काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएका असन्तुष्टि थामथुम पार्ने प्रयास थाल्नुभएको छ । माओवादी केन्द्र विभाजनतर्फ अघि बढेको टिप्पणीहरू सार्वजनिक रूपमै भइरहेका बेला उहाँले नेता-कार्यकर्तालाई थामथुम पार्ने प्रयास थाल्नुभएको हो । प्रदेशस्तरीय परामर्श बैठकका सन्दर्भमा काठमाडौंबाहिर रहनुभएका अध्यक्ष प्रचण्डले हरेक ठाउँमा पार्टी एकताबद्ध रहेको सन्देश दिने गर्नुभएको छ । पार्टी विभाजनको हल्ला र नेतृत्व परिवर्तनको बहसबारे पनि उहाँले ठाउँ ठाउँमा प्रष्टीकरण दिँदै पार्टीमा कुनै विवाद नरहेको प्रष्ट्याउँदै आउनुभएको हो ।
यसअघि साउन अन्तिममा बसेको स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले १४ पृष्ठ लामो प्रस्ताव पेस गर्दै अध्यक्ष प्रचण्डको कार्यशैलीसहित विभिन्न विषयमा गम्भीर सवाल उठाउनुभएको थियो । अध्यक्ष प्रचण्डले नै आफूले पार्टी फुटाउन लागेको हल्ला चलाएको भन्दै उहाँले पार्टी बैठकमै गम्भीर प्रश्न उठाएपछि माओवादी विभाजनको हल्ला चलेको थियो । उपमहासचिव शर्मासहित पार्टीका केही अन्य नेताले पनि अध्यक्ष प्रचण्डको कार्यशैलीमा प्रश्न उठाउँदै नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषय उठाएका थिए । स्थायी समितिपछि केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा भइरहेका प्रदेशस्तरीय परामर्श बैठकमा यिनै विषयमा बहस र छलफल भइरहेको छ । अनि प्रदेशैपिच्छेका बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एक ढिक्का रहेको र रहिरहने प्रष्टीकरण दिइरहनु भएको हो ।
अध्यक्ष प्रचण्डले मात्रै होइन माओवादी केन्द्रले नै आन्तरिक सर्कुलर जारी गर्दै पार्टी एकताबद्ध रहेको र रहिरहने स्पष्ट पारेको छ । हालै सम्पन्न स्थायी कमिटी बैठकमा उपमहासचिव शर्माले सबै कुरा स्पष्ट पारिसकेकाले पार्टीमा कुनै समस्या नरहेको माओवादीको दाबी छ । स्थायी कमिटी बैठकपछि मातहतका कमिटीलाई पठाएको सर्कुलरलाई फेरि अध्यावधिक गर्दै माओवादीले पार्टी विभाजन हुने हल्लामा सत्यता नरहेको स्पष्ट पारेको हो । ‘पछिल्लो समयमा कतिपय सन्दर्भमा हाम्रो पार्टी विभाजन हुँदै छ भनी चर्चा चलिरहेको र त्यसमा पनि उपमहासचिव क. जनार्दन शर्मा प्रभाकर’ले पार्टी फुटाउँदै छ भन्ने प्रचारमा कुनै सत्यता नरहेको विषय स्पष्ट पार्नुभयो,’ माओवादीले पठाएको अद्यावधिक सर्कुलरमा भनिएको छ । तर, सर्कुलरमा माओवादीले पार्टी निर्माणको लागि निजी स्वार्थ केन्द्रित गुट, उप-गुटजन्य प्रवृत्तिहरू भने रहेको स्वीकार गरेको छ । त्यसलाई निरुत्साहित गर्दै पार्टीलाई नयाँ उचाइमा एकताबद्ध गर्दै लैजानुपर्नेमा माओवादीको जोड छ ।
एक दशक ‘सशस्त्र विद्रोह’ गरेको माओवादी शान्तिपूर्ण राजनीतिमा आएको पनि डेढ दशक बढी भइसकेको छ । संविधान सभाका दुई र दुईटा संसदीय गरी चारवटा निर्वाचनको अनुभव लिइसकेको माओवादी क्रमशः कमजोर हुँदै गएको छ । पहिलो संविधान सभामा पहिलो बनेको माओवादी गत निर्वाचनसम्म आइपुग्दा दोस्रोसँग ठूलो अन्तरसहित तेस्रो दल बनेको थियो । प्रचण्डलाई जनयुद्धमा साथ दिएका धेरै नेता माओवादी छाडेर अलगअलग बाटोमा हिँडिरहेका छन् ।
‘जनताको जीवन बदल्न फेरि माओवादी नै चाहिन्छ’
अध्यक्ष ‘प्रचण्ड’ले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको दाबी गर्नुभयो । नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्स पूरा गरेर आएको हुनुपर्ने उल्लेख गर्दै आजका दिनमा माओवादी नै नयाँ शक्ति भएको दाबी गर्नुभयो । संविधान कार्यान्वयन गरेर आफूहरूले उठाएका राजनीतिक एजेण्डामार्फत जनताको जीवन बदल्न पनि फेरि माओवादी नै चाहिने उहाँको भनाइ थियो । ‘नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो, आजको कालखण्डमा जनताको पक्षमा केही गर्ने र गर्दै आएको शक्ति नै नयाँ शक्ति हो, त्यो एजेण्डा माओवादीसँग मात्रै छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामीले एजेण्डा उठाएनौँ मात्रै, त्यसलाई आन्दोलनबाट स्थापित गरेर संविधानमा लिपिबद्ध गरेका छौँ । संविधान कार्यान्वयन गरेर हामीले उठाएका राजनीतिक एजेण्डामार्फत जनताको जीवन बदल्न पनि फेरि माओवादी नै चाहिन्छ ।’ सबै क्षेत्रमा युवालाई साथमा लिएर नयाँ एजेण्डा पूरा गर्न सकिने उहाँले बताउनुभयो ।
म सधैँभरि नेतृत्वमा भइरहनुपर्छ भन्ने छैन : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज नभएको बताउनुभएको छ । प्रेस सेन्टर बाँकेले आइतबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीमा सिष्टम बनाएर उत्तराधिकारी नेता बनाउने तयारी भएको दाबी गर्नुभयो । आफू सधैँ नेतृत्वमा रहिरहनुपर्छ भन्ने नरहेको उहाँले बताउनुभयो । ‘म सधैँभरि नेतृत्वमा भइरहनुपर्छ भन्ने छैन, मेरा लागि अध्यक्ष पद नभई नहुने छैन’, अध्यक्ष प्रचण्डले भन्नुभयो ‘पार्टीको अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होइन, सिष्टम र विधि बनाएर उत्तराधिकारी तयार गर्दै छु । त्यत्तिकै कोही नेता बन्दैन, लामो कालखण्ड गुजारेर नेतृत्व स्थापित हुने हो, अब केही तयारी गरेर नेतृत्व हस्तान्तरण गर्ने हो ।’
आफूले छाड्दा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ भन्नेसमेत नलागेको उहाँले बताउनुभयो । अहिले नै नेतृत्वबाट यताउता गर्न पाउनुहुन्न भन्ने कायकर्ता पंक्तिको ठूलो प्रेसर रहेको प्रचण्डको भनाइ थियो । ‘अब मलाई पार्टीमा अध्यक्ष भइरहने रहर छैन । मेरो लागि अध्यक्षभन्दा प्रचण्ड भन्ने नै ठूलो छ’, उहाँले भन्नुभयो, ‘तर अहिले नै नेतृत्वबाट यताउता गर्न पाउनुहुन्न भन्ने कायकर्ता पंक्तिको ठूलो प्रेसर छ । हाम्रो पार्टी एकढिक्का छ, पार्टी फुट्छ भन्ने कुरा निराधार हो ।’ अध्यक्ष प्रचण्डले समाजवादी मोर्चालाई व्यवस्थित गर्दै विचार मिल्ने दलहरूबीच पार्टी एकता गर्दै जाने योजना रहेको सुनाउनुभयो । पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको र पार्टी झन् एकढिक्का भएको उहाँले बताउनुभयो । टुटफुट भएका माओवादी घटकहरूसँग एकता गर्ने क्रम पनि अघि बढ्ने अध्यक्ष प्रचण्डले बताउनुभयो ।
नेसपाका दुई पक्षबीच वक्तव्यबाजी, भ्रम नफैलाउन एक-अर्कालाई आग्रह
नेपाल समाजवादी पार्टी (नेसपा) का दुई पक्षले अनावश्यक भ्रम नफैलाउन एक-अर्कालाई आग्रह गरेका छन् । माओवादीसँग एकता गर्ने र नगर्ने पक्षमा रहेका दुई पक्षले अनावश्यक भ्रमण नफैलाउन एक-अर्कालाई आग्रह गरेका हुन् । पार्टीको महिन्द्रराय यादव-गंगानारायण श्रेष्ठ पक्षले आफ्नो पार्टीका अध्यक्ष र सहअध्यक्षमाथि अराजनीतिक गालीगलौज बन्द गर्न आग्रह गरेको छ । नेपाल समाजवादी पार्टी यादव-श्रेष्ठ पक्षले शनिबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै अर्को पक्षले शुक्रबार जारी गरेको वक्तव्यको खण्डन गरेको हो । पार्टीका अध्यक्ष महिन्द्र राय यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठमाथि तल्लो स्तरको आरोप लगाइएको भन्दै उक्त आरोप खारेज गरिएको विज्ञप्तिमा उल्लेख छ ।
महासचिव रमेशप्रसाद यादवको हस्ताक्षरमा निकालिएको विज्ञप्तिमा आफ्ना अध्यक्ष र सहअध्यक्षमाथिको अराजनीतिक गालीगलौज बन्द गर्न अनुरोध गरिएको छ । ‘प्रवक्ता कृष्ण शर्माको नामबाट मिति २०८१ भाद्र १४ गते प्रकाशित वक्तव्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । वक्तव्यमा पार्टीका अध्यक्ष र सहअध्यक्षमाथि तल्लो स्तरको आरोप लगाएको छ, त्यसको हाम्रो पार्टी खारेज गर्दछ । साथै अराजनीतिक गालीगलौज बन्द गर्न अनुरोध पनि गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने कि नगर्ने भन्ने विवाद हुँदा नेपाल समाजवादी पार्टी दुई खेमामा बाँडिएको छ । नेसपामा डा. बाबुराम भट्टराई पक्षधर माओवादी केन्द्रसँग एकता नगर्ने पक्षमा छ भने अर्का अध्यक्ष महिन्द्र राय यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठ पक्षधर भने माओवादी केन्द्रसँग एकता गर्ने तयारीमा रहेको छ । दुवै पक्षले छुट्टाछुट्टै पार्टीका गतिविधिहरू सञ्चालन गर्ने गरेका छन् ।
शुक्रबार डा. भट्टराई पक्षले प्रेस विज्ञप्ति जारी गर्दै यादव र श्रेष्ठलाई अनुशासनहीन व्यक्तिको संज्ञा दिँदै दूषित मनसायका साथ पार्टीको नाम, झण्डा र एजेण्डाहरूको दुरुपयोग गरी जनतालाई भ्रमित गरिरहेको आरोप लगाएको थियो । बाबुराम पक्षले पार्टीका नेता महिन्द्रराय यादव पक्षले फैलाएको भ्रममा नपर्न आग्रह गरेको थियो । ‘पार्टीको उच्च-विचार, कार्यदिशा र वैकल्पिक राजनीतिको नयाँ बाटोमा यात्रा गर्न नसकेका महिन्द्रराय यादव, गंगानारायण श्रेष्ठ लगायतका केही अनुशासनहीन व्यक्तिहरूले अझै पनि आफ्नो निहित स्वार्थ पूरा गर्ने दूषित मनसायले पार्टीको नाम, झण्डा र एजेण्डाहरूलाई दुरुपयोग गरी जनतालाई भ्रमित गरिरहेको समाचारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ बाबुराम पक्षले जारी गरेको विज्ञप्तिमा भनिएको थियो ।






