएको हो । घर निर्माणमात्र नभई समस्यारहित दिगो, सुरक्षित घर कसरी निर्माणबारेमा विशेष परामर्श सेवा दिइने कम्पनीले जनाएको छ । परामर्शका लागि स्किल सेवाको प्रमुख कार्यालयबाट संस्थापन समूह नै चितवनमा हुनेछन् ।
चितवनमा बनेका प्रायः नयाँ घरहरूमै सिपेज, लिकेज र क्र्याकजस्ता समस्या बढी देखिएकाले चितवनमा कार्यक्रम आयोजना गर्न लागिएकोे चितवन शाखा प्रबन्धक सौगात तिवारीले बताउनुभएको छ । जीवनभरको मेहनतको कमाइले घर निर्माण गरिने र घर निर्माण सम्पन्न भएको पाँच महिना नबित्दै घरमा सिपेज, भित्ता चर्कने, पेन्ट उप्कने आदि जस्ता विविध समस्या देखिने गरेकाले कम्पनीले परामर्श कार्यक्रम गर्न लागेको उहाँको भनाइ थियो ।
कम्पनीका अनुसार घर निर्माण गर्ने योजना भएका वा घर निर्माण गरिरहेको वर्गले परामर्श सेवाबाट फाइदा लिन सक्नेछन् । जग्गा छनोट, नक्सा पास, निर्माण कार्यको जिम्मा, निर्माण सामग्री छनोट, निर्माण सामग्री गुणस्तर जस्ता सामान्य तर संवेदनशील कुरामा ध्यान नदिँदा ठूलो दुर्घटना निम्तिन सक्ने कम्पनीले जनाएको छ । विगत सात वर्षदेखि घरका विभिन्न समस्या चेकजाँच र वारेन्टीसहित समाधान दिँदै आएको कम्पनीले समस्यारहित घर निमार्णका लागि यस्ता निःशुल्क परामर्श दिने गरेको छ । कम्पनीले ४० हजारभन्दा बढी घरको चेकजाँच गरिसकेको संस्थापक महेश तिमिल्सिना बताउनुहुन्छ ।






